रुपन्देही, ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुपन्देही क्षेत्र नं. ३ प्रतिनिधि सभा उम्मेदवार तथा बरिष्ठ न्युरोलोजिष्ट डा. लेखजंग थापाले आफ्नो चुनावी जितको मुख्य आधार उपचार र सेवा नै भएको बताएका छन्।
“मैले राजनीति गर्नुभन्दा पहिले जनताको उपचार र सेवा गरेको छु। यही सेवाको आधारमा जनताले मलाई माया र विश्वास दिनुभएको छ,” डा. थापाले चुनावी प्रचारका क्रममा भने। विदेश पलायनको लहर चलेको समयमा आफू पितृभूमि र बुवाआमाको हौसलाले नेपालमै बसेर सेवा गरेको उनले स्मरण गरे।
काठमाडौँमा व्यस्त पेशागत जीवन बिताइरहँदा पनि महिनामा कम्तीमा दुई दिन आफ्नो निर्वाचन क्षेत्र रुपन्देहीको भैरहवामा आएर सेवा दिने गरेको डा. थापाले बताए। चुनावी प्रचारमा घरदैलो गर्दा धेरै मतदाताले “हाम्रै छोरो हो, गुन लगाएको छ, अब तिर्ने पालो हाम्रो हो” भन्दै साथ, समर्थन र उत्साह दिएको उनले सुनाए।
जनताबाट पाएको यही ऊर्जा र हौसलाले आफू थप जिम्मेवार बनेको भन्दै उनले यसपटक परिवर्तनको पक्षमा मत दिने जनताको दृढता देखिएको बताए। “सबैले विगतलाई हेरिसक्नुभयो, अब परिवर्तन चाहिएको छ भनेर घण्टी चिन्हलाई जिताउने संकल्पमा जनता जुट्नुभएको छ,” उनले भने।
यसैबीच, रास्वपाकी समानुपातिक उम्मेदवार ज्ञानु पौडेलले पनि रुपन्देही क्षेत्र नं. ३ का विभिन्न पालिकामा चुनावी अभियान सञ्चालन भइरहेको जानकारी दिइन्। जनताको राम्रो साथ र सहयोग पाएको उल्लेख गर्दै उनले जितको आधार जनता नै भएको बताइन्। “यसपटक परिवर्तनको पक्षमा मत दिने प्रतिबद्धता जनताबाट आएको छ, त्यसैले हामी ढुक्क छौं,” उनले भनिन्।







प्रतिकया दिनुहोस्