स्वास्थ्यसमाचार रुपन्देहीमा लागुऔषध दुरुपयोग नियन्त्रण गर्ने उद्देश्यले सरोकारवालाहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। जिल्ला प्रशासन कार्यालय, रुपन्देहीको आयोजना तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाको समन्वय र व्यवस्थापनमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यबाहक नगर प्रमुख कल्पना हरिजन प्रमुख अतिथि रहनुभएको थियो। त्यसैगरी जिल्ला न्यायाधिवक्ता प्रकाश मरासिनी विशेष अतिथि तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
अन्तरक्रिया कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरू, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साथै विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, जिल्ला प्रहरी कार्यालय रुपन्देही, सशस्त्र प्रहरी बल पडरिया, इलाका प्रहरी कार्यालय लुम्बिनी र सूर्यपुरा लगायत सुरक्षा निकायका अधिकारीहरूको समेत सक्रिय उपस्थिति देखिएको थियो।
कार्यक्रममा लागुऔषध दुरुपयोगका कारण समाजमा देखिएका चुनौतीहरू, युवापुस्तामा बढ्दो जोखिम, तथा नियन्त्रणका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन, विद्यालयस्तरमै सचेतना अभिवृद्धि, तथा अभिभावकको भूमिकालाई सुदृढ बनाउने विषयमा जोड दिएका थिए।
कार्यक्रमको सहजिकरण जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विष्णु प्रसाद ज्ञवालीले गर्नुभएको थियो। उहाँले कार्यक्रममा उठेका सुझाव तथा निष्कर्षहरूलाई कार्यान्वयनमा लैजान सम्बन्धित निकायहरूबीच समन्वय आवश्यक रहेको धारणा राख्नुभयो।
लुम्बिनी सांस्कृतिक नगरपालिकाको कार्यालयमा सम्पन्न उक्त कार्यक्रमले लागुऔषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ।

प्रतिकया दिनुहोस्