किशोरीको डिम्ब कारोबार प्रकरण : दुई आइभीएफ सेन्टरमाथि छानबिन

स्वास्थ्यसमाचार/ नि:सन्तान उपचारका केन्द्रका नाममा खुलेका दुई आईभीएफ सेन्टरमाथि छानबिन गर्न स्वास्थ्य मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।

१८ वर्ष मुनिका किशोरीहरूको डिम्बको कारोबार गरेको घटना बाहिर आएपछि प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. ज्वाला थापाको संयोजकत्वमा तीन सदस्यीय समिति बनेर काम सुरु भइसकेको मन्त्रालयका सुचना अधिकारी भक्त बहादुर केसीले जानकारी दिए ।

इनभिट्रो फर्टिलाइजेसन सेन्टर (आइभीएफ) को कार्यप्रति प्रश्न उठेपछि तीन सदस्य छानबिन समिति गठन गरिएको मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक तथा सूचना अधिकारी डा. भक्त केसीले जानकारी दिए । उनका अनुसार सचिवस्तरीय निर्णय गरी यस अवैध कार्यमा संलग्न भनिएको होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि र एन्जल फर्टिलिटी क्लिनिकमाथि छानबिन गर्न समिति गठन गरिएको हो ।

समितिमा मन्त्रालयमा कार्यरत डा. सुनिता लम्साल र कानुन अधिकृत सुरेश चौलागाईं सदस्य रहेका छन् । समितिलाई अनुगमन गरेर प्रतिवेदन बुझाउन पाँच दिनको समय दिइएको छ ।

काठमाडौंको बबरमहल स्थित फर्टिलिटी एण्ड डाइग्नोष्टिक क्लिनिक र महाराजगञ्जस्थित एञ्जल फर्टिलिटी क्लिनकमा १८ वर्षमुनिका दुई जना किशोरीहरूबाट डिम्ब संकलन गरी १८ लाखसम्ममा ग्राहकलाई बेचेको घटना सार्वजनिक भएपछि आइभिएफ प्रविधिमाथि नै प्रश्न उठ्न थालेको छ ।

सम्बन्धित शिर्षक :