बुटबल/जेन–जी आन्दोलन क्रममा भएको लुटपाट, तोडफोड र आगजनीबाट अशान्त बनेको जनजीवन सामान्य बन्दै गएको छ। भदौ २३ र २४ गते भएको आन्दोलनमा ७२ जनाको मृत्यु भयो। देशभर १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका भएका थिए।
लुम्बिनीमा ३७ प्रहरी र २० प्रदर्शकारी घाइते भए।लुम्बिनी प्रदेशका तराई जिल्लाहरूमा पनि ठूलो भौतिक क्षति भएको छ। स्थानीय प्रशासन कार्यालयहरूले भौतिक क्षतिको विवरण संकलन गरिरहेका छन्। प्रहरीका अनुसार धेरैजसो जिल्लामा आइतबार बिहानसम्म कर्फ्यु र निषेधाज्ञा रहेकाले दिउँसो मात्र क्षतिको विवरण संकलन सुरू भएको छ।
सोमबार अपराह्नसम्म पनि लुम्बिनीका सरकारी कार्यालय, प्रहरी चौकी, राजनीतिक दल र संघसंस्थाका कार्यालय, व्यापारिक प्रतिष्ठान तथा निजी सम्पत्तिमा भएको लुटपाट, तोडफोड र आगजनीको यकिन विवरण प्राप्त भएको थिएन।
रूपन्देही
सम्बन्धित जिल्लाका प्रहरी प्रशासनले दिएको जानकारी अनुसार सबभन्दा बढी क्षति रूपन्देहीमा भएको छ। जिल्ला प्रशासन कार्यालय, रूपन्देहीका अनुसार कुन कुन कार्यालयमा कस्तो क्षति भएको छ भन्ने सबै विवरण आइपुग्न बाँकी छ। सोमबार सम्म प्राप्त विवरण अनुसार सरकारी र निजी गरी ६० वटाभन्दा बढी भवनमा लुटपाट, तोडफोड र आगजनी भएको छ।
बुटवल उपमहानगरपालिकासहित ४ नम्बर वडा कार्यालय, प्रदेश प्रमुखको कार्यालय र उनको निवास, उच्च अदालत तुलसीपुरको बुटवल इजलास, हुलाक, मालपोत, यातायात, सरकारी वकिल, बुटवल र भैरहवामा रहेका आन्तरिक राजस्व कार्यालयका भवनमा क्षति भएको छ।
बुटवलमा रहेका राष्ट्रिय अनुसन्धान कार्यालय, अख्तियार दुरूपयोग अनुसन्धान कार्यालय, इलाका प्रशासन कार्यालय र सडक डिभिजन कार्यालयमा तोडफोड र आगजनी भएको छ।
भैरहवामा रहेका जिल्ला अदालत, जिल्ला सरकारी वकिलको कार्यालय, भन्सार, जिल्ला वन डिभिजन, लुम्बिनी सांस्कृतिक नगरपालिका, कञ्चन गाउँपालिका वडा नम्बर १, तिलोत्तमा नगरपालिका वडा नम्बर ५ कार्यालयमा तोडफोड र आगजनी भएको छ।
सिद्धार्थनगर, सैनामैना र देवदह नगरपालिका कार्यालयमा पनि तोडफोड भएको छ। बुटवल बसपार्कस्थित अस्थायी प्रहरी बिट, भैरहवास्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय, मंगलापुर इलाका प्रहरी कार्यालय र अस्थायी गल्लामन्डी प्रहरी बिट तोडफोड र आगजनी भएको छ।
प्रहरीको एउटा गाडी र २७ वटा मोटरसाइकलमा आगजनी भएको छ। केही मोटरसाइकल लुटिएका छन्।गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका सरकारी गाडीमा पनि तोडफोड र आगजनी भएको छ।
विभिन्न राजनीतिक दलका नेता तथा जनप्रतिनिधिका घरमा आगो लगाइएको छ।तिलोत्तमा–१, शंकरनगरस्थित लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरीको र वडा नम्बर १ का वडा अध्यक्ष फर्सुराम गिरीको घरमा आगो लगाइएको छ।
तिलोत्तमा नगरपालिका–८, चार नम्बरस्थित पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनका भाइ श्यामकृष्ण खाण र तिलोत्तमाका मेयर रामकृष्ण खाणका घरमा आगजनी भएको छ।सैनामैनाका मेयर फणीन्द्र शर्मा र उपमेयर विना रानाको घरमा तोडफोड र आगजनी भएको छ।
सैनामैनाकै पूर्वमेयर चित्रबहादुर कार्की, तिलोत्तमाका पूर्वमेयर एवं संघीय सांसद वासुदेव घिमिरे र देवदहका मेयर ध्रुव खरेलको घरमा लुटपाट, तोडफोड आगजनी भएको छ।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, सिद्धार्थनगरका मेयर इस्तियाक अहमद खान, उपमेयर उमा अधिकारी, सिद्धार्थनगरका पूर्वमेयर एवं राप्रपाका नेता सागरप्रताप राणा र संघीय सांसद सर्वेन्द्रनाथ शुक्लाको घरमा आगजनी भएको छ।
एमाले नेता एवं लुम्बिनी प्रदेशका सांसद भोजप्रसाद श्रेष्ठ र लुम्बिनी प्रदेशका खेलकुदमन्त्री सन्तोष पाण्डेयका घरमा पनि आगजनी भएको छ।
अधिकांश निजी घरमा तोडफोड र आगजनीसँगै लुटपाट पनि भएको छ। रूपन्देहीका चार वटा ठूला होटल ड्रिम इन्टरनेसनल, ड्रिमल्यान्ड गोल्ड रिसोर्ट, टुलिप र बोधी र्याडिसनमा लुटपाट, तोडफोड र आगजनी भएको छ। सबभन्दा बढी क्षति ड्रिमल्यान्ड गोल्ड रिसोर्टमा भएको जनाइएको छ।
बुटवल र भैरहवामा रहेका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका जिल्ला र नगर कार्यालयहरूमा तोडफोड र आगजनी भएको छ।बुटवल र भैरहवामा रहेका भाटभटेनी सुपर मार्केटमा तोडफोड र लुटपाट भएको छ।
प्रतिकया दिनुहोस्