नेपालगन्ज शिक्षण अस्पतालको नाम फेरियो, कर्मचारीको आन्दोलन जारी

नेपालगञ्ज/नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगन्जको नाम फेरिएको छ। झण्डै तीन दशकदेखि लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड अन्तर्गत बाँकेको चिसापानी, कोहलपुर र नेपालगन्जमा नेपालगन्ज मेडिकल कलेज सञ्चालनमा रहेको थियो।

कलेजले नेपालगन्ज र कोहलपुरमा शिक्षण अस्पताल समेत सञ्चालनमा ल्याएको थियो। कलेजमा नयाँ ब्यवस्थापन फेरिएको करिव ८ महिनापछि शिक्षण अस्पताल नेपालगन्जको नाम फेरिएको हो।

नयाँ व्यवस्थापनले नाम परिवर्तन गरेर ‘संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रा.लि.’ कायम गरेको छ। नेपालगन्जमा सञ्चालित उक्त अस्पतालको मुख्य गेटमा साइन बोर्ड समेत झुण्ड्याइएको छ।

अस्पतालको गेटमा सोमबारदेखि नयाँ साइन बोर्ड राखिएको हो। साविक मेडिकल कलेजका कर्मचारीहरु तलब बृद्धि लगायत विभिन्न माग राखेर अहिले आन्दोलनमा छन। अस्पताल व्यवस्थापनले कर्मचारीको आन्दोलनका बीच ८ सय भन्दा बढी कर्मचारीको आवेदन मागेको छ। कर्मचारी र कलेज ब्यवस्थापन बीचको विवाद अदालतसम्म पुगेको छ। आन्दोलनका नाममा अत्यावश्यक सेवा बन्द गरिएको भन्दै ब्यवस्थापन पक्ष अदालतमा पुगेको हो।

तत्कालिन प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडियाले जिम्मेवारी छाडेर सञ्चालक सदस्यमा बसेपछि विगत ८ महिनायता खुमा प्रसाद अर्यालले नेतृत्व गरिरहेका छन्। साविक नेपालगन्ज मेडिकल कलेज र हालको ‘संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रा.लि.का एचआर प्रमुख श्यामकुमार शर्माले अस्पतालको नाम गत साउनमा नै परिवर्तन भएर आएपनि अहिले मात्र साइनबोर्ड लगाइएको बताए।

‘अस्पतालको नाम परिवर्तन पहिल्यै भएको हो, अहिले आन्दोलन भएपछि फेरिएको होईन,’ उनले भने। अस्पताललाई ‘संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रा.लि.ले जिम्मा लिइसकेको शर्माले बताए।

यता आन्दोलनरत कर्मचारीले भने कर्मचारीको आन्दोलनलाई दबाउने उद्देश्यले एकैपटक ठुलो संख्यामा कर्मचारी माग गरिएको र संस्थाको नाम पनि परिवर्तन गरिएको दाबी गरेका छन्। लर्डबुद्ध एजुकेशनल एकेडेमी अन्तर्गत बाँकेको चिसापानी र कोहलपुरमा मात्र अब नेपालगन्ज मेडिकल कलेज रहने बताइएको छ।

आन्दोलन परिचालन कमिटीका संयोजक रत्ना गिरीले ट्रेड युनियन अन्तर्गत श्रम ऐनलाई टेकेर गरिएको आन्दोलनलाई निरुत्साहित गर्नका लागि ब्यवस्थापन पक्षले एकै पटक कर्मचारी भर्ना गर्न खोजेको र अस्पतालको नाम परिवर्तन गरेको बताइन्।

‘यसमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ, नेपालगन्ज मेडिकल कलेजको अस्तित्व मेटाउन पाईदैन,’ पत्रकार सम्मेलनमा उनले भनिन्। साविक मेडिकल कलेजमा करिव १५ सय कर्मचारी कार्यरत रहेको बताइएको छ। आन्दोलनरत कर्मचारीले इमर्जेन्सीबाहेक सबै सेवा बन्द गराएको ब्यवस्थापनको जिकिर छ। तर, कर्मचारीले भने आन्दोलनसँगै काम गरिरहेको र अत्यावश्यक सेवामा कुनै अवरोध नपुर्‍याएको बताएका छन्।

सम्बन्धित शिर्षक :