गुल्मीमा एचपिभी खोप :लक्षित समूहको झण्डै शतप्रतिशत सहभागिता

स्वास्थ्यसमाचार/पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी.खोप लगाउने राष्ट्रिय अभियान अन्तर्गत गुल्मी जिल्लाका लक्षित समूहका करीब १०० प्रतिशत छात्रा तथा किशोरीले उक्त खोप लगाएका छन।

माघ २२ गतेदेखि फागुन ६ गतेसम्म संचालन भएको अभियानमा १० हजार ८ सय ७४ जनालाई खोप लगाउने लक्ष्य लिएकोमा १० हजार ८ सय ४३ जना छात्रा तथा किशोरीले पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी.खोप लगाएको  स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिनुभयो।

समग्रमा गुल्मी जिल्लामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी.खोप लगाउने संख्या ९९ दशमलव ७१ प्रतिशत रहेको छ। आचार्यले दिएको जानकारी अनुसार अभियान अन्तर्गत रेसुङ्गा नगरपालिकामा १०२ दशमलव शून्य आठ प्रतिशत अर्थात एक हजार ५ सय ३७ जनालाई खोप लगाउने लक्ष्य लिएकोमा एक हजार ५ सय ६९ जनालाई खोप लगाइएको छ।

मुसिकोट नगरपालिकामा एक हजार २ सय २६ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा एक हजार २ सय ३२ जनालाई खोप लगाइएको छ,जुन एक सय दशमलव ४९ प्रतिशत हुन आउछ।

कालीगण्डकी गाउँपालिकामा एक सय दशमलव ८० प्रतिशत, सत्यवती गाउँपालिकामा एक सय एक दशमलव ९७ प्रतिशत, चन्द्रकोट गाउँपालिकामा दशमलव ९७ दशमलव ४४ प्रतिशत, इस्मा गाउँपालिकामा ९८ दशमलव ६७ प्रतिशत, मालिका गाउँपालिकामा एक सय दशमलव ९७ प्रतिशतले एचपिभी खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

यसैगरी मदाने गाउँपालिकामा ९९ दशमलव २१ प्रतिशत, धुर्कोट गाउँपालिकामा ९२ दशमलव ५० प्रतिशत, गुल्मीदरबार गाउँपालिकामा एक सय दशमलव ६२ प्रतिशत, छत्रकोट गाउँपालिकामा ९९ दशमलव ७५ प्रतिशत र रुरुक्षेत्र गाउँपालिकामा एक सय दुई दशमलव ३५ प्रतिशतले एचपिभी खोप लगाएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

कक्षा ६ देखि १० सम्म पढ्ने छात्राहरु र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीलाई लक्षित गरेर सरकारले एचपिभी खोप अभियान सञ्चालन गरिएको थियो ।खोप अभियानलाई व्यवस्थित र प्रभावकारी गराउन स्वास्थ्य कार्यालय गुल्मीले १ सय ८६ जना स्वास्थ्यकर्मी र ३ सय ७२ जना स्वास्थ्य स्वयंसेवक परिचालन गरेको हो ।

यस अभियानमा जिल्लाका १ सय ८५ सामुदायिक विधालय र २५ संस्थागत विधालय गरी कुल २ सय १० विद्यालयमा कक्षा ६ देखि १० सम्म सम्म अध्ययनरत र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई खोप लगाइएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।

 

 

 

सम्बन्धित शिर्षक :