मानिस र वातावरणबीच अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । जन्मनासाथ मानिस वातावारणमा प्रवेश गरिसकेको हुन्छ र जीवनभर वातावरणमा रहन्छ । मानिसले अनुकुल वातावरणमा आफ्नो वृद्धि, विकास र उन्नतिको अवसर प्राप्त गर्दछ र मृत्यु भएपछी पनि यही वातावरणमा विलिन हुन्छ । स्वस्थ वातावरणले मानिसको स्वास्थ्यलाई सकारात्मक प्रभाव पार्दछ भने अस्वस्थकर वातावरणले मानिसमा विभिन्न खाले रोगहरु लाग्ने गर्दछ । प्राचिनकालमा वातावरणीय सरसफाइलाइ आरोग्यशास्त्र भन्ने गरिन्थ्यो ।
समयक्रम संगै यसलाई अरु बिज्ञानहरुलाई जस्तै एउटा महत्वपूर्ण बिज्ञान अथार्त वातावरणीय बिज्ञान भनी नामाकरण गरिएको छ | मानिसको स्वास्थ्यसँग सम्बन्ध राख्ने यसको पक्षलाई वातावरणीय स्वास्थ्य भनिन्छ । वातावरणीय स्वास्थ्य भन्नाले मानिस, जीवजन्तु तथा वनस्पति जगतलाई सकारात्मक प्रभाव पार्ने वातावरणको अवस्थालाई जनाउदछ ।
वातावरणलाइ भौतिक, जैविक र सामाजिक वातावरणमा विभाजन गरेर अध्ययन गर्ने गरिन्छ र यही तत्वहरुको सकारात्मक सन्तुलन नभएको अवस्थालाई वातावरण प्रदुषण भनिन्छ । वातावरण प्रदुषण हुनमा मुख्यरुपमा मानवीय क्रियाकलापहरु र प्राकृतिक परिवर्तनको भूमिका रहने हुन्छ ।वातावरणले मानिसको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राखेको हुन्छ | वातावरणीय प्रदुषण कम गरेर मानिसको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न वातावरणीय सरसफाईको कार्य गर्नुपर्दछ ।
वातावरण
मानिसको वरिपरी रहेका पृथ्वीको बाहिरी भागका सम्पूर्ण जीवित, निर्जीव र सामाजिक तत्वहरुको एकमुष्ठ समुह र यिनीहरुबिचका सकारात्मक तथा नकारात्मक प्रकृयाहरुको चक्रलाई वातावरण भनिन्छ ।परम्परागत रुपमा वातावरणको परिभाषाभन्दा हावा, पानी र माटोलाइ मात्र बुझ्ने गरिन्थ्यो भने हाल आएर वातावरणको परिभाषाभित्र हावा, पानी र माटोको अतिरिक्त सामाजिक र आर्थिक अवस्थालाई समेत समेटने गरिएको पाईन्छ ।
वातावरणको प्रकार
मानिसको स्वास्थ्यलाई वातावरणले प्रत्यक्ष प्रभाव पारेको हुन्छ । मानिसमा देखा पर्ने रोगहरु र बिरामीपन फोहोर वातावरणसँग सम्बन्धित रहेको हुन्छ | वातावरणमा मुख्य गरेर भित्री र बाहिरी गरी दुईवटा तत्वहरु रहेका हुन्छन ।भित्री वातावरणीय तत्वअन्तर्गत मनिसको शरीरभित्रका संरचनाहरु (कोष,तन्तु,अंग) पर्दछन भने बाहिरी वातावरणलाई भौतिक, जैविक र सामाजिक वातावरण गरी ३ भागमा ब्याख्या गरिएको छ ।
भौतिक वातावरण
मानिसको स्वास्थ्य, बिकास र रहन-सहन, बस्नका लागी बासस्थानजस्ता जीवनसँग प्रत्यक्ष सरोकार राख्ने भौतिक तत्वहरु जस्तै : हावा, पानी, माटो, घर, खाना, लुगा, आवाज, पेशा,फोहोर वस्तु, विकिरण आदिसँग सम्बन्धित क्षेत्र भौतिक वातावरणभित्र पर्दछन ।
जैविक वातावरण
मानिसको प्रत्यक्ष सम्पर्कमा आउने अन्य प्राणीहरु जस्तै : सुक्ष्म किटाणुहरु, विषाणु, परजीबी,किरा-फटयांग्रा, मुसा, जनावर, बोटबिरुवा तथा पौष्टिक आहारका श्रोतहरुसँग प्रत्यक्ष वा परोक्ष रुपमा सम्बन्धित हुने वा सरोकार राख्ने प्राणीहरु जैविक वातावरणका उदाहरणहरु हुन ।
सामाजिक वातावरण
समाजमा रहेका विभिन्न सामाजिक सास्कृतिक बिशेषता र तिनीहरुको अवस्था जस्तै धर्म, बिश्वास, धारणा, बानी व्यहोरा,चलन, सस्कृति, मान्यता, रितिरिवाज, परम्परा, आर्थिक अवस्था, रहनसहन, पेशा र जीवनस्तर आदिसँग प्रत्यक्ष सरोकार राख्ने वातावरण सामाजिक वातावरण हो।
वातावरणीय सरसफाई
मानिसको वरिपरीका भौतिक वातावरणमा भएका त्यस्ता सबै तत्वहरु, जसले स्वास्थ्य र जीवनको अर्थमा मान्छेको शारीरिक बिकासमा हानिकारक प्रभाव पारेका छन् वा पार्न सक्ने सम्भावना छ भने तिनीहरुको नियन्त्रणलाई नै वातावरणीय सरसफाई भनिन्छ । सरसफाई मानिसको जीवनको त्यस्तो सभ्यता हो, जुन सफा घर, सफा ठाउँ, सफा व्यवसाय, सफा छिमेकी र सफा समुदायमा प्रस्ट देखिएको हुन्छ । यो जीवनको बाटोमा मानिसबाटै अङ्गीकार गरी मानिसद्वारा नै राम्रो रुपमा वा नराम्रो रुपमा संचालित हुन्छ । पुरानो दृष्टिकोणमा सरसफाई भनेको मान्छेको दिसालाई उपयुक्त तरिकाले बिसर्जन गर्नु हो भन्ने कुरा मात्र बुझ्ने गरिन्थ्यो ।
तर हालका दिनहरुमा सरसफाईलाइ नयाँ दृष्टिकोणबाट बुझ्ने गरिएको छ | यसले वातावरणको सम्पूर्ण पक्षहरुलाई ओगटेको छ। जस्तै : वातावरणमा रहेका हावा, पानी, खाना, घर, लुगा, जसले रोगहरुको रोकथाम र स्वास्थ्य प्रवर्धनमा प्रत्यक्ष भूमिका खेलिरहेको हुन्छन ।
वातावरणीय सरसफाईको क्षेत्र
- व्यक्तिगत सरसफाइको ज्ञान,
- वातावरणीय सरसफाईको ज्ञान
- फोहोरमैलाको व्यवस्थित बिसर्जन,
- सफा खानेपानीको वितरण,
- सन्तुलित सफा खानेकुराको व्यवस्था,
- स्वास्थ्यकर वातावरणको निर्माण,
- सुरक्षित आवासको निर्माण,
- सफासुग्घर लुगाको व्यवस्था,
- ओजन तहको सुरक्षा,
- किटाणु-परजीबीहरुको रोकथाम,
- व्यवस्थित सहरीकरण,
- वायु प्रदुषणको रोकथाम,
- हरितगृह ग्यासबाट हुने असरको रोकथाम,
- रोग फैलाउने किरा-फटयांग्रा, मुसा, जनावर आदिको रोकथाम,
- आवास वरिपरी खुला स्वास्थ्यकर वातावरण,
- पारिस्थितिक असन्तुलनको रोकथाम,
- दिसा-पिसाबका लागि सुरक्षित चर्पीको व्यवस्था,
- पेसागत सुरक्षाका लागी व्यवसायिक तथा औधोगिक स्वास्थ्य,
वातावरणीय सरसफाइको महत्व
मानिसको सुधारिएको स्वास्थ्य भन्नु नै राम्रो सरसफाइको परिणति हो । यदि वातावरणीय सरसफाई राम्रो कायम हुन्छ भने मानिसको जीवनस्तर (स्वास्थ्य स्थिति) निकै माथि उठेको हुन्छ । मानिसको सरसफाईको महत्व बुँदागत रुपमा यस प्रकार रहेको छ ।
- मानिस, जन्तु, वनस्पति र वातावरणबिचको सम्बन्धबारे ज्ञान दिन्छ,
- मानिस, रोग ल्याउने तत्व र वातावरण बिचको सम्बन्धलाई प्रस्ट पार्दछ,
- विभिन्न क्षेत्रमा हुने प्रदुषणहरु जस्तै : हावा, पानी, ध्वनी, माटो, विकिरण आदिबाट मानिसको स्वास्थ्यमा पर्ने खराब असरहरुका बारेमा अध्ययन गराउछ,
- व्यवसायजन्य अथवा पेसागत स्वास्थ्य समस्याहरु र तिनीहरुको रोकथामको बारेमा सिकाउछ,
- खानेकुरामा हुनसक्ने फोहोरमैला, मिसावट र यसबाट उत्पन्न हुन सक्ने स्वास्थ्य समस्या र रोगहरुको बारेमा ज्ञान दिई त्यसबाट बच्न सक्ने उपायहरुको बारेमा सचेत गराउछ,
- राम्रो स्वास्थ्य कायम गराई केटाकेटीहरुको मृत्युदर र बिरामीदर घटाउछ,
- श्रमको प्रर्याप्तता र उत्पादनशीलतामा सुधार ल्याउछ, फलत: कृषी र औधोगिक बिकासतर्फ अग्रसर गराउछ,
- बिकासका कार्यक्रमहरुको सफलताका लागि आवश्यक पुर्वाधारहरु उपलब्ध गराउछ,
- विभिन्न सरुवा रोगहरु लाग्नबाट बचाउछ,
- कुपोषण लाग्नबाट जोगाउछ,
- मानसिक र शारीरिक दुर्बलता हुनबाट जोगाउछ,
- शिक्षामा उन्नति गराउछ,
- मानिसहरुको जीवनलाई खुसी र सुखी हुन मद्दत गर्दछ,
- स्रोत शक्तिहरुको नाश हुनबाट जोगाउछ,
- पर्यटन उधोगको बिकास गर्न मद्दत गर्दछ,
- महिला सशक्तिकरण गर्ने कार्यलाई बढाउछ,
- देशको जनताको सरदर आयुको परिसुचकलाई बढाउछ ।
सरसफ़ाइको कमीका कारण देशको अर्थ-व्यवस्थामा प्रभाव
क)श्रमको प्रर्याप्ततामा कमी
यदि सरसफाइ राम्रो नभएमा यसले देशको अर्थ-व्यवस्थामा नराम्रो प्रभाव पारेको हुन्छ | स्वस्थकर जनशक्तिको अभाव हुन गई श्रम गर्नसक्ने कामदारहरुको पर्याप्ततामा कमी आउँछ । सरसफाइको स्थिति राम्रो हुदा मानिसको आयु पनि बढछ, जसले गर्दा श्रमको प्रर्याप्तता पनि बढ्दै जान्छ ।
ख) क्षीण उत्पादनशीलता
सरसफ़ाइको अभावको कारण अर्थव्यवस्थामा क्षीण उत्पादनशीलताले प्रत्यक्ष असर पार्दछ । कुनै पनि अवस्थामा कार्यरत जनसंख्या कुनै न कुनै किसिमको सरुवा रोगबाट ग्रसित छन भने उत्पादनशीलता घटछ । नेपालको अधिकांश जनसंख्या कृषि पेसामा आश्रित रहेको छन । उनीहरुको जीवनस्तर उकास्न वातावरणीय सरसफाइको स्तरमा सुधार गरी स्वास्थ्यस्थिति र उत्पादनशीलतामा सुधार ल्याउन सकिन्छ ।
ग)स्रोत शक्तिको नास
जब मानिसहरु परजीवीबाट संक्रामक र झाडापखालाका रोगहरुबाट पीडित हुन्छन तब बहुमुल्य पौष्टिक तत्वहरुको नाश हुने गर्दछ | जसको कारण शरीरभित्र थप शक्तिको माग बढ्न जान्छ र औषधी उपचारको साथै पौष्टिक तत्वको पूर्तिको लागी राज्यले धेरै रकम खर्च गर्नु पर्ने हुन्छ र राष्ट्रको अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्दछ ।
घ)पर्यटन
नेपालमा पर्यटन उधोगलाई बिशेष महत्व दिइएको छ ।सरसफाइको राम्रो अवस्था नभएमा पर्यटनहरुमा नराम्रो सन्देश जाने र पर्यटन भ्रमणमा कमी आउन सक्ने हुन्छ । देशब्यापीरुपमा वातावरणीय सरसफाइको अवस्थामा सुधार गर्नाले पर्यटन उधोगलाई प्रत्यक्ष फाइदा पुर्याउछ | यसले पर्यटकहरुको भ्रमण गर्ने क्रम बढाउछ र पर्यटकीय आम्दानीलाई सन्तुलित रुपमा वितरण गर्न-गराउन मद्दत पुर्याउछ ।
वातावरणजन्य मुख्य समस्या
हाल नेपाल लगायत विश्वको बातावरणीय समस्याको कारणको रुपमा कार्वनडाइअक्साइडको उत्सर्जन रहेको छ । जुन बिश्व तापमान वृद्धिको कारण पनि हो । कार्वनडाइअक्साइड लगायतका ग्यासहरूको असरबाट जति तापशक्ति पृथ्वीमा आएको छ त्यति फर्कन नपाउदा तापको संचय हुन जान्छ । यही तापक्रमको मात्रा वृद्धि हुदै जादा पृथ्वीमा तापक्रमको वृद्धिको बिशेष प्रभाव हुने परिस्थितिको सिर्जना हुन पुग्छ त्यसलाई हरितगृह प्रभाव भनिन्छ । जसको प्रभावले जलबायु परिवर्तन गराउने गर्दछ ।
कार्वनडाइअक्साइडका स्रोतहरु
- प्राणीहरुको श्वास-प्रश्वास क्रिया गर्दा
- जिवावशेष, फोहोर तथा प्लास्टिक जलाउदा
- खनिज तेल जस्तै: मट्टीतेल, डिजेल, पेट्रोल आदि जलाउदा (जस्तै: उधोग, वाहन, बाटो पिच गर्दा आदि)
- भट्टीहरु
- घरेलु स्तरमा परम्परागत रुपमा खाना पकाउदा वा दाउरा जलाउदा
- बनजंगल र खेतबारीमा डढेलो लाग्दा वा लगाउदा
हरितगृहको प्रभाव
- बिश्व तापक्रममा वृद्धि भई मरुभुमिकरणमा वृद्धि हुनु
- पृथ्वीको सतहमा तापमान वृद्धि हुन गई पहाडका टाकुरा तथा ग्रीनल्याण्डको हिउ पग्लनु
- आधिहुरी उत्पन्न हुन गई धनजनको क्षति हुनु
- मानबिय स्वास्थ्यमा नकारात्मक असर पुर्याउनु
- हिउ पैह्रो, बाढी जस्ता दैवी बिपत्ति देखापर्नु
- बोटबिरुवामा नकारात्मक असर पर्नु आदि
रोकथाम
- खनिज तेलको प्रयोगमा कमी ल्याउने
- कार्वनडाइअक्साइडको उत्पादनमा नियन्त्रण गर्ने
- बैकल्पिक उर्जाको प्रयोग गर्ने जस्तै: सौर्य उर्जा, गोवर ग्यास प्लान्ट आदि
- बृक्षारोपण गर्ने
- कोइला, पेट्रोल, मट्टीतेल, डिजेलबाट चल्ने उधोगलाई बिधुतिय भट्टीमा परिणत गर्ने
- इलेक्ट्रिक वाहनको प्रयोग गर्ने
- मरेका जीवजन्तुलाई उपयुक्त तरिकाबाट बिसर्जन गर्ने
- फोहोर तथा प्लास्टिक नजलाउने
- प्लास्टिक तथा प्लास्टिकजन्य सामाग्रीको प्रयोगमा कमी ल्याउने ।
यसरी समग्रमा भन्नुपर्दा मानिसको जीवनमा स्वास्थ्य नै धन हो। जनस्वास्थ्यको हिसाबले रोग लाग्नु भन्दा रोग लाग्नै नदिनु उत्तम उपाय भएको हुदा हामी आफ्नो वातावरणको बारेमा सचेत भई जिम्मेवारीपूर्ण नागरिकको भूमिका निभाउदै राष्ट्रलाई वातावरणीय सरसफाईमा आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्ने हुन्छ किनकी मानव बिकासको सुचकमा सरदर आयु, साक्षर दर र प्रतिव्यक्ति आयलाई हेरिने गरिन्छ ।
सरदर आयु स्वास्थ्यसँग सम्बन्धित हुन्छ । एउटा स्वस्थ मानिस पढाइमा चनाखो र तेजिलो हुने हुदा साक्षर दर पनि बढछ र बौद्धिक मानिसले बौद्धिक श्रम गर्न सक्ने र राम्रो आम्दानी गर्न सक्ने हुदा प्रति व्यक्ति आय पनि बढछ । यसरी वातावरणसँग स्वास्थ्य जोडिएको हुन्छ भने स्वास्थ्यसँग मानिसको जीवनस्तर जोडिएको हुन्छ । लेखक बुटबल उपमहानगरपालिका स्वास्थ्य शाखामा कार्यरत हुनुहन्छ।
प्रतिकया दिनुहोस्