स्वास्थ्यसमाचार/स्वास्थ्य मन्त्रालयले मन्त्रालयका चालु कार्यक्रमबाट ७५ करोड ९ लाख १२ हजार रुपैयाँ स्वास्थ्य बीमा कार्यक्रमलाई रकमान्तर गरेको छ ।
स्वास्थ्य बीमा बोर्डलाई जोगाउन २२ शीर्षकबाट ७५ करोड ९ लाख १२ हजार रुपैयाँ रकमान्तर गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
‘स्वास्थ्य विमा कार्यक्रम आर्थिक संकटमा पर्यो । विमा बोर्डलाई जोगाउनु पर्ने आवश्यकता देखियो । त्यसैले मन्त्रालयका चालु अवस्थामा रहेका २२ शीर्षकबाट ७५ करोड, ९ लाख १२ हजार रुपैयाँ रकमान्तर गरेका छौँ,’ प्रवक्ता डा। बुढाथोकीले भने, ‘अन्य मन्त्रालयका महाशाखा र विभागलाई पनि रकमान्तर गर्न मिल्ने बजेट हेर्न भनेका छौँ ।
सँगै अर्थ मन्त्रालयलाई अन्य मन्त्रालयबाट रकमान्तर गर्न मिल्ने बजेट खोजेर स्वास्थ्य बीमालाई दिन पर्यो भन्दै पैरवी गरिरहेका छौँ ।’ बीमा बोर्ड सेवा प्रदायक अस्पताललाई भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको छ ।
बोर्डले अहिलेसम्म सेवा प्रदायक अस्पताललाई तिर्न ११ अर्व रुपैयाँ बराबरको दायित्व छ । त्यो दायित्व प्रत्येक महिना २ अर्बका दरले थपिँदै जाने अवस्था रहेको प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए ।

प्रतिकया दिनुहोस्