प्राणघातक रोग क्यान्सरलाई जितेका लुम्बिनीका मुख्यमन्त्री आचार्य

स्वास्थ्यसमाचार/क्यान्सर जस्तो प्राणघातक रोग जितेका व्यक्ति लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्ती भएका छन् ।अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १(क)बाट निर्वाचित चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

दृढ अठोट र आफूमा आत्मविश्वास हुने हो भने जस्तोसुकै रोग पनि जित्न सकिन्छ भन्ने एक पत्रका रूपमा परिचित बनेका आचार्यलाई २०७२ सालमा प्राणघातक रोग क्यान्सरले उनलाई थला पारेको थियो ।

जीवन–मरणकै स्थितिमा उनी उपचारका लागि भक्तपुर क्यान्सर र केएमसी अस्पतालमा भर्ना भए। नेपालमा उपचार सम्भव नभएपछि भारतको मेदान्त हस्पिटलमा भर्ना भए । केही निको भएपछि उनी रजहरको प्राकृतिक चिकित्सालयमा समेत करिब ३ महिना उपचार गराए ।

लामो समय रोगले च्याप्दा उनी फेरि पुरानै अवस्थामा आउँछन् कि आउँदैनन् भन्ने उनका घरपरिवार तथा शुभचिन्तकमा संशय थियो। लामो उपचारमा समय व्यतित गरेका आचार्य क्यान्सर जस्तो भयानक रोगलाई पराजित गर्दै पुनः राजनीतिमा सक्रिय रूपमा काम गर्न थाले।

यसअघि लुम्बिनी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री, सहरी विकास तथा खानेपानीमन्त्री र आर्थिक मामिला तथा योजनामन्त्री बनिसकेका छन्। बुवा टिकाराम आचार्य र माता तारादेवी आचार्यको कोखबाट २०२५ साल जेठ २२ गते साविक अर्घा गाविस–३ हालको सन्धिखर्क नगरपालिका वडा नम्बर ९ अर्घाको अधेरीमा माइलो छोराका रूपमा उनको जन्म भएको थियो।

विसं. २०३९ सालमा अनेरास्ववियुमा आबद्ध भएपछि उनको औपचारिक राजनीतिक यात्रा सुरु भएको हो । कानुन विषयमा स्नातक उत्तीर्ण गरेका उनी बाल्यकालदेखि नै वाककलामा अब्बल मानिन्थे । उनका पिता टीकाराम आचार्य अर्घाखाँची जिल्लाको कम्युनिस्ट पार्टीको संस्थापक नै भएकाले उनी बुवा एवं परिवारको प्रभावबाट राजनीतिमा आबद्ध भए ।

२०४७ सालमा नेकपा एमालेको जिल्ला कमिटी सदस्य पदमा निर्वाचित भएका उनी २०५४ सालमा एमाले अर्घाखाँचीको सचिव पदमा बहाल भए । लामो समय सचिव रहेर पार्टीमा काम गरेका आचार्य २०६९ देखि २०७८ सम्म जिल्ला कमिटीको अध्यक्ष भएर काम गरेका थिए ।२०६४ को संविधानसभा निर्वाचनमा अर्घाखाँची क्षेत्र नम्बर १बाट उम्मेदवार बनेका उनी माओवादीका टोपबहादुर रायमाझीसँग पराजित भएका थिए ।

देशमा संघीय प्रणालीअनुसार भएको २०७४ सालको प्रदेशसभा निर्वाचनमा उनी अर्घाखाँची क्षेत्र नम्बर १ (क)बाट निर्वाचित भए। २०७९ को निर्वाचनमा अर्घाखाँची क्षेत्र नम्बर १ (क)बाटै राष्ट्रिय जनमोर्चाका उम्मेदवार सागर केसीलाई ७४० मतान्तरले पराजित गर्दै उनी दोस्रो पटक विजयी भएका थिए । २०७८ सालमा सम्पन्न पार्टीको दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित आचार्य अर्घाखाँची जिल्लाको सहइन्चार्जको जिम्मेवारीमा रहेका थिए ।

सम्बन्धित शिर्षक :