तिलोत्तमामा फागुन १ देखि दादुरा–रुबेला खोप अभियान

स्वास्थ्यसमाचार तिलोत्तमा नगरपालिकामा आउँदो फागुन १ देखि दादुरा–रुबेला खोप अभियान सुरु हुँदैछ ।अभियानको सन्दर्भमा सोमबार नगरपालिकामा आयोजित जनप्रतिनिधि र स्वास्थ्य शाखाका ईञ्चार्जबीचको अभिमुखीकरण कार्यक्रममा यो जानकारी गराइएको हो ।

जनस्वास्थ्य कार्यालयले तय गरेको समय तालिका अनुसार फागुन १ देखि ९ गतेसम्म तिलोत्तमा सहित बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, रोहिणी गाउँपालिका र ओमसतिया गाउँपालिकामा यो अभियान सञ्चालन हुनेछ ।

यस्तै फागुन १३ देखि १७ गतेसम्म चल्ने दोस्रो चरणको अभियान सिद्धार्थनगर नगरपालिकामा कार्यान्वयन हुने कार्यालयका खोप अधिकृत भेषराज शर्माले जानकारी दिए । यसपछि जिल्लाका बाँकी ८ स्थानीय तहमा तेस्रो चरणमा खोप अभियान चलाउने कार्यालयको तयारी छ ।

साविकका खोप केन्द्र तथा अभियानका लागि थपिने विशेष खोप केन्द्रबाट स्वास्थ्यकर्मीले ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई यो खोप लगाउने छन् ।

यो खोपसँगै जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई पोलियो थोपा समेत खुवाइने तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मोतीप्रसाद पौडेलले जानकारी दिए । कोही नछुटुन् भन्ने उद्देश्यले खोप लगाएका बालबालिकाको हातमा चिन्ह समेत लगाइनेछ ।

यसअघि नियमित खोप लगाएका वा छुटेका सबै बालबालिकालाई यो खोप लगाइने सिनियर अहेव अधिकृत गणेश गौतमले जानकारी दिए । नेपालबाट सन् २०२३ सम्म दादुरा–रुबेला रोग निवारण गर्ने लक्ष्यका साथ राष्ट्रव्यापी रुपमा यो अभियान सञ्चालन हुँदैछ । बच्चा जन्मिएको ९ र १५ महिनापछि यो खोप लगाउनुपर्छ । नेपालमा २१ प्रतिशत बालबालिकाले पूर्ण खोप नलगाएको सरकारी तथ्यांक छ भने एक प्रतिशत बालबालिका पूर्णतः खोपबाट वञ्चित छन् ।

अभिमुखीकरण कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरुले टोल टोलमा अभियानको बारेमा सूचना पुर्याई लक्षित बालबालिकालाई खोप लगाउने प्रतिबद्धता जनाएका छन् । उनीहरुले यो अभियानमा सघाउन विद्यालय, विभिन्न सामाजिक संघ संस्थालगायत सबै नगरबासीलाई आग्रह गरे ।

कार्यक्रममा तिलोत्तमा नगरपालिका उप–प्रमुख जागेश्वरी चौधरीले यो अभियानमा लक्षित समूहका सबै बालबालिकालाई समेट्न स्वास्थ्यकर्मी, जनप्रतिनिधि, स्वास्थ्य स्वयम्सेविका, सरोकारवाला सबै आ–आफ्नो ठाउँबाट खटिने बताइन् ।स्वास्थ्य मन्त्रालयले ‘पूर्ण खोप ः सुरक्षित भविष्य’ भन्ने नारासहित यो अभियान सञ्चालन गर्न लागेको हो ।

सम्बन्धित शिर्षक :