एचपीभी खोप अभियान माघ २२ गतेदेखि फागुन ६गतेसम्म सञ्चालन हुने

एचपीभी खोप अब एक डोज नै काफी

स्वास्थ्यसमाचार/गत वर्षको एचपीभी खोप ‘डेमोस्ट्रेसन’मा करीब १० हजार किशोरीहरुलाई एचपीभी खोप दिइएको थियो । तर त्यसबेला उनीहरुलाई दुई डोज खोप दिइएको थियो । विश्व क्यान्सर दिवसको अवसर पारेर आगामी २२ माघ देखि सञ्चालन हुन लागेको यसपटकको खोप अभियानमा भने एचपीभी खोप एक डोज मात्रै दिईदैछ ।

‘कम्पनी उही छ, खोप पनि उही छ तर डोज घटाइयो किन ?’ मंगलबार राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र र स्वास्थ्य पत्रकार मञ्च नेपालको संयुक्त आयोजनामा भएको पाठेघरको मुखको क्यान्सर र एचपीभी खोप सम्वन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले प्रश्न उठाएका थिए ।

विज्ञको तर्फबाट प्रस्तुति दिएकी डा. सरिता घिमिरे, स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लाल र बालस्वास्थ्य तथा खोप शाखा प्रमुख रहेका डा. अभियान गौतमले एक स्वरमा भने, ‘नयाँ रिसर्च, गाइडलाइन र खोप सल्लाहकार समितिको सुझाव अनुसार खोपको मात्रा घटाइएको हो । एक डोजले नै सत प्रतिशत काम गर्ने पुष्टि भयो । त्यसैले घटाइयो ।’

अन्य खोप कार्यक्रममा जस्तै नेपालमा सुरु हुन लागेको एचपीभी खोप अभियानका लागि ‘ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन’ (गाभी) को सहयोगमा छ ।

‘हामीले गाभीलाई खोपका लागि निवेदन दिँदा दुई डोजको लागि नै दिएका थियौँ । तर अनुसन्धानले एक डोज नै उत्तिकै प्रभावकारी भएको पुष्टि भएपछि विश्व स्वास्थ्य संगठनको सुझाव र राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा खोपको डोज घटाउने निर्णय गरिएको हो,’ खोप शाखा प्रमुख डा. गौतमले स्पष्ट पारे ।

विषय विज्ञको रुपमा आमन्त्रित क्यान्सर रोग विशेषज्ञ डा. घिमिरेले पनि दुई डोजको काम एक डोजले नै गर्ने भएपछि थप खोप लगाउनु पर्ने आवश्यकता नरहेको बताईन् । ‘खोप लगाएपछि जो एन्टीबडी बन्नु पर्ने हो । त्यो एक डोज लगाए पनि दुई डोज लगाए पनि फरक नपर्ने देखियो । त्यसले गर्दा एक डोज नै काफी छ,’ उनले भनिन् ।

डब्लुएचओले समेत भर्खरै सुझाव दिएको भन्दै अहिले विश्वका ६१ वटा देशहरु एचपीभीको एक डोज खोप लगाउने नीतिमा अघि सरेको समेत जानकारी दिइयो ।कार्यक्रममा यसअघि खोप लिइसकेका किशोरीहरुलाई यो खोप आवश्यक नहुने भन्दै निजी रुपमा खरीद गरेर लगाएका वा सरकारले यसअघि गरेको डेमोस्ट्रेसनमा सहभागी भएकाहरुलाई थप खोप आवश्यक नपर्ने जानकारी दिइयो ।

यसपटकको अभियानमा पनि गतवर्ष डेमोस्ट्रेसनमा प्रयोग गरिएको चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्राण्डको एचपीभी खोप प्रयोग हुँदैछ । यो अभियानमा कक्षा ६ देखि १० सम्मका छात्राहरु सहित विद्यालय नजाने भए १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरु समेत गरी कुल १६ लाख ८८ हजार ७६८ जनाले खोप पाउने छन् ।

यसपटकको एचपीभी खोप अभियानमा १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ जना किशोरीले निशुल्क खोप पाउने छन् । यो खोप अभियान १५ दिन (२२ माघ देखि ६ फागुन) सम्म चल्ने छ । त्यसका लागि गाभीबाट कुल १७ लाख ७० हजार २० भाइल खोप आउने छ ।

कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितले अभियानलाई सफल बनाउन सञ्चारमाध्यमको ठूलो भूमिका हुने भन्दै सहि सूचना र अभियानलाई प्रोत्साहित गर्ने सामग्री सहित प्रस्तुत हुन सञ्चारकर्मीसंग आग्रह गरे । उनले अभियानका बेला सुनिन सक्ने अवान्चित घटनाका विषयमा तोकिएका स्वास्थ्य अधिकारीसँग बुझेर मात्रै समाचार लेख्न समेत अनुरोध गरे ।

कार्यक्रममा स्वास्थ्य पत्रकार रामप्रसाद न्यौपानेले स्वास्थ्य पत्रकारिताको महत्व र अभियानका बेलामा स्वास्थ्य पत्रकारहरुले चाल्नुपर्ने भूमिका बारेमा प्रस्तुति दिएका थिए । उनले जोखिम सञ्चार नीतिबारेमा समेत बताएका थिए ।

यस्तै कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुंगेलले खोप सम्वन्धी अभिमुखी करणले सञ्चारकर्मीहरुलाई थप ज्ञान र जिम्मेवारी बोध भएको भन्दै भविश्यमा पनि यस्ता कार्यक्रम गर्नुपर्ने धारणा व्यक्त गरे ।

सम्बन्धित शिर्षक :