स्वास्थ्यसमाचार/ लोक सेवा आयोगका ‘सम्मानीय ज्यू’हरुले समयमै प्रक्रिया अगाडि बढाए अबको केही दिनभित्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ अतिरिक्त स्वास्थ्य सचिव पाउने भएको छ।
अतिरिक्त स्वास्थ्य सचिव (१२औँ तह) का डा. टंकप्रसाद बाराकोटीले गत १९ कात्तिकमा राजीनामा दिएपछि सो पद रिक्त रहँदै आएको छ। उक्त पदपूर्तिका लागि मन्त्रालयको बढुवा समितिले गत २८ मंसिरमा १५ दिनको म्यादसहित आवेदन आह्वान गरेको थियो, जसमा १४ जनाले आवेदन दिएका थिए।
तर, त्यसपछि प्रक्रिया केही समय सुस्ताएको थियो। आवेदकहरूको कार्यसम्पादन मूल्यांकन समयमै उपलब्ध नहुनु, बढुवा समितिका पदाधिकारीहरूको व्यस्तता तथा देशमा निर्वाचन र आचारसंहिताको प्रभावका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन।
हाल भने प्रक्रिया पुनः गति लिएको छ। बढुवा समितिले सबै आवेदकहरूको कासमु रुजु गरी आवश्यक मूल्यांकन पूरा गरिसकेको छ।
स्रोतका अनुसार प्रारम्भिक मूल्यांकनमा डडेल्धुरा अस्पतालकी मेडिकल सुपरीटेण्डेन्ट डा. सुधा देवकोटा र लुम्बिनी प्रदेशकी स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ अगाडि देखिएका छन्।
एक पदका लागि दुई जनाको नाम सिफारिस हुने प्रावधानअनुसार यी दुई नाम अन्तिम सिफारिसमा पर्ने सम्भावना रहेको मन्त्रालय स्रोतले जनाएको छ। बढुवा समितिले बरिष्ठता, कार्यकुशलता तथा दुर्गम सेवाको अनुभवका आधारमा शीर्ष दुई जनाको नाम सिफारिस गर्नेछ।
त्यसपछि समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले अतिरिक्त स्वास्थ्य सचिव पदमा बढुवाको अन्तिम निर्णय गर्नेछ। हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दुई सचिव (प्राविधिक र प्रशासन) बाहेक स्वास्थ्य समूहका चार अतिरिक्त सचिव पदमध्ये दुई पद मात्र क्रियाशील छन्।
डा. श्रीकृष्ण श्रेष्ठ र डा. केशरबहादुर ढकाल हाल कार्यरत छन् भने बाँकी पद रिक्त छन्।

प्रतिकया दिनुहोस्