मुख्यमन्त्री आचार्यले भोलि बेथरीमा निर्माण हुने क्यान्सर अस्पतालको शिलान्यास गर्ने

स्वास्थ्यसमाचार/ रुपन्देहीको मायादेवी गाउँपालिका–६ स्थित बेथरीमा निर्माण हुने क्यान्सर अस्पतालको यही वैशाख १० गते बुधबार शिलान्यास गरिने भएको छ । सुमित्रा मेमोरियल क्यान्सर हस्पिटलको बुधबार बिहान १०ः३० बजे लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुहुने अस्पतालका संस्थापक अर्जुन पौडेलले बताए ।

भैरहवामा आयोजित पत्रकार सम्मेलनमा संस्थापक पौडेलले क्यान्सरको सम्बन्धी गुणस्तरीय उपचार तथा सेवा प्रदान गर्ने लक्ष्यका साथ अस्पताल निर्माण गर्न लागिएको बताए । ‘२ बिगाहा ५ कठ्ठा क्षेत्रफलमा डेढ अर्बको लागतमा अस्पताल निर्माण हुँदैछ, १ सय शैयाको यो अस्पताल (प्रोजेक्ट) ले करिब डेढ वर्षभित्र निर्माण कार्य पूरा गरी आफ्नो सेवा प्रारम्भ गर्नेछ,’उनले भने ।

सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.का प्रबन्ध निर्देशकसमेत रहेका पौडेलले विदेशमा कार्यरत क्यान्सर रोग विशेषज्ञ, विदेशमा रहेका नेपाली व्यवसायी, क्यान्सरबाट परिवारका सदस्य गुमाएका व्यक्तिहरु, क्यान्सर सर्भाइभर र प्रतिष्ठित व्यवसायीको लगानी यो प्रोजेक्ट (अस्पताल) मा रहेको बताए ।

‘दिनप्रतिदिन बढ्दो क्यान्सर र बिरामीलाई उपचारका लागि काठमाडौं, भरतपुर, भारतलगायतका ठाउँहरुमा जानुपर्ने बाध्यता छ । जनचेतनाको कमीले पनि क्यान्सरका बिरामी बढिरहेकाले यो अस्पतालले विशेष जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नेछ, ’उनले भने ।

क्यान्सरका बिरामीका लागि यो अस्पतालले सिद्धार्थनगर सिटी हस्पिटलसँग सहकार्य गरी २०८२ असार महिनादेखि बिरामीलाई सहज हुने गरी मेडिकल अन्कोलोजिष्टलगायत केही क्यान्सर विशेषज्ञहरु राखी सिद्धार्थनगर सिटी हस्पिटलभित्र केमोथेरापी क्यान्सर सम्बन्धित डायग्नोष्टिक सेवा, क्यान्सरसम्बन्धी अपरेशन लगायतका सेवाहरु प्रदान गरिने उनको भनाइ छ ।

गरीब तथा मध्यम वर्गको परिवारका बिरामीलाई लक्षित गरेर अस्पताल सञ्चालनमा ल्याउन लागिएको पौडेलले बताए । ‘उपकरणमा कमी हुँदैन, कसरी हुन्छ कम मूल्यमा बिरामीलाई सेवा प्रदान गर्ने हाम्रो सोच छ, ’उनले भने ।

लुम्बिनी प्रेस क्लब, रुपन्देहीका संस्थापक उपाध्यक्ष मनोरञ्जन शर्माले यस क्षेत्रमा क्यान्सर अस्पताल भने बिरामीका लागि धेरै सहज हुने बताए । उनले यसै क्षेत्रमा अस्पताल बने उपचारका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य हुने बताए ।

पत्रकार सम्मेलनमा सिद्धार्थनगर सिटी हस्पिटलका निर्देशक डा. अमित चतुर्वेदी, अस्पतालको एचआर म्यानेजर विद्या गौतम, सुमित्रा मेमोरियल क्यान्सर हस्पिटलका शेयर सदस्य केशवराज ज्ञवाली लगायतको उपस्थिति थियो ।

सम्बन्धित शिर्षक :