रुकुमपूर्वमा स्वास्थ्य बीमामा नागरिकको आकर्षण बढ्दै

स्वास्थ्यसमाचार/ जिल्लामा स्वास्थ्य बिमा प्रति नागरिक आकर्षण बढ्दै गएको छ । उपचारमा आफूले पैसा तिर्नुनपर्ने भएपछि पछिल्लो समय नागरिक स्वास्थ्य बिमा प्रति आकर्षित हुँदै गएका हुन् ।

स्वास्थ्य बिमा नहुँदा औषधी उपचारका लागि पैसा तिरिरहनुपर्छ । तर स्वास्थ्य बिमा गरेपछि बिमा गर्दा मात्र पैसा लाग्ने गर्दछ । त्यस पछि एक लाख रुपियाँ बराबरको औषधी, उपाचार गर्न पाउने भएपछि नागरिक स्वास्थ्य बिमा गर्नेको सङ्ख्या थपिँदै गएको हो ।

सुरु सुरुमा स्वास्थ्य बिमा बनाउन मन नगर्नेहरू पछिल्लो समय आफूले पनि बिमा गर्ने र अरूलाई पनि बिमा गराउन सुझाव दिइरहेका छन् । २०७४ देखि जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू भएको थियो  । त्यसदेखि यता १० हजार दुई सय ७९ जनाले स्वास्थ्य बिमा गराएका छन् । जसमा महिला पाँच हजार पाँच सय २७ जना छन् भने पुरुष चार हजार सात सय ५२ जना रहेका छन् ।

वर्षपिच्छे स्वास्थ्य बिमा गर्नेको सङ्ख्या बढ्दै गएको स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालयका दर्ता अधिकारी सपना पुनले बताउनुभयो । भूमे गाउँपालिकामा चार हजार पाँच सय २८ जना, सिस्ने गाउँपालिकामा तीन हजार ६८ जना र पुथाउत्तरगङ्गा गाउँपालिकामा दुई हजार ६ सय ८३ जनाले स्वास्थ्य बिमा गरेको दर्ता अधिकारी पुनले जानकारी दिनुभयो । यो सङ्ख्यालाई अझै बढाउने गरी स्थानीय तहसँगै र विभिन्न सरोकारवालाहरूसँग निरन्तर छलफल र समन्वय भइरहेको पुनको भनाइ छ ।

बिमा गर्दा र अर्को वर्ष नवीकरण गर्दा पाँच जनाको परिवार सङ्ख्या भएको घरपरिवारले तीन हजार पाँच सय रुपियाँ तिर्नुपर्छ  भने पाँच जनाभन्दा बढी सदस्य भएको परिवारले प्रतिसदस्यले सात सय रुपियाँ थपेर बिमा गर्नुपर्ने प्रावधान छ । पाँच सदस्यीय घरपरिवार भएकाले वर्षभरी एक लाख रुपियाँ बराबरको औषधी, उपाचारको सुविधा पाउने गरेको पुनले बताउनुभयो ।

यसैगरी, पाँच जनाभन्दा बढि सदस्य भएका घरपरिवारले प्रति सदस्य बराबरको २० हजार रुपियाँ थप सुविधा पाउने गरेको पुनले जानकारी दिनुभयो । साथै ‘क’ वर्गको अपाङ्ग, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, कुष्ठरोगी, क्षयरोग, एचआइभी सङ्क्रमित बिरामी लगायतले भने निःशुल्क स्वास्थ्य बिमा गर्ने प्रावधान रहेको समेत पुनले बताउनुभयो ।

त्यस्तै, महिला स्वास्थ्य स्वयमसेविका र निजका परिवारलाई बिमा शुल्कको आधा छुट व्यवस्था छ । सस्तोमै औषधी, उपाचार र सरकारले तोकेको लक्षित वर्गलाई निःशुल्क बिमा गरिदिने व्यवस्था थाहा पाउन थालेपछि स्वास्थ्य बिमा गर्नहरू बढि रहेको दर्ता अधिकृत पुनले बताउनुभयो ।

साथै जिल्ला स्थित स्थानीय सरकारले पनि स्वास्थ्य बिमा कार्यक्रमलाई सहयोग गर्दै आएका छन् । भूमे र पुथाउत्तरगङ्गा गाउँपालिकाले सहिद परिवार, घाइते, अपाङ्ग, दीर्घरोगी, विपन्न परिवारलाई स्वास्थ्य बिमा गर्दिराखेको छ । जिल्लामा रुकुमपूर्व अस्पताल रुकुमपूर्वबाट बिमा गरेकाले सेवा लिइरहेका छन् ।

सम्बन्धित शिर्षक :