विद्यालयमा ‘स्वास्थ्य दूत’ नियुक्त गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

काठमान्डौ/स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले ‘विद्यालय स्वास्थ्य दूत’ नियुक्त गर्ने निर्णय गरेका छन् । उनले विद्यालयमा स्वास्थ्य सचेतना फैलाउनुका लागि ‘विद्यालय स्वास्थ्य दूत’ नियुक्त गर्ने निर्णय गरेका हुन् ।

उनले ‘विद्यालय नर्स कार्यक्रम’ लागू भैरहेका विद्यालयमा स्वास्थ्य प्रवर्द्धनात्मक विद्यालय र विद्यालय स्वास्थ्य दूतसमेत रहने गरी ‘विद्यालय स्वास्थ्य सेवा तथा नर्सिङ कार्यक्रम सञ्चालन निर्देशिका’लाई परिमार्जन गरी नयाँ निर्देशिका स्वीकृत गरेका हुन् । अब विद्यालय नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीले ‘स्वास्थ्य दूत’का रुपमा स्वास्थ्यसम्बन्धी आधारभूत जानकारी तथा स्वास्थ्य सजगता सम्बन्धी जानकारी फैलाउन विद्यालय नर्सलाई सघाउनेछन् ।

यसैगरी, नियमित खोप कार्यक्रम तथा अन्य सचेतनामूलक कार्यक्रममासमेत ‘विद्यालय स्वास्थ्य दूत’लाई उपयोग गर्ने गरी मन्त्रालयले निर्देशिका परिमार्जन गरेको हो । ‘विद्यालय स्वास्थ्य दूत’लाई मन्त्रालयले दूतको परिचय र ब्याचका अलावा आवश्यक स्वास्थ्य जानकारी मूलक सामग्री पठाउनेछ । हाल देशका सातै प्रदेशका एक हजार तीन सय ८६ विद्यालयमा कार्यक्रम लागू भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले रोग निरोधात्मक कार्यक्रमका लागि विद्यालयलाई समेत सहभागी गराउने २७ साउन २०८१ मा योजना तथा कार्यक्रममा घोषणा गरेका थिए । सोही कुरालाई मद्दत मिल्ने गरी हाल निर्देशिका परिमार्जन गरेर ‘विद्यालय स्वास्थ्य दूत’ थप्न लागिएको हो । पाँच सय विद्यार्थी भएका विद्यालयमा एक छात्र र एक छात्रा स्वास्थ्य दूत बन्नेछन् ।

उनीहरुलाई मन्त्रालयको नर्सिङ महाशाखामार्फत स्थानीय तह र विद्यालयका नर्सहरुले सचेतनामूलक कार्यक्रममा सहभागी र नेतृत्व दिलाउनेछन् । ‘हामीले नागरिकको स्वास्थ्य सुधार गर्न बालबालिका तहबाटै काम हुनुपर्छ भनेर यस्तो व्यवस्था गरेका हौं,’ मन्त्री पौडेलले भने, ‘यसले बालबालिका र उनीहरूमार्फत समुदायको स्वास्थ्य जानकारी वृद्धि हुने अपेक्षा गरेका छौं ।’

मन्त्रालयले यस वर्ष प्रयोगका रुपमा लागू गर्ने र अगामी वर्ष बजेटमा व्यवस्था गरेर कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । ‘विद्यालयमार्फत सचेतना थप प्रभावकारी हुन्छ भन्ने मन्त्रीज्यूको विश्वास छ,’ उनले भने, ‘त्यसैलाई आधार मानेर नयाँ व्यवस्था गरिएको हो ।’

अहिले विद्यालय नर्स कार्यक्रमका लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरिरहेको छ । तीन वटै तह मिलेर बालबालिकाको तहसम्म सचेतना फैलाउने काम गर्दा प्रभावकारी हुने विश्वासका साथ मन्त्री पौडेलले ‘विद्यालय स्वास्थ्य दूत’ कार्यक्रम अघि बढाएका हुन् ।

सम्बन्धित शिर्षक :