पीडितको सारथी बन्दै लुम्बिनी प्रादेशिक अस्पतालको ओसिएमसी

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) पीडितको सारथी बन्दै गएको छ । लैङ्गिक हिंसा र यौनजन्य हिंसाका घटनाका पीडितहरूको लागि निःशुल्क स्वास्थ्य उपचार, परामर्श र हेरचारमा पहुँच बढ्दै गएपछि पुनस्थापना गृह पीडितका लागि सारथी बनेको हो ।

भैरहवाकी १४ वर्षीया बालिका ३० वर्षीय दाजुबाट ०८० असार १५ गते बलात्कृत हुनुभयो । बलात्कारको शिकार हुनुभएकी बालिकाको पेटमा सात महिनाको गर्भवती भएको थाहा भयो । अन्य बालिकाभन्दा फरक र बौद्धिक रूपमा समस्या हुनुभएकी बालिका सामान्य नभएकै कारण आफ्नो पीडा कसैलाई भन्न सक्नुभएन ।

बालिका भन्नुहुन्छ, दाईले मलाई सँधै नराम्रो गरिरह्यो, डर देखायो केही हुन्न भन्यो, कसैलाई भन्यो भने आमा र तँलाई मारिदिन्छु भन्यो । आँखाभरी आँसु झार्दै डरले aभनिन् भन्दै भक्कानिनुभयो ।

बौद्धिक रूपमा अपाङ्गता हुनुभएकी बालिकाको बोली राम्रोसँग बुझिँदैन, सानो र पातलो शरीर, भक्क निस्केको पेट, एक्कासी रिङ्गटा लाग्ने, पेट दुख्ने, हात खुट्टा बाउँडिने समस्या भएपछि भैरहवाको एक क्लिनिकमा उपचारका लागि आमासँग जानुभयो । ुक्लिनिकमा डाक्टरले पेटमा बच्चा भएको बेला जुन पायो त्यही औषधि खान मिल्दैन भनेपछि छाँगाबाट खसेझैँ हुनुभयो बलिकाको आमा ।

बालिकाकी आमाले आँखाभरी आँसु पार्दै भन्नुभयो, यस्तो के आइलाग्यो । अब कसरी बाँच्नु, कसरी समाजमा मुख देखाउनु । त्यो पापीलाई कसरी छोरा भनेर त्यसको अनुहार हेर्नु ।लामो सास फेर्दै टाउकोमा हात राख्नुभयो ।

क्लिनिकका डाक्टरले भिम अस्पतालमा पठाउनु भयो । छोरी पेट दुखेर अत्तालिएकी थिइन् । मन अमिलो बनाउँदै भिम अस्पताल लगे । उहाँको साथमा ३ सय २० रुपियाँ थियो । त्यो पनि घरमा तेल किन्न राखेको पैसा थियो । अस्पताल पुर्‍याएपछि उमेर सानो र कमजोर भएकाले आमा र बच्चा दुबैलाई खतरा हुन सक्छ भनेपछि एक जना अस्पतालकै कर्मचारीले प्रहरीलाई खबर गरिदिनुभयो । पीडितकी आमाले माघ ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभयो । सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गर्‍यो ।

पेटमा बच्चा भएको थाहा पाएपछि कलिलो उमेरकी बालिका अरुको मजदुरी गरेर झाडु पोछा गरेर खाने, अर्काको घरमा भाडामा बस्ने विपन्न परिवार दिनभरी मजदुरी नगरे साँझ विहान चुलो बोल्दैन । आफ्नै दाजु रक्षक हुनुपर्ने भक्षक भएपछि यो परिवारको विचल्ली भएको हो । पीडितको स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको ओसिएमसी मार्फत सुरक्षित गर्भपतन गराएर नयाँ जीवन पाउनुभएको छ । आरोपित दाजु कारागारमा छन् ।

आर्थिक अवस्था कमजोर भएका कारण कानुनी प्रकृयामा जान समस्या परेको भन्दै पीडितका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले इन्सेलाई ०८० माघ २९ गते निवेदन दिएका थिए । पीडितको आर्थिक अवस्था कमजोर रहेकोले पीडितलाई कानुनी प्रकृयाका लागि आवतजावत गर्न र कानुनी शुल्कका लागि पीडितलाई इन्सेक रुपन्देही जिल्ला प्रतिनिधिले ०८० फागुन २ गते प्रहरीका रोहवरमा १० हजार रुपियाँ हस्तान्तरण गर्नुभएको थियो ।

२०७४ देखि सुरु भएको अस्पतालमा आधारित एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले पछिल्लो समयमा लैङ्गिक तथा यौन हिंसाका पीडितहरूलाई स्वास्थ्यमा पहुँच पुर्‍याउँदै आएको छ । यी १४ वर्षीया बालिका त प्रतिनिधि मुलक घटनाका पात्र मात्र हुन् । यस्ता खालका विभिन्न घटनामा यौन हिंसा भोगेर ओसिएमसी मार्फत निःशुल्क रूपमा सेवा लिएर नयाँ जीवन पाउने महिला र बालिकाहरूको सङ्ख्या दिनहुँ बढ्दै गएको छ र ओसिएमसीप्रति पीडित र पीडित परिवारको विश्वास बढ्दै गएको छ । ओसिएमसी पीडितको जीवन जीउन सिकाउने सारथी बनेको छ ।

एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) ले लैङ्गिक हिंसाबाट प्रभावित महिला, बालबालिका तथा पुरुषहरूलाई एकिकृत रूपमा विना भेदभाव गुणस्तरीय स्वास्थ्य सेवा, चिकित्साजन्य सेवा, प्रमाण सङ्कलन र संरक्षण, आवश्यक मनोविमर्श सेवाको साथै आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानुनी सहयोग र सुरक्षित आवासका लागि रिफर जस्ता सेवाहरू उपलब्ध गराउने उद्देश्यले देशमा तोकिएका जिल्लाका केन्द्र, प्रदेश वा जिल्ला अस्पतालहरूमा स्थापना गरिएको छ ।

ओसिएमसी सेवाका लागि बलात्कार, यौनजन्य दुर्व्यवहार, शारीरिक दुर्व्यवहार, बालविवाह, स्रोत साधन र अधिकारबाट वञ्चित, मानसिक हिंसा तथा दुर्व्यवहार, परम्पराका आधारमा गरिने भेदभावबाट पीडित भएकाहरू सेवा लिन आउने गर्दछन् । ओसिएमसीले सेवा चौबिसै घण्टा निःशुल्क स्वास्थ्य सेवा, खाना, छाना र नाना सहितको आधारभूत सेवा उपलब्ध गराउँदै आएको छ ।

सेवा केन्द्रमा आएका घटनाहरूको विश्लेषण गर्दा आर्थिक वर्ष ०७६/७७ मा जम्मा ५५ जनाले सेवा लिएको जसमध्ये १५ देखि १८ वर्ष उमेर समूहको सङ्ख्या सात जना, १९ वर्षदेखि ४९ वर्ष उमेर समूहका ४६ जना र ६० वर्ष माथिका दुई जना गरी जम्मा ५५ जनाले सेवा लिएका थिए ।

त्यस्तै आर्थिक वर्ष ०७७र७८ मा १४ वर्ष मुनीका ३१ जना, १५ वर्षदेखि १८ वर्षसम्मका ६९ जना, १९ वर्षदेखि ४९ वर्षसम्मका १ सय ४० जना, ५० वर्षदेखि ६० वर्षसम्मका ११ जना र ६० वर्षमाथि उमेर समूहका आठ जना गरी जम्मा २ सय ५८ जना रहेका थिए । सेवा केन्द्रमा आर्थिक वर्ष ०७८र७९ मा १४ वर्ष मुनीका ७१ जना, १५ देखि १८ वर्षका ८५ जना, १९ वर्षदेखि ५९ वर्षका ३ सय २९ जना, ६० वर्षमाथिका १० जना गरी ४ सय ९५ जनाले सेवा लिएका थिए ।

त्यस्तै ०७९र८० को १४ वर्ष मुनी १८ जना, १५ देखि १८ वर्षका ५२ जना, १९ देखि ४९ वर्षका १ सय ३४ जना, ५० देखि ६० वर्षका दुई जना र ६० वर्षमाथिका दुई जना गरी जम्मा २ सय ८ जनाले सेवा लिएका थिए ।

त्यसैगरी आव०७९/८० मा ५ सय ४ जनाले सेवा लिए भने आ/व०८०/८१ मा २ सय ६५ जनाले सेवा लिएको ओसिएमसीमा कार्यरत स्टाफनर्स दिप्ती थापाले बताउनु भयो । ओसिएमसी सेवालाई प्रभावकारी बनाउन र पीडितलाई न्यायमा पहुँच पुर्‍याउनका विभिन्न प्रयासहरू गरिरहेको बताउँदै पीडितहरूको मानसिक स्वास्थ्यलाई सन्तुलन गराउने गरी काम गरेकाले विगतको वर्षको तुलनामा सेवा लिन आउने हिंसा पीडितको सङ्ख्या बढेको उहाँले बताउनु भयो ।

लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलका फरेन्सीक विशेषज्ञ डाक्टर विप्लव मानन्धरले ओसिएमसीमा सेवा लिन आउने यौनजनय हिंसा र लैङ्गिक हिंसा पीडित भएकोले उनीहरूको उपचार, परामर्श र गोपनीयताका साथ सेवा प्रवाह गरेको बताउनु भयो ।

उहाँले कतिपय पीडितहरू घटना घटेको लामो समयपछि आउने र प्रमाणहरू नष्ट भइसकेका कारण न्यायमा पहुँच पुर्‍याउन समस्या भएकोले घटना घट्ने वित्तिकै जुन अवस्थामा हो सोही अवस्थामा आउन सके प्रमाण सङ्कलनमा सहज हुने र न्यायमा पहुँच पुग्ने बताउनु भयो ।

डा। मानन्धरले कतिपय पीडितहरू घटना घटेको धेरै समयपछि आउँदा ढिला हुने र पीडितको स्वास्थ्यमा समस्या हुने बताउनु भयो । ओसिएमसीमा पीडितको निःशुल्क उपचार, परामर्श तथा प्रमाण सङ्कलन मुख्य उद्देश्य रहेकोले कसरी सेवालाई पीडितले अनुभूति गर्न सक्ने बनाउन सकिन्छ सो विषयमा आफूहरू संवेदनशिल भएर काम गरेको उहाँले बताउनु भयो ।

ओसिएमसिलाई प्रभावकारिता बनाउनको लागि अझ धेरै काम गर्नुपर्ने बताउदै डा मानन्धरले मानव अधिकारको क्षेत्र र महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने सङ्घसंस्थाहरूसँग समन्वय गरेमा समुदायसम्म ओसिएमसीका विषयमा बुझाउन सकिने बताउँदै स्थानीय तहले विद्यालयस्तरको पाठ्यक्रममा नै ओसिएमसी र लैङ्गिक हिंसाका विषयमा पाठ्यक्रममा राख्न सकेमा समुदायसम्म सन्देश पुर्‍याउन पहल गर्नुपर्ने बताउनु भयो ।

उहाँले आसिएमसी सेवालाई कसरी प्रभावकारी र पीडितले अनुभूति गर्ने बनाउन सकिन्छ भन्ने विषयमा आफूहरू संवेदनशिल भएर लागेको बताउनु भयो ।

सम्बन्धित शिर्षक :