ग्याष्ट्रो सेन्टर बुटवलद्वारा गुल्मीका २५ विरामीको निःशुल्क इन्डोस्कोपी

स्वास्थ्यसमाचार/ गुल्मीको सत्यवती गाउँपालिका भार्सेमा एक दिने निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । विशेष गरि पेट सम्वन्धि समस्या भएका विरामीहरूका लागि गरिएको शिविरमा पेट सम्वन्धि सम्पुर्ण रोगको निःशुल्क परीक्षण गरिएको थियो ।

रुपन्देहीको बुटवलमा रहेको बुटवल ग्याष्ट्रो सेन्टर प्रालिको प्राविधिक सहयोग तथा स्थानीय थाप्ले क्लवले संयोजनमा भएको शिविरमा एक सय ५० बढी विरामीको स्वास्थ्य परीक्षण गरिएको थियो । ग्रामिण क्षेत्रमा गरिएको शिविरमा पहिलो पटक निःशुल्क इन्डोस्कोपी सेवा दिइएको ग्याष्ट्रो प्रालिले जनाएको छ ।

सामान्यदेखि जटिल सम्मका पेटका विरामीहरुको स्वास्थ्य परीक्षण गरिएको शिविरमा २५ जनाको निःशुल्क इन्डोस्कोपी गरिएको प्रालिका बरिष्ट ग्याष्ट्रोइन्टेरो तथा हेपाटोलोजिष्ट डाक्टर मोहन भुसालले जानकारी दिनुभयो । सत्यवती–८ भार्से स्वास्थ्य चौकीमा संचालन गरिएको शिविरमा पेटको जटिल रोगका विरामी दुई जना र अल्सर भएका विरामी १६ जनाको रोग पहिचान भएको डा. भुसालले जानकारी दिनुभयो ।

शिविरमा पुगेका बिरामीलाई निःशुल्क औषधी वितरण गरिएको थियो भने थप र आवश्यक उपचारको खाँचो भएका विरामीलाई उपयुक्त परामर्श र उपचारको सुझाव दिइएको थियो ।

शिविरको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी सत्यवती गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डे स्वास्थ्य शिविरमा निःशुल्क इन्डोस्कोपी सेवा लुम्विनी प्रदेशमै नमुनाका रुपमा गरिएको बताउँदै ग्रामीण क्षेत्रमा भएका विरामीको स्वास्थ्य परीक्षणमा ग्याष्ट्रो सेन्टरले उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गर्नुभयो ।

शिविरले गुल्मीमै सकारात्मक सन्देश दिएको भार्से क्लवका अध्यक्ष नरबहादुर बुढाथोकीले बताउनुभयो । शिविरमा सत्यवती गाउँपालिकाका साथै छिमेकी पालिकाबाट समेत विरामीहरु आफ्नो स्वास्थ्य परीक्षण गर्न आएको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित शिर्षक :