बुटवलको ४ अर्ब बजेट: स्वास्थ्य, सरसफाइ र नागरिक जीवनस्तर सुधारमा जोड

स्वास्थ्यसमाचार/ रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि ३ अर्ब ८५ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्दै स्वास्थ्य, सरसफाइ तथा नागरिक जीवनस्तर सुधारलाई प्रमुख प्राथमिकतामा राखेको छ।

उपप्रमुख सावित्रादेवी अर्यालले नगरसभाको १९औँ अधिवेशनको तेस्रो बैठकमा बजेट प्रस्तुत गरेकी हुन्।  बजेटमा प्रत्यक्ष स्वास्थ्य पूर्वाधार र सरसफाइ सुधारसँग सम्बन्धित कार्यक्रमहरूलाई विशेष महत्व दिइएको छ। नगरका प्रमुख चोक, सार्वजनिक स्थल तथा भीडभाड हुने क्षेत्रमा शुद्ध खानेपानी उपलब्ध गराउन फिल्टरसहितका खानेपानी प्रणाली जडान तथा सार्वजनिक शौचालय निर्माण र सञ्चालनका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ। यसले शहरका सार्वजनिक स्वास्थ्य र सरसफाइ व्यवस्थापनमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

सरसफाइ व्यवस्थापनलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यसहित फोहोरमैला संकलन तथा व्यवस्थापन प्रणाली सुधारका लागि ३ करोड रुपैयाँ छुट्याइएको छ। यसले संक्रमणजन्य रोग नियन्त्रण र स्वच्छ शहर निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ।

स्वास्थ्यसँग प्रत्यक्ष नभए पनि पोषण र ग्रामीण स्वास्थ्यलाई सहयोग पुर्‍याउने उद्देश्यले दुग्ध उत्पादन वृद्धि कार्यक्रम पनि समावेश गरिएको छ। किसानलाई प्रतिलिटर ३ रुपैयाँका दरले दूधमा अनुदान दिने योजना अन्तर्गत ५० लाख रुपैयाँ विनियोजन गरिएको छ, जसले पोषणयुक्त दूध उत्पादन र उपभोगमा वृद्धि गर्ने लक्ष्य राखिएको छ।

यससँगै महिला, किशोरी, एकल महिला तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समूहलाई लक्षित गर्दै कृत्रिम बौद्धिकता (एआई) तथा डिजिटल सीप विकास कार्यक्रम सञ्चालन गर्न ५० लाख रुपैयाँ छुट्याइएको छ। यो कार्यक्रमले स्वास्थ्य चेतना, डिजिटल पहुँच तथा आत्मनिर्भरता बढाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

समग्रमा, बुटवल उपमहानगरले स्वास्थ्य सेवाभन्दा पनि बढी सरसफाइ, पोषण र जीवनशैली सुधारसँग जोडिएका कार्यक्रममार्फत शहरी स्वास्थ्य प्रणाली सुदृढ गर्ने रणनीति अपनाएको देखिन्छ।

सम्बन्धित शिर्षक :