बुटवल पुर्ण खोप दिगोपन सुनिश्चितता तथा पुर्ण संस्थागत प्रसूति सेवा युक्त पालिका घोषणा

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिका जिल्लामै पहिलो पूर्ण खोप दिगोपना सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसूति सेवा युक्त पालिका घोषणा भएको छ ।

मंगलबार बुटवल उपमहानगरपालिकामा आयोजित एक विशेष कार्यक्रमकाबीच “पुर्ण खोप दिगोपन सुनिश्चितता तथा पुर्ण संस्थागत प्रसूति सेवा युक्त पालिका” घोषणा भएको हो ।

स्वास्थ्य सेवा पहुँच र गुणस्तरमा निरन्तर सुधार गर्दै उपमहानगरपालिकाले सबै लक्षित समूहमा पूर्ण खोप सुनिश्चित गर्नुका साथै स्वास्थ्य संस्थाहरूको पूर्ण प्रसूति र सेवा निरन्तरतामा विशेष ध्यान दिएको प्रमाणित भएपछि “पुर्ण खोप दिगोपन सुनिश्चितता तथा पुर्ण संस्थागत प्रसूति सेवा युक्त पालिका” घोषणा गरिएको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख उमाकान्त चपाइले २०८१ / ०८२ मा बुटवल उपमहानगरपालिका बिभिन्न सुचकहरू पुरा गरेर घोषणा हुनेमा बुटवल उपमहानगरपालिका जिल्लामै पहिलो भएको भन्दै अन्य क्षेत्रमा पनि यसैगरी सफलता हाशील गर्न शुभकामना दिए ।

धेरै चिजमा आत्मनिर्भर भए पनि रूपन्देही जिल्ला पोषणमा कमि,मातृ मृत्युदर बढी देखिएको भन्दै भविष्यमा यसलाई सुधार गर्ने तर्फ सरोकारवालाहरू सबै लाग्नुपर्नेमा जोड दिए ।

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई गतबर्ष नै “पुर्ण खोप दिगोपन सुनिश्चितता तथा पुर्ण संस्थागत प्रसूति सेवा युक्त पालिका” घोषणा गर्ने तयारी भएकोमा केही कारणले एक बर्ष ढिलाइ भएको भन्दै एक बर्ष ढिला गरी घोषणा गर्दा पनि बुटवल जिल्लामै पहिलो हुन सफल भएकोमा खुसी ब्यक्त गरे ।

स्वास्थ्य शाखा,स्वास्थ्यकर्मी,महिला स्वास्थ्य स्वयंसेविका सबै सरोकारवालाहरुको सहयोगमा बुटवल जिल्लामै पहिलो “पुर्ण खोप दिगोपन सुनिश्चितता तथा पुर्ण संस्थागत प्रसूति सेवा युक्त पालिका” घोषणा हुन सफल भएको भन्दै नगर प्रमुख पाण्डेयले नसर्ने रोग रोकथाम चुनौतिपूर्ण भएको बताए ।

शैक्षिक सूचकांक सुधार गर्ने क्रममा बुटवल उपमहानगरपालिकाले विद्यालय नगएका बालबालिका खोज्न टोल टोल र घर घरमै पुग्दा बालबालिका लाई विद्यालय नपठाएर सडकमा माग्न पठाउने गरेको पाइएको स्मरण गर्दै उनले बालबालिकालाई विद्यालय नपठाए सेवा सुविधा रोक्ने चेतावनी दिएपछि आफ्ना छोराछोरीलाई विद्यालय पठाउनुका साथै सरसफाइ र हरियालीमा समेत अगाडि देखिएको जानकारी गराए ।

अस्पतालमा सुरक्षित रूपमा बच्चा जन्माउन प्रोत्साहन गर्न बुटवलले अस्पतालमा बच्चा जन्माउने सुत्केरीलाई दुई हजार पोषण भत्ता दिने गरेको नगर प्रमुख पाण्डेयले बताए ।

सो अवसरमा उपप्रमुख सावित्रा देवी अर्यालले बुटवल “पुर्ण खोप दिगोपन सुनिश्चितता तथा पुर्ण संस्थागत प्रसूति सेवा युक्त पालिका” घोषणा सम्बन्धि प्रतिवेदन वाचन गरेकी थिइन् ।

कार्यक्रममा स्वास्थ्य कार्यालय रूपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवाली,आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा बिनोद पराजुली,बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेय लगायतले “पुर्ण खोप दिगोपना सुनिश्चितता तथा पुर्ण संस्थागत प्रसूति सेवा युक्त पालिका” घोषणाका लागि आवश्यक मापदण्ड तथा प्रक्रियाका बारेमा आ आफ्नो भनाइ राखेका थिए ।

सम्बन्धित शिर्षक :