पाल्पा डेंगुको जोखिममा :सतर्कता अपनाउन स्वास्थ्य कार्यलयको आग्रह

स्वास्थ्यसमाचार/ स्वास्थ्य कार्यालय पाल्पाले जिल्ला डेंगुको जोखिममा रहेकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । वर्षायाम सुरु भएसँगै संक्रमण ह्वात्तै बढेको भन्दै कार्यालयले सतर्कता अपनाउन सबैमा आग्रह गरेको हो ।

स्वास्थ्य कार्यालयले पाल्पा डेंगुको जोखिममा रहेकाले त्यसको नियन्त्रण र रोकथामका लागि जनस्तरमा सचेतना फैलाउन सरोकारवाला निकायसँग छलफल समेत गरेको छ । उसले तानसेन नगरपालिकाको समन्वयमा डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्न सरोकारवालासँग पैरवी तथा अन्तरक्रिया कार्यक्रम गरी जनस्तरमा सचेतनाका कार्यक्रम गर्न सबैलाई लाग्नुु पर्ने बताएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्र गिरीले डेंगुको पहिचान र उपचारमा कमी हुन नदिन आफुहरु लागिपरेको बताए । उनले स्वास्थ्य कार्यालय एक्लैले डेंगु नियन्त्रण गर्न नसक्ने भएकाले सबैले आ–आफ्नो ठाउँबाट सतर्कता अपनाउन आवश्यक रहेको उल्लेख गरे ।
डा. गिरीले डेंगुको प्रकोपलाई ध्यानमा राख्दै कार्यालयले प्रति कार्य योजना बनाएर काम गरिरहेको र गत वर्ष जस्तै डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा ‘खोज र नष्ट गर’ अभियानलाई निरन्तरता दिदै जाने बताए ।

जिल्लामा २०२३/०२४ मा ७ जनाको डेंगु संक्रमणबाट मृत्यु भएको छ भने २४ जनावर २०२४ देखि ११ जुन सम्म २५ जना संक्रमित देखिएको उनले जानकारी दिए ।बर्षायाममा सुरु भएसँगै पानी पर्न थालेपछि संक्रमण बढ्दै गएको डा. गिरीको भनाई छ । उनले भने, ‘निरन्तरको वर्षा र पानीले संक्रमण अझै बढ्ने जोखिम छ ।’ पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पर्दछ ।

ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगु रोग लाग्ने डा. गिरीले बताए । पानी परेपछि पानी जम्ने सक्ने भाँडाकुँडा, प्लास्टिकका बोतल, गमला, गाडीका टायरलगायत अन्य पानी जम्मा हुने स्थानमा पानी जम्ने भएकोले यसको जोखिम कायमै रहेको उनको भनाई छ ।

डा.गिरीले भने‘लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्नुपर्ने, सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढंगले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न दिनुहुुँदैन ।’

जिल्लामा डेंगुको प्रकोप बढ्दै गएकाले यसको जोखिम नियन्त्रण गर्न सबैको साझा दायित्व रहेको समेत उनले बताए । उनले सबैले आ–आफ्नो घर, टोल, समाज, कार्यालय लगायतका स्थानमा त्यहाँ वरिपरिको सरसफाइ गर्नु तथा पानी जम्न नदिनु नै डेंगु नियन्त्रणको उपाय रहेको उल्लेख गरे । डेंगु रोगका बिरामीमा उच्च ज्वरो आउनु, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जीउ तथा जोर्नी दुख्ने लगायतका लक्षण देखिने डा. गिरीको भनाई छ ।

यस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा उपचार गराउन समेत उनको सुझाव छ । डेंगु लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको किटजन्य सरुवा रोग भएको र यो एडिस एजप्टाई÷एलबोपिक्टस जातको संक्रमित लामखुट्टेको टोकाइबाट मात्रै यो रोग सर्ने डा. गिरीले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाकी उपप्रमुख काशिका गैरे, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले पाल्पा तराई जिल्लाबाट नजिक रहेकाले पनि डेंगुको उच्च जोखिम रहेको भन्दै टोल, टोल र वडा वडामा सचेतनाका कार्यक्रमहरु पु¥याउनु पर्ने बताए । उनीहरुले स्वास्थ्य कार्यालयले सर्ने, नसर्ने रोग नियन्त्रणका क्षेत्रमा विगतदेखि नै प्रभावकारी काम गर्दै आएको उल्लेख गर्दै डेंगु नियन्त्रणमा स्थानीय सरकारसँग समन्वय गरेर सचेतनाका कार्यक्रमलाई तदारुकताका साथ अगाडि बढाउन सुझाव दिए ।

कार्यक्रममा पाल्पा अस्पतालका डा. अर्जुन शर्मा, लुम्बिनी मेडिकल कलेज प्रभासकी डा. समता नेपालले संक्रमणको अवस्था बढ्दो रहेकाले पूर्व तयारीका कार्यक्रमहरु गर्न जरुरी रहेको बताए । उनीहरुले आफुहरुको अस्पतालमा सिमित मात्रमा किटहरु रहेकाले संक्रमणका घटनाहरु हुनै नदिन नागरिक स्तरमै सचेतना जगाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा तानसेन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झबिन्द्र न्यौपाने,सामुदायिक स्वास्थ्य स्यवसेवीका तुम्ला बज्राचार्य, पत्रकार रामचन्द्र नेपाल लगायतले सबैले आफ्नो ठाउँबाट सतर्कता अपनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा तानसेनका अस्पतालका डाक्टर, स्वास्थ्यकर्मी, महिला स्वयम सेवीका, पत्रकार, रेडक्रसकर्मी लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्र गिरीको अध्यक्षता, स्वास्थ्य अधिकृत लेखनाथ अर्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

सम्बन्धित शिर्षक :