विदेश – रहर होइन बाध्यता डा. शारदा खनाल

ताली भन्दा गाली खान बानि परेछ अचेल त, त्यसैले मलाई कसैले केहि भने पनि फरक पर्दैन भन्दै रिसाए रोहन। रोहनले दुइ वर्ष अगाडी मात्र MBBS पढाई सकेका रहेछन् दुइ वर्षे छात्रवृत्ति करारको जागिर सकेर एक वर्षदेखि क्लिनिक र एउटा ठुलो नाम चलेको अस्पतालमा काम गर्दा रहेछन्।

रोहन मध्यम वर्गीय परिवारका दोस्रो सन्तान हुन्, उनी भन्दा सानी एउटी बहिनी छिन्। पढाइमा अब्बल, अनुशासित भनेर चिनिन्थे रोहन। सानोमा एकपटक पाठ पढेपछि उनलाई त्यो पाठको बारेमा आफूमात्र होइन अरुलाई पनि बुझाउन सक्ने क्षमता थियो। उसको पढाईको दक्षता देखेर उसलाई पढाईमा मात्र ध्यान दिन लगाइयो, उपनि आफुलाई मनपर्ने जिनिस नै पढाई ठान्दथ्यो।

उसको त्यो सानो संसार कोठाको चार भित्ता, किताब-कलम, कुर्सी र टेबल बन्यो। आफ्ना छोराछोरी जति धेरै पढाईमा ध्यान दियो अभिभावकलाई उसैसँग आशा भरोसा हुन्छ। रोहनलाई पनि पढाईमा नै संसार बनाउन नजानिँदो दवाब सबैबाट पर्न थाल्यो। उसलाई अन्य क्रियाकलाप खेल-नाच-गान ध्यान दिन दिईएन। उ पनि खुब मन लगाएर पढाई गर्थ्यो।

हाम्रो समाजमा राम्रो पढेपछि डाक्टर, इन्जिनीयर बन्नुपर्ने भाष्य; उसले पनि कक्षा आठबाट नै डाक्टर पढ्ने सोच बनाई त्यसै अनुसार मिहिनेत गर्न थाल्यो। प्रवेश परीक्षा पास भयो, भर्ना नाम चलेको मेडिकल कलेजमा भयो। उसको पढाईको अविरल यात्रा चलेको पनि एक दशक हुन लागेछ। अझै त्यति नै बाँकी होला, आधा जिन्दगी त पढाइमै अनि अन्य अतिरिक्त क्रियाकलाप तिर ध्यान सोच नै छैन।

उनै रोहन आज सेवा ग्राहीलाई सेवा गर्दा; अन्तिम अवस्थामा ल्याइएका बुढा बा लाई बचाउन नसक्दा उसलाई हातपात गरिन्छ। उ बल्ल झल्यास्स हुन्छ, ओहो येत्रो वर्ष पढे मिहिनेत गरें, आफ्नो कर्तव्य सधैँ गरें तर आज यस्तो चोट पाउनु पर्यो। जीवनलाई सहज बनाउन म विदेशनै जान पर्छ. मेरा विदेशिएका सबै साथी सुखी र खुस नै देखिन्छन् भन्दै सोच मग्न भयो।

अर्को पात्र छिन् रिश्ता, आठ पास गरेर अनमी पढिन् , मिहिनेती र लगनशील रिश्ताले लोकसेवा आयोग पास गरि जागिर खान थाल्छिन। जागिर खाएको केहि समयपछि उनले छात्रवृत्ति कोटामा माथिल्लो हतज्ञान आर्जन गर्छिन। बि.एन सकेर जागिर तल्लो तहको भएपनि आफ्नो पढाई अनुसार को सेवा दिन चाहान्छु भन्दै विभिन्न निकायमा निवेदन दिन्छिन्, माथिल्लो निकायमा अनुनय विनय गर्छिन्, उनको मिहिनेत पानी मै खेर गए जस्तो हुन्छ।

उनले पद सानो भएता पनि तलब भत्ता आफ्नै दरबन्दी सरहनै लिएर दक्षता अनुसार काम गर्ने चाहाना उनको थियो। उनी त सामान्य परिवारकी कसले सुनोस् उनका कुरा, कता-कता परिवारको सपना आफ्नो रहर पुरा गर्न विदेश जाने रहर मनमा पलाउनु सामान्य नै भयो।

एकजना अर्को पात्र फार्मेसी पढेकी समिक्षा धेरै मिहिनेत गरेर पढिन्। Bachelor in Pharmacy को पढाई सकेपछि फार्मेसी त दर्ता गर्छिन् तर उनको इच्छा सरकारी सेवामा प्रवेश गर्नु थियो। केहि वर्ष देखि लोकसेवाको माग नै नभएको थाहा पाएपछि माथिल्लो तह पढाई गर्न विदेश जाने सोच बनाउन थालेकी छिन समिक्षा।

पहिला मेडिकल डाक्टर नपाए बल्ल आयुर्वेद डाक्टर बन्छन् भन्ने भनाइलाई गलत बनाउदै हरिश नौ कक्षा बाट नै आयुर्वेद चिकित्सक बन्ने सोच राखेका थिए रे। उनले प्रवेश परीक्षा अगावै धेरै आयुर्वेद सम्बन्धि ज्ञान बटुली सकेका थिए। उनको घरमा ठुलो दाइ पनि आयुर्वेद चिकित्सक हुनुहुन्छ। उहाँको आयुर्वेद प्रतिको माया, समर्पण र ज्ञान भएर उनी प्रेरित भए।

पढाईमा मिहिनेती, पछिल्ला सन्तान अझ तेज हुन्छन् भने जस्तै दाजु भन्दा होनहार थिए हरिश। पढाईमा उच्च अंक ल्याएर पास भए। BAMS सकेपछि आफ्नो क्लिनिक खोले, सेवाग्राही को चाप नै हुन्थ्यो तर भने जस्तो आम्दानी हुन सकेको थिएन। उनी विदेशबाट बोलाएको Ayurved Treatment center मा जाने की भनि सल्लाह परामर्श लिन थाल्दै छन्।

मनोज जो प्राकृतिक चिकित्सक BNYS हुन्,बिना औषधि प्राकृतिक उपचारबाट नै बिरामी निको पार्ने प्राकृतिक चिकित्सकले गर्छन। सरकारी दरबन्दी नभएका कारण अनि नेपाल मा भन्दा विदेश काम पनि दाम पनि देखेर उतै मन बनाउदै छन् मनोज।

यहाँ लेखिएका यी र यस्ता पात्र स्वास्थ्य क्षेत्रका केहि उदाहरण मात्र हुन्। आफ्नो विषयगत विधामा योगदान दिन लगनशील भएर ज्ञान त हासिल गरें तर आफ्नो सुरक्षा र दैनिकी चलाउन गाह्रो भए पछि देश छाडी परदेश लाग्न बाध्य हुँदैछन् स्वास्थ्यका जनशक्ति। जहाँ जीवन सरल र सहज हुन्छ त्यहीं आनन्द आउँछ। आफ्नो मिहिनेत, किताबसँगै झुलेका ति रात, विरामीलाई रोग मुक्त गराई फर्काएका क्षण सम्झदै अहिलेको परिस्थितिमा विदेश रहर होइन बाध्यता बनेको छ। स्वास्थ्यका जनशक्तिलाई प्राथमिकता राख्नु पर्ने देखिन्छ ।

आयुर्वेद चिकित्सक

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :