विश्व नारी दिवस : “Give to Gain” र लुम्बिनीको मातृ स्वास्थ्य अवस्था

प्रत्येक वर्ष मार्च ८ मा विश्व नारी दिवस मनाइन्छ।२०औँ शताब्दीको प्रारम्भमा महिला श्रमिकहरूको अधिकार आन्दोलनबाट सुरु भएको यो दिवसलाई सन् १९७५ मा United Nations ले औपचारिक मान्यता दिएपछि विश्वव्यापी रूपमा संस्थागत रूप प्राप्त भयो। सन् १९७५ देखि २०२६ सम्म आइपुग्दा यो दिवसले ५१ वर्षको औपचारिक यात्रा पूरा गरिसकेको छ।

आज नारी केवल शुभकामना साटासाट गर्ने अवसर मात्र नभएर समाजमा रहेका लैङ्गिक असमानता, संरचनागत विभेद, र नीतिगत कमजोरीहरूलाई प्रश्न गर्ने अवसर बनेको छ।

यस बर्ष (सन् २०२६ को) विश्व नारी दिवसको नारा “Give to Gain” तय गरिएको छ। यसको सन्देश स्पष्ट छ कि महिलाको शिक्षा, स्वास्थ्य र अधिकारमा गरिने लगानी अन्ततः समाजकै हितमा फर्किन्छ।लगानी गरेमा झन झन उपलब्धिमा बृद्दि हुने हुन्छ।यहाँ दिनु कम गर्नु होइन, बरु बढाउनु हो जब महिलाहरू अगाडि बढ्छन्, समाजका सबैले लाभ पाउँछन्।तर प्रश्न उठ्छ यो सन्देश लुम्बिनी प्रदेशको मातृ स्वास्थ्य संकट समाधानमा व्यवहारिक रूपमा रूपान्तरण हुन सक्ला कि नाई?

राष्ट्रिय अवस्था र प्रदेशगत असमानता

नेपालले पछिल्ला तीन दशकमा मातृ मृत्यु दर घटाउने दिशामा उल्लेखनीय प्रगति गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनका अनुसार हाल नेपालमा मातृ मृत्यु दर करिब १५१ प्रति एक लाख जीवित जन्म छ सन् १९९६ मा यो दर ५३९ थियो र त्यसको तुलनामा अहिलेको अवस्था सुधारिएको मान्न सकिन्छ।

तर प्रदेशगत तथ्यांकले फरक चित्र देखाउँछ। राष्ट्रिय जनगणना २०७८ अनुसार लुम्बिनी प्रदेशमा मातृ मृत्यु दर करिब २०७ प्रति एक लाख जीवित जन्म छ, जुन देशभरिमै सबैभन्दा उच्च हो।

लुम्बिनीमा उच्च मातृ मृत्यु दरका कारण

लुम्बिनी प्रदेशको अवस्था केवल स्वास्थ्य संस्थाको कमजोरी मात्र होइन; यो सामाजिक संरचना, आर्थिक अवस्था र संस्थागत व्यवस्थासँग गहिरो रूपमा जोडिएको विषय हो।स्वास्थ्य सेवामा पहुँचको अभाव, दक्ष जनशक्ति र उपकरणको कमी, बालविवाह र किशोरी गर्भधारण, पितृसत्तात्मक सामाजिक संरचना, पोषण र श्रमको बोझसग गहिरो रूपमा जोडिएको विषय हो।

  • स्वास्थ्य सेवामा पहुँचको अभाव

ग्रामीण क्षेत्रमा स्वास्थ्य संस्था टाढा छन्। आपतकालीन प्रसूति सेवा सबै स्थानमा उपलब्ध छैन।स्वास्थ्य चौकीबाट जिल्ला अस्पताल र त्यहाँबाट प्रादेशिक अस्पतालसम्म पठाइने क्रममा हुने ढिलाइले जोखिम बढाउँछ।यातायातको अभाव, सडकको कमजोर अवस्था र रातिको समयमा सेवा उपलब्ध नहुनुले समस्या झन् गम्भीर बनाउँछ। यस्तो ढिलाइले सामान्य जटिलतालाई समेत ज्यानलिने अवस्थामा रूपान्तरण गर्न सक्छ।

  • दक्ष जनशक्ति र उपकरणको कमी

सबै संस्थामा प्रसिक्षित स्त्रीरोग विशेषज्ञ वा दक्ष  प्रसुतिकर्मी नर्स उपलब्ध छैनन्। रक्तसञ्चार सेवा र आवश्यक उपकरणको अभावले जटिल अवस्थामा समस्या झन् गम्भीर बनाउँछ।कतिपय स्वास्थ्य संस्थामा सर्जिकल सुविधा वा आकस्मिक शल्यक्रिया गर्ने क्षमता नहुँदा गर्भवतिलाई अर्को केन्द्रमा सार्नुपर्ने अवस्था आउँछ, जसले समय र जोखिम दुवै बढाउँछ। जनशक्ति वितरण असन्तुलित हुँदा ग्रामीण क्षेत्र सबैभन्दा बढी प्रभावित हुन्छ।

३. बालविवाह र किशोरी गर्भधारण

UN Women का अनुसार नेपालमा २०–२४ वर्ष उमेर समूहका करिब ३५ प्रतिशत महिलाको विवाह १८ वर्षअघि भएको छ। कम उमेरमा गर्भधारण गर्दा स्वास्थ्य जोखिम उच्च हुन्छ।किशोरी अवस्थामा शारीरिक रूपमा पूर्ण विकसित नभइसकेको शरीरमा गर्भधारण हुँदा रक्तअल्पता, उच्च रक्तचाप र प्रसूति जटिलताको सम्भावना बढ्छ। साथै, शिक्षा बीचमै छोड्नुपर्ने अवस्थाले उनीहरूको आर्थिक र सामाजिक अवसर पनि सीमित बनाउँछ, जसले दीर्घकालीन असमानता थप बलियो बनाउँछ।

४. पितृसत्तात्मक सामाजिक संरचना

अझै पनि धेरै घरपरिवारमा महिलाले आफ्नै स्वास्थ्यसम्बन्धी निर्णय स्वतन्त्र रूपमा लिन सक्दैनन्। अस्पताल जान परिवारको अनुमति कुर्नुपर्ने अवस्था उपचार ढिलाइको कारण बन्छ।यसले विशेषगरी ग्रामीण क्षेत्रमा महिलालाई स्वास्थ्य सेवा लिन डर र संकोच उत्पन्न गराउँछ। पितृसत्तात्मक सोचले महिलाको स्वास्थ्य प्राथमिकतालाई परिवार र समाजको निर्णयमा निर्भर बनाउँछ, जसले जटिलता र जोखिमलाई अझ बढाउँछ।

५. पोषण र श्रमको बोझ

लुम्बिनी प्रदेशमा कुपोषणको दर अत्यन्तै अच्च रहेको छ।गर्भावस्थामा पर्याप्त पोषण नपाउनु र घरेलु श्रमको दोहोरो जिम्मेवारीले पनि मातृ स्वास्थ्यलाई असर गर्छ।धेरै महिलाले घरको काम, बालबालिका हेरचाह र कृषि/आर्थिक काम सँगै गर्दा शरीरमा थकान बढ्छ र रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ।पर्याप्त आराम र पौष्टिक आहारको अभावले गर्भधारण र प्रसूति प्रक्रियामा जटिलता बढाउँछ।

६. धार्मिक र जातीय परम्परागत प्रसूति अभ्यास र निषेधहरू

गर्भवती महिलालाई नदी तर्न नदिने, घरबाट बाहिर नजान दिने वा प्रसूति दुखाइ सुरु भएपछि घर छोड्न नदिने जस्ता धार्मिक/सांस्कृतिक नियमहरू छन्।प्रसूति पछि ११ दिनसम्म घर छोड्न नदिने वा विशेष नियमहरू पालना गर्नुपर्ने विश्वासले स्वास्थ्य जाँच (postnatal care) मा ढिलाइ गराउँछ।

कतिपय समुदायमा बच्चा जन्माउने क्रममा जुठो वा अशुद्ध मानिने विश्वासले स्वास्थ्यकर्मीलाई छुन नदिने वा अस्पताल जान हिचकिचाउने हुन्छ।

मधेसी/तराई समुदाय (मुस्लिम, थारु आदि): बालविवाह र किशोरी गर्भधारण उच्च छ, जसलाई धार्मिक/सांस्कृतिक रूपमा “परिवारको इज्जत” वा परम्परासँग जोडिन्छ। यसले रक्तअल्पता, उच्च रक्तचाप जस्ता शारीरिक जोखिम बढाउँछ।

हिन्दु र बौद्ध प्रभाव: देवता/देवीको पूजा वा विशेष अनुष्ठान (जस्तै गर्भावस्थामा विशेष नियम) ले आधुनिक स्वास्थ्य सेवालाई दोस्रो प्राथमिकता बनाउँछ।

मुस्लिम समुदाय: केही परम्परागत विश्वासले महिलाको स्वास्थ्य निर्णय परिवार (पुरुष) मा निर्भर बनाउँछ, जसले उपचारमा ढिलाइ गराउँछ।

अन्तर्राष्ट्रिय प्रमाण र सफल अभ्यासहरू

विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार सन् २००० देखि २०२३ सम्म विश्वव्यापी मातृ मृत्यु दर करिब ४०% ले घटेको छ (३२८ बाट १९७ प्रति एक लाख जीवित जन्ममा)। यो प्रगति मुख्य रूपमा Ending Preventable Maternal Mortality (EPMM) रणनीतिहरूबाट आएको हो, जसमा मानव अधिकारमा आधारित दृष्टिकोण, असमानता हटाउने, दक्ष स्वास्थ्यकर्मीको विस्तार, आपतकालीन प्रसूति सेवा  र सामुदायिक स्तरका कृयापलापहरू समावेश छन्।

केही सफल देशहरूका उदाहरणहरूले देखाउँछन् कि स्रोत सीमित भए पनि एकीकृत प्रयासबाट ठूलो परिवर्तन सम्भव छ।

श्रीलंका: कम आय भएका देशहरूमा सबैभन्दा कम मातृ मृत्यु दरमध्ये एक। यो सफलताको मुख्य कारण सरकारी प्रतिबद्धता, निःशुल्क स्वास्थ्य सेवा, दक्ष मिडवाइफ प्रशिक्षण, र ग्रामीण क्षेत्रमा सुधारिएको पूर्वाधार हो। मातृ मृत्यु दर घटाउन मातृत्व हेरचाह सुधारले ७९% योगदान दिएको छ।

रवान्डा: सन् २००० को सुरुमा १,००० भन्दा बढीबाट २०२० सम्म करिब २०३–२५९ मा झरेको छ (७०–७५% कमी)। सफलताका कारकहरू: ४५,००० भन्दा बढी सामुदायिक स्वास्थ्यकर्मीहरूको प्रशिक्षण, सामुदायिक स्वास्थ्य बीमा, संस्थागत प्रसूति बढाउने, र ग्रामीण पहुँच सुधार।

बंगलादेश: दक्ष स्वास्थ्यकर्मी विस्तार, सामुदायिक जागरण, निःशुल्क/कम लागत सेवा, र NGO साझेदारीबाट तीव्र कमी आएको छ। ग्रामीण र गरिबीका चुनौतीहरू भए पनि असमानता घटाउनेमा सफल।

इथियोपिया: सामुदायिक सक्रियता र EmOC विस्तारबाट केही क्षेत्रमा तीव्र कमी।

यी उदाहरणहरूले देखाउँछन् कि “Give to Gain” वास्तविक रूपमा लागू हुँदा परिणाम आउँछ: २४ घण्टा सुरक्षित प्रसूति सेवा, दक्ष मिडवाइफ/नर्सहरूको ग्रामीण वितरण, एम्बुलेन्स र रेफरल प्रणाली सुधार, किशोरी शिक्षा, पोषण कार्यक्रम, र सामाजिक मान्यता परिवर्तन।

यी देशहरूमा स्वास्थ्यकर्मी प्रशिक्षण, सामुदायिक सहभागिता, र बहुपक्षीय लगानीले मातृ मृत्यु दर घटाउनुका साथै नवजात शिशु मृत्यु पनि घटाएको छ, जसले दीर्घकालीन आर्थिक लाभ दिएको छ। नेपालमा पनि लुम्बिनी जस्ता उच्च जोखिम प्रदेशमा रवान्डाको सामुदायिक स्वास्थ्यकर्मी मोडेल वा बंगलादेशको समान पहुँच मोडेल अपनाउन सकिन्छ।

“Give to Gain” नारा कि नीतिगत प्रतिबद्धता ?

यदि “Give” को अर्थ वास्तविक बजेट, संरचना र सेवा विस्तार हो भने परिवर्तन सम्भव छ।

राज्यले के दिनुपर्छ? २४ घण्टा सुरक्षित प्रसूति सेवा, दक्ष स्वास्थ्यकर्मी, प्रभावकारी एम्बुलेन्स र प्रेषण प्रणाली, निःशुल्क तथा गुणस्तरीय सेवा, किशोरी शिक्षा र पोषण कार्यक्रम।

यसको प्रतिफल के हुन्छ? मातृ मृत्यु दर घट्छ, नवजात शिशु मृत्यु दर घट्छ, स्वस्थ र उत्पादक जनशक्ति बढ्छ, दीर्घकालीन आर्थिक लाभ प्राप्त हुन्छ।

यस अर्थमा “Give to Gain” घटाउने मात्र होइन, समाजमा गुणात्मक वृद्धि (multiplication effect) ल्याउने अवधारणा हो।

मातृ स्वास्थ्य र असमानतासँग सम्बन्धित केहि प्रमुख दार्शनिक/प्रेरणादायी भनाइहरू

Mahmoud Fathalla (मिस्रका प्रसिद्ध स्त्रीरोग विशेषज्ञ र महिला स्वास्थ्य कार्यकर्ता): “महिलाहरू प्राय रोगका कारण मर्दैनन्। उनीहरू समाजले उनिहरुको जिवन बचाउनका लागि मह्त्व दिन ढिला गरेकै कारण उनिहरुको मृत्यु हुन्छ।” (Women are not dying because of untreatable diseases. They are dying because societies have yet to make the decision that their lives are worth saving.) यो भनाइले दस्तावेजको मुख्य विचारलाई प्रतिबिम्बित गर्छ कि मातृ मृत्यु दर चिकित्सकीयभन्दा बढी सामाजिक र संरचनागत असमानताको परिणाम हो।

Jessica Capshaw (अभिनेत्री र महिला स्वास्थ्य समर्थक): “विश्वव्यापी रूपमा, हरेक मिनेटमा एकजना महिला प्रसव जटिलताबाट मर्छिन्।” (Globally, a woman dies from complications in childbirth every minute.) यो तथ्यले लुम्बिनी प्रदेश जस्ता क्षेत्रमा उच्च मृत्यु दरको गम्भीरतालाई जोड दिन्छ।

Leana S. Wen (स्वास्थ्य विशेषज्ञ): “मातृ स्वास्थ्य सुधार्नका लागि प्रसवको समय मात्र नभई हामीले गर्भावस्था अघि-पछि र जीवनभरि सबै महिलाको स्वास्थ्य र सेवामा पहुँचमा ध्यान दिनुपर्छ ।” (In order to improve maternal health, we have to focus on improving all women’s health and access to care—not just during labor and delivery, but before and after pregnancy, and throughout our lives.) यो भनाईले हाम्रो यथार्थ स्वास्थ्य सेवा जुन महिलाको गर्भवतीको अवस्थालाई बिशेष ध्यान दिएको छ। यसका प्रत्यक्ष अप्रतक्ष रुपमा जोडिएका पक्षह ओझेलमा परेका छन।

Malala Yousafzai (नोबेल पुरस्कार विजेता, शिक्षा कार्यकर्ता): “एउटा राज्यले महिलालाई शिक्षा र तालिम नदिए भने त्यो पुरुषले आफ्नो दाहिने हातलाई मात्र सकृय बनाउनु जस्तै हो।” (A state that does not educate and train women is like a man who only trains his right arm.) यो भनाइले शिक्षा र स्वास्थ्य जागरूकताको कमीले मातृ स्वास्थ्यलाई कसरी प्रभावित गर्छ भन्ने कुरालाई स्पष्ट पार्छ।

Simone de Beauvoir (अस्तित्ववादी दार्शनिक): “महिला जन्मिँदैनिन्, बन्छिन्।” (One is not born a woman, one becomes one.) यो दार्शनिक भनाइले पितृसत्तात्मक संरचना र सामाजिक भूमिकाले महिलाको स्वास्थ्य निर्णयलाई कसरी सीमित गर्छ भन्ने कुरालाई गहिराइ दिन्छ।

Michelle Obama (पूर्व अमेरिकी प्रथम महिला): “समुदाय, देश र अन्ततः विश्व महिलाको स्वास्थ्य जत्तिकै बलियो हुन्छ।” (Communities and countries and ultimately the world are only as strong as the health of their women.) यो “Give to Gain” नारासँग पूर्ण रूपमा मेल खान्छ।महिलाको स्वास्थ्यमा लगानीले समाजलाई समग्रमा बलियो बनाउँछ।

Eleanor Roosevelt (मानव अधिकार कार्यकर्ता): “महिलाहरूले आफ्नो आवाज उठाउनुपर्छ।चर्को होस् वा शान्त, तर आवाजविहीनहरूलाई सुनाउन। हामी सबै सफल हुन सक्दैनौं जब आधा जनसंख्या पछाडि पारिएको छ।” (I raise up my voice – not so that I can shout, but so that those without a voice can be heard. … We cannot all succeed when half of us are held back.)

Swami Vivekananda (भारतीय दार्शनिक): “पुरुषलाई शिक्षा दिनाले केबल पुरुष शिक्षित हुन्छन तर  महिलालाई शिक्षित गरेपछि पुरै पिडी,भावी सन्तती शिक्षित हुन्छ।” (You educate a man; you educate a man. You educate a woman; you educate a generation.) (यो भनाइ नेपाली सन्दर्भमा पनि प्रासंगिक छ, किनकि शिक्षा र स्वास्थ्य जागरूकताले मातृ मृत्यु घटाउँछ।)

Ruth Bader Ginsburg (अमेरिकी न्यायाधीश): “महिलाहरूले साँचो समानता पाउनका लागि पुरुषहरूले पनि अर्को पुस्ता हुर्काउने जिम्मेवारी साझा गर्नुपर्छ।” (Women will only have true equality when men share with them the responsibility of bringing up the next generation.)

यी भनाइहरूले देखाउँछन् कि मातृ स्वास्थ्य केवल चिकित्सा समस्या होइन, यो लैङ्गिक समानता, सामाजिक न्याय र मानव अधिकारको मुद्दा हो। अन्तर्राष्ट्रिय महिला दिवस २०२६ मा “Give to Gain” लाई यी विचारहरूसँग जोडेर हेर्दा, लुम्बिनी प्रदेश जस्ता क्षेत्रमा नीतिगत परिवर्तन र लगानीको आवश्यकता अझ स्पष्ट हुन्छ। यी भनाइहरूले प्रेरणा दिन्छन् कि महिलाको जीवन बचाउनु समाजको सामूहिक दायित्व हो।

समाजशास्त्रीय दृष्टिकोण: स्वास्थ्य भन्दा गहिरो प्रश्न

मातृ मृत्यु दर केवल चिकित्सकीय समस्या मात्र होइन; यो समाजमा विद्यमान असमानताको सुचक हो। जहाँ शिक्षा कम छ, त्यहाँ स्वास्थ्य सम्बन्धी जागरूकता न्यून हुन्छ। जहाँ गरिबी उच्च छ, त्यहाँ सेवामा पहुँच कठिन हुन्छ। महिलाले आफ्नै स्वास्थ्यसम्बन्धी निर्णय गर्न नसक्ने अवस्था हुँदा उपचारमा ढिलाइ हुने सम्भावना बढ्छ।

समाजशास्त्रीय दृष्टिकोणले देखाउँछ कि व्यक्तिगत जस्तो देखिने समस्याको जरा प्रायः संरचनागत हुन्छ। लुम्बिनीकी एक महिलाको मृत्यु केवल व्यक्तिगत कमजोरीको परिणाम होइन; यो स्वास्थ्य प्रणालीको कमजोरी, सामाजिक मान्यता र आर्थिक संरचनाको संयुक्त असर हो।यसले संकेत गर्छ कि मात्र स्वास्थ्य सेवा सुधार्नु पर्याप्त छैन।शिक्षा, सामाजिक भूमिका, आर्थिक अवसर र निर्णय अधिकारलाई समानान्तर रूपमा बलियो बनाउनु आवश्यक छ। महिला अधिकार र परिवार तथा समुदायको समर्थन प्रणाली सुधार्नुपर्ने आवश्यकता स्पष्ट हुन्छ।

त्यसैले महिला दिवसको वास्तविक अर्थ तब मात्र आउँछ जब मातृ स्वास्थ्यलाई सामाजिक न्यायको प्रमुख मुद्दाको रूपमा प्राथमिकता दिइन्छ।

निष्कर्ष: उत्सवभन्दा बढी उत्तरदायित्व

विश्व नारी दिवस २०२६ लुम्बिनी प्रदेशका लागि आत्ममूल्यांकनको अवसर हो। उच्च मातृ मृत्यु दर केवल स्वास्थ्य क्षेत्रको समस्या होइन; यो सामाजिक न्यायको प्रश्न हो।

मातृ मृत्यु दर उल्लेखनिय रुपमा कमि ल्याउन तिन ढिलाई (Three Delays) को ब्यबस्थापन गर्न अत्यन्तै जरुरी रहेको हुन्छ।१. निर्णय लिन ढिलाइ २. स्वास्थ्य संस्था पुग्न ढिलाइ। ३. उपचारमा ढिलाइ ।जुन ढिलाईहरुको परिणाम स्वरुप रक्तस्राव, उच्च रक्तचाप, संक्रमण जस्ता रोकथामयोग्य कारणहरूबाट मृत्यु बढ्दछ, जसलाई कमि गर्नु जरुरी छ।

यदि “Give to Gain” भाषणमा मात्र सीमित रह्यो भने परिवर्तन आउँदैन। तर यदि यसलाई नीतिगत प्राथमिकता, बजेट विस्तार र प्रभावकारी कार्यान्वयनमा रूपान्तरण गरियो भने लुम्बिनी प्रदेशमा उल्लेखनीय सुधार सम्भव छ।

महिलाको जीवन सुरक्षा राज्यको मूल दायित्व हो। मातृ स्वास्थ्यमा बिभिन्न बहुपक्षहरुमा गरिने आजको लगानीले मात्र भोलिको सुरक्षित पुस्ता र सशक्त समाज निर्माण गर्न सक्छ। यही २०२६ को नारी दिवसको सार हुनुपर्छ।

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :