रुपन्देहीका ७० हजार वालवालिका लाई आईपीभी खोप लगाइने

पहिलो चरण जेठ १३ देखी १६ र दोश्रो २० देखी २३ गते सम्म सञ्चालन गरिने

स्वास्थ्यसमाचार/रुपन्देहीमा जेठ १३ गतेदेखि बालबालिकालाई पोलियोविरुद्धको आईपी भी खोप अभियान सञ्चालन हुने भएको छ । अभियानमार्फत करिब ७० हजार बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

कार्यालयका अनुसार दुई चरणमा सञ्चालन हुने खोप अभियान अन्तर्गत जिल्लाका ६९ हजार ७ सय ६३ जना बालबालिकालाई आईपी भी खोप लगाइनेछ ।

२०७३ देखि २०७५ सम्म जन्मेका र उक्त अवधिमा नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई यो खोप लगाउने तयारी गरिएको हो । नेपालमा २०७३ जेष्ठ देखि २०७५ भाद्रसम्म आईपिभी खोपको अभाव भएको थियो । रुपन्देहीमा जेठ १३ देखि २३ गतेसम्म गरी दुई चरणमा खोप लगाइनेछ ।

स्वास्थ्य कार्यालयले शुक्रबार भैरहवामा पत्रकार अभिमुखीकरण तथा अन्तरक्रिया गरी खोप लगाउन रुपन्देहीमा ८५६ वटा खोप केन्द्र निर्धारण गरिएको जनाएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जेठको १३ देखि १६ गतेसम्म प्रथम चरणमा बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका, लुम्बिनी साँस्कृतिक, तिलोत्तमा, देवदह, ओमसतिया गाउँपालिका, रोहिणी, शुद्धोधन र सियारी गाउँपालिकामा खोप लगाइने बताए । सैनामैना नगरपालिकामा जेठ १४ देखि १७ गतेसम्म खोप लगाइनेछ ।

त्यस्तै जेठ २० देखि २३ गतेसम्मको दोस्रो चरणमा गैडहवा, कञ्चन, सम्मरीमाई, मर्चवारी, कोटहीमाई र मायादेवी गाउँपालिकामा खोप लगाइने ढकालले जानकारी दिए ।

खोप अभियानका लागि जिल्लास्तरको अभिमुखीकरण सकिएको र पालिकास्तरमा तालिम सञ्चालन भइरहेको उनले बताए ।
नियमिततर्फ पोलियोविरुद्ध ६ हप्ता, १० हप्ता र १४ हप्ताका बालबालिकालाई मुखबाट थोपा तथा १४ हप्ता र ९ महिनासम्मका बालबालिकालाई खोप लगाइन्छ ।

सबैभन्दा बढी ५ वर्षसम्मका बालबालिका पोलियो भाइरसबाट संक्रमित हुन सक्ने भएकाले अनिवार्य रुपमा पोलियोविरुद्धको खोप लगाउनुपर्छ ।

सम्बन्धित शिर्षक :