स्वास्थ्य प्रणाली र उठाउनु पर्ने बिषयमा स्वास्थ्य पत्रकारहरुलाई प्रशिक्षण

स्वास्थ्यसमाचार/ संविधानको धारा ३५ मा नागरिकको स्वास्थ्य सम्वन्धी हकको विषय स्पष्टसँग उल्लेख गरिएको छ । तर, त्यहि हक कार्यान्वयनका लागि बनाइएका कतिपय नीतिगत व्यवस्थाको राम्ररी कार्यान्वयन हुन सकेको छैन ।

नीतिगत व्यवस्था मात्रै होइन नेपालले दीगो विकास लक्ष्य हासिलका लागि तय गरिएका स्वास्थ्य सम्वन्धी अन्तराष्ट्रिय प्रतिवद्धता जनाउँदै आएको छ । तर, त्यसरी गरिएका कतिपय प्रतिवद्धता हरु लक्ष्यमा पुग्न सकेका छैनन् ।

किन यस्तो भइरहेको छ ? अहिले अवस्था के छ ? यसका लागि मिडियाको भूमिका के हुन सक्छ ? विज्ञहरुले गत शुक्रबार र शनिबार स्वास्थ्य बिटमा कलम चलाउने क्रियाशिल पत्रकारहरुलाई यिनै विषयमा अभिमुखीकरण गराए ।

स्वास्थ्य पत्रकार मञ्च नेपाल (एचजेएफएन)सँगको सहकार्यमा सोसाइटी फर लोकल इन्ट्रिग्रेटेड डेभलपमेन्ट नेपाल (सोलि नेपाल) ले आयोजना गरेको ‘मिडिया एड्भोकेसी अन करेन्ट इस्यु अफ हेल्थ सिस्टम इन नेपाल’ विषयक उक्त कार्यक्रमा ३० बढी पत्रकारको उपस्थिति थियो ।

कार्यक्रममा विज्ञको रुपमा प्रस्तुत भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा दीपेन्द्र रमण सिंहले नेपालको स्वास्थ्य प्रणालीको विषयमा आफ्नो प्रस्तुति राखेका थिए ।

‘नेपालको स्वास्थ्यमा नीतिगत व्यवस्था राम्रो छ तर त्यसको कार्यान्वयको पक्षमा कहि कतै ग्याप देखिन्छ । मिडियाले यस्ता ग्याप देखिएका ठाउँमा सचेत बनाउनु पयो खबरदारी गर्नु पयो,’ डा सिंहले भने । उनले स्वास्थ्य क्षेत्र सुधारका लागि स्वास्थ्य साक्षरता (हेल्थ लिटरेसी) सबैभन्दा प्रमुख विषय रहेको भन्दै यसका लागि मिडिया र त्यसमा पनि स्वास्थ्य पत्रकारहरुको भूमिका निकै नै महत्वपूर्ण हुने बताए ।

‘स्वास्थ्य साक्षरतामा सामान्य कुराहरु जस्तै खाना खानु अघि साबुन पानीले हात धुनु पर्छ । नियमित ब्रस गर्नु पर्छ । हामीले खाने पानी कत्तिको स्वच्छ छ ? शारीरिक व्यायम कत्तिको गरिएको छ ? कुन कुरा सेवन गर्नाले अवस्था भइन्छ ।

स्वास्थ्यका मौलिक हक भनेको के हो ? यस्ता स- साना तर जानकारी हुनु पर्ने विषय आम नागरिकले थाहा पाउनु नै पर्छ । यसका लागि हामीले निरन्तर आवाज उठाउनु पर्छ । सञ्चार क्षेत्र र सञ्चारकर्मी यसका लागि सबैभन्दा प्रभावकारी माध्यम हुन्,’ आफ्नो प्रस्तुतिका साथ उनले अर्थ्याए ।

कार्यक्रम आयोजक सोलि नेपालका तर्फबाट संस्थापक अध्यक्ष एवं त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)का सह प्राध्यापक डा. खेमबहादुर कार्कीले स्वास्थ्य पत्रकारहरुले उठाएका विषय बस्तुको चर्चा गर्दै अब प्राथमिकतामा पार्नु पर्ने विषयका बारेमा चर्चा गरेका थिए ।

अस्पतालको न्युनतम सेवा मापदण्ड देखि हेल्थ फेसिलिटि सर्भेबाट आएका प्रतिवेदनको चर्चा गर्दै लुकेका पक्षहरु खोजेर ती विषयहरुलाई आम जनमानस र सरकार उजागर गरिदिनु पर्ने बताए ।

‘कति अस्पतालहरु मापदण्ड पुगेका छन् ? कति अस्पतालको सेवा गुणस्तरीय छ ? हाम्रा अस्पतालहरुमा शुसासन व्यवस्थापन, चिकित्सकीय व्यवस्थापन, सहयोगी व्यवस्थापनमा कस्तो रहेछ ? गरिएका विभिन्न सर्भेले देखाएको छ, त्यसमा मिडियाले सुधारका लागि थप दवाव दिन सक्छ,’ उनले भने ।

डा कार्कीले गुणस्तरीय स्वास्थ्य सेवाका लागि मिडियाले निरन्तर दवाव र खबरदारी गर्नु पर्ने बताए । नेपालमा बाल मृत्यु दर, मातृ मृत्युदर घढ्दोक्रममा रहे पनि अझै पनि समस्याकै रुपमा देखा परेको भन्दै यस विषयमा मिडियाले निरन्तर सरकारलाई झक्झक्याउनु पर्ने बताए ।

‘प्रजनन स्वास्थ्यमा उस्तै समस्या छ । नसर्ने रोगको जोखिम बढेको बढ्यै छ । सरुवा रोगले समेत बेला बखतमा तर्साउँछ । तर स्वास्थ्य सम्बद्ध अधिकारीहरु यस विषयमा हुनु पर्ने जति गम्भीर देखिएका छैनन् । चलेकै छ शैलीमा प्रस्तुत हुने गरेका छन् । यस विषयमा स्वास्थ्य पत्रकारहरुले ध्यानाकर्षण गराउनु पर्छ,’ डा. कार्कीले भने ।

उनले स्वास्थ्य पत्रकारहरुले बनेका नीतिगत व्यवस्था कार्यान्वयनमा जोड दिनुका साथै अब हेल्थ पोलिटिक्स, कल्चरल हेल्थ, हेल्थ फाइनान्सका विषयमा जोड दिनु पर्ने बताए ।

कार्यक्रममा स्वास्थ्य पत्रकार प्रवीण ढकालले स्वास्थ्य पत्रकारिता र पत्रकारहरुले उठाएका विषयमा प्रस्तुतिसहित चर्चा गरेका थिए ।

स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष सरोज ढुंगेलले स्वास्थ्य जस्तो सम्वेदनशील विषय लेख्ने पत्रकारहरूका लागि स्वास्थ्यका विषयमा अभिमुखीकरण जरुरी रहेको भन्दै मञ्चले सोलिडसंग सहकार्य गर्दै कार्यक्रम आयोजना गरेको बताए । उनले भविश्यमा पनि विभिन्न संघ संस्थासँग सहकार्य गरी स्वास्थ्यका विषयमा यस्ता कार्यक्रम गरिराख्ने बताए ।

 

सम्बन्धित शिर्षक :