स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाले ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था जाँच गरी कुपोषणको समयमै पहिचान तथा उपचार गर्ने उद्देश्यले ‘पोषण लेखाजोखा अभियान’ सञ्चालन गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अभियानअन्तर्गत नगरपालिकाले वैशाख १२ गतेदेखि १८ गतेसम्म अभियान सञ्चालन गर्न लागेको हो।
अभियानअन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकैका स्वास्थ्य संस्थामार्फत बालबालिकाको पाखुराको मध्य भागको घेरा (MUAC) नापेर पोषण अवस्था परीक्षण गरिनेछ। कुपोषण देखिएका बालबालिकालाई बहिरङ्ग उपचार केन्द्र (OTC) मार्फत ‘तयारी उपचारात्मक खाना’ (RUTF) निःशुल्क उपलब्ध गराइने व्यवस्था गरिएको तिलोत्तमा नगरपालिका अन्तर्गत रहेको सेमराबजार हेल्थ पोस्टका जनस्वास्थ्य अधिकृत कमल पाण्डेले बताउनुभयो।
तिलोत्तमा नगरपालिकाले सबै अभिभावकलाई आफ्ना बालबालिकाको नियमित पोषण जाँच गराई कुपोषणबाट जोगाउन अभियानमा सक्रिय सहभागिता जनाउन अनुरोध गरेको छ।
स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत राम प्रसाद ढकालका अनुसार अभियान सम्बन्धित स्वास्थ्य केन्द्रअन्तर्गतका वडा केन्द्रहरूमा सञ्चालन हुनेछ। समुदायस्तरमा स्वास्थ्यकर्मीमार्फत सचेतना फैलाउँदै पोषणको लेखोजोखा गरिने र त्यसपछि बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउनका लागि कुपोषणको अवस्था अनुसार व्यवस्थापन गरिने ढकालले बताउनु भयो ।

प्रतिकया दिनुहोस्