स्वास्थ्यसमाचार/ सिंहदरबारसहित देशभरका प्रशासनिक भवनहरू ध्वस्त बनेका बेला अर्घाखाँचीको ग्रामीण क्षेत्रका एक किसान तुलसीराम अधिकारीले पुनःनिर्माणका लागि ठूलो मन देखाएका छन्।
शितगंगा–२ सितापुरका अधिकारीले सोमबार प्रधानमन्त्री दैवी प्रकोप सहयोग कोषमा १ लाख १०० रुपैयाँ जम्मा गर्दै जिल्ला प्रशासन कार्यालयमा सहयोगको भौचर बुझाए।
‘फेरि यस्तो नहोस्, म बनाउँछु सिंहदरबार, म बनाउँछु मेरो देश’ भन्ने नारासहित प्रशासन पुगेका अधिकारीले आफूले टिमुर, अकबरे खुर्सानी र तरकारी बेचेर जम्मा गरेको रकम आत्मशान्ति र श्रद्धाका रूपमा अर्पण गरेको बताए।
अधिकारीले भने, “सिंहदरबार जलेपछि मलाई निद्रा लागेन। यो ठूलो रकम होइन तर सन्देश हो। सबै मिलेर पुनःनिर्माण अभियान चलाउनुपर्छ।” ६२ वर्षीय अधिकारी नेपाल–भारतमा विभिन्न काम गरेर फर्केर अर्घाखाँचीमा १३७ रोपनीमा टिमुर खेती गर्दै आएका छन्।
उनका छोरा र छोरी दुवै कोरियामा पीएचडीसम्म अध्ययन गरिसकेका छन्। जिल्ला प्रशासन प्रमुख गोपाल प्रसाद अर्यालले किसान अधिकारीको सहयोगले राष्ट्रिय पुनःनिर्माण अभियानमा ठूलो सन्देश दिएको बताए।
सामाजिक अभियान्ता बसन्त श्रेष्ठले “गाउँको किसानले यस्तो ठूलो सहयोग गर्नु सानो कुरा होइन, यसले सबै नेपालीलाई सकारात्मक ऊर्जा दिनेछ” भने।
प्रतिकया दिनुहोस्