रुरु गाउँपालिकाको रिडीमा आँखा उपचार केन्द्र स्थापना

नेपाल नेत्र ज्योति सङ्घ गुल्मी, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, सेभा नेपाल र रुरुक्षेत्र गाउँपालिकाको समन्वयमा रिडी बजारमा आँखा उपचार केन्द्रको सेवा शुभारम्भ गरिएको हो ।

सेवा शुभारम्भ गर्नुहुँदै रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली नागरिकहरूलाई भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्य अनुरूप यहाँ आँखा उपचार केन्द्र स्थापना गरिएको बताउनुभयो ।

आँखा सम्बन्धी रोगका धेरै बिरामीहरू लाभान्वित हुने भन्दै उहाँले आँखाको उपचार गराउन टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । नागरिकलाई चौबीसै घण्टा आँखा उपचार सम्बन्धी विभिन्न सेवाहरू केन्द्रबाट उपलब्ध गराइने उहाँको भनाइ छ ।

स्थापना गरिएको आँखा उपचार केन्द्रलाई नमुना आँखा उपचार केन्द्र बनाउन गाउँपालिकाले सधैँ सहयोग गर्ने बताइएको छ । नजिकै आँखा उपचार सेवा पाइने भन्दै स्थानीय नागरिकहरू निकै खुसी भएका छन् । रुरुक्षेत्र गाउँपालिका सधैँ नागरिकको सेवामा समर्पित रहेको भन्दै आँखा उपचारमा संवेदनशील बन्दै नागरिकलाई निस्शुल्क मोतियाबिन्दुको शल्यक्रियाको व्यवस्था समेत मिलाएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनुभयो ।

यस जिल्लाको छैटौँ आँखा उपचार केन्द्रका रूपमा रिडी बजारमा स्थापना गरिएको हो । रिडी बजार अन्य स्थानीय तह र अन्य जिल्लाको केन्द्रबिन्दु रहेको हुँदा केन्द्रले यस क्षेत्रका धेरैजसो नागरिकको आँखा उपचारमा ठुलो टेवा पुर्‍याउने विश्वास लिइएको नेपाल नेत्र ज्योति सङ्घ गुल्मीका सभापति अखिलेश्वर पाण्डेले बताउनुभयो ।

सम्बन्धित शिर्षक :