लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा निःसन्तान उपचार सेवा सुरु

स्वास्थ्यसमाचार/  प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निःसन्तान दम्पत्तिको उपचारका लागि आधुनिक प्रविधि आइयुआई (इन्ट्रा युटेरिन इन्सिमिनेसन) सेवा बिहिबारदेखि शुभारम्भ भएको छ ।

काठमाडौं बाहिर सरकारी अस्पतालमा यो उपचार पद्दति पहिलो भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापा क्षेत्रीले वताउनु भयो।रुपन्देहीको सैनामैना निबासी ३१ वर्षीया महिलामा आइयुआई प्रविधि प्रयोग गरि सेवा शुभारम्भ गरिएको हो ।

विगत १ महिनादेखि उपचार गराइरहेकी ती महिलाको औषधी सेवन तथा उपचार पद्दतिबाट सन्तान प्राप्ति नहुने भएपछि आइयुआई पद्दति प्रयोग गरिएको हो ।अस्पतालमा महिला तथा प्रसुती रोग विशेषज्ञ डा. बबिता थापाको नेतृत्वमा नयाँ उपचार सेवा सुरु गरिएको हो । डा. थापाका अनुसार महिलाको पाठेघर ठीक भएको अवस्था र पुरुषको शुक्रकीटमा समस्या भएमा सुरुमा आइयुआई विधि अपनाइन्छ ।

यो विधि भनेको पाठेघरमा सोझै पुरुषको शुक्रकीट राख्ने विधि हो । यो पद्दतिमा पुरुषको शुक्रक्रिटलाई सफा गरेर गुणस्तरीय बनाएर महिलाको पाठेघरमा राख्ने गरिन्छ । तर यो विधिको सफलता दर भने १५ देखि २० प्रतिशतमात्रै रहने गर्दछ । यो विधिबाट पनि बच्चा नभएकालाई आइभिएफ विधिमा जानू पर्ने उनी बताउनु भयो । अस्पतालमा आइभिएफ प्रविधिको सेवा नभए पनि सरकारको योजना अनुसार यो सेवा समेत निकट भविष्यमै थप हुने उनले विश्वास गर्नु भयो।

डा. थापाका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक २५० देखि ३ सय जनाले प्रसुती सेवा लिने गरेका छन् भने दैनिक ३० देखि ४० जना शिशुको जन्म हुने गर्दछ । यसै गरि दैनिक ८/१० जना दम्पत्ति निसन्तानपनको समस्या लिएर आउने गरेका छन् । समयमै उपचारमा जान सके निसन्तानपनको समस्या कम हुने बताउने उहाले ९० प्रतिशत समस्या औषधी सेवन तथा उपचार पद्दतिबाट समाधान हुने गर्दछ भने १० प्रतिशत समस्याका लागि आइयुआई, आईभिएफ लगायतका प्रविधि प्रयोग गर्नु पर्ने उल्लेख गर्नु भयो।

डा. थापाका अनुसार निःसन्तान भएका करिब ६० प्रतिशतलाई आई.यु.आई.को सल्लाह दिइन्छ । उनीहरुमा आई.यु.आई. गर्दा प्रिग्नेन्सी (गर्भधारण) दर १२ देखि २० प्रतिशत मात्र छ र पुरुषको शुक्रकीटको क्वालिटी (गुणस्तर) र संख्या कम भएका व्यक्तिलाई आई.यु.आई. गरिन्छ । प्रति मिलिलिटर (एमएल) वीर्यमा शुक्रकीटको संख्या १५ मिलियन भन्दा बढी हुनुपर्छ । संघिय सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा बाँझोपन तथा निःसन्तान उपचार केन्द्र सेवा विस्तार गर्ने गरि बजेट बिनियोजन गरेको थियो।

पछिल्लो समयमा लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीको चाँप बढेसंगै सेवा थप बिस्तार भैरहेको अस्पतालले जनाएको छ। ‘अहिले झन्डै १० देखि १५ प्रतिशत दम्पतीहरू निःसन्तानको समस्याबाट झेलिरहेको एक तथ्याकले देखाएको छ।प्रसूति तथा स्त्रीरोग अस्पतालले वि.सं २०३९ सालबाट ‘इन्फर्टिलिटी’ क्लिनिक भनेर सेवा सुरु गरेको थियो ।त्यसपछि २०६३ सालबाट आईयूआई (इन्ट्रा युटेरिन इन्सिमिनेसन) सेवा सुरु भएको थियो।

सम्बन्धित शिर्षक :