सिद्धार्थनगरमा फागुन १९ गते अपांगता स्वास्थ्य शिविर हुँदै

स्वास्थ्यसमाचार/रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा शारीरिक रुपमा अशक्त हरुको लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर हुने भएको छ ।सिद्धार्थनगर नगरपालिकाको कार्यालय र अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा फागुन १९ गते (शनिबार) शिविर हुने भएको हो । उक्त शिविर भीम अस्पताल परिसरमा सञ्चालन हुनेछ ।

सर्वसाधारणका हितका लागि नगर रहेका शारीरिक रुपमा अशक्त हरुको स्वास्थ्य परीक्षण शिविर सञ्चालन गर्न लागिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले बताए । ‘शारीरिक रुपमा अशक्त भए पनि आर्थिक अभाव वा अन्य समस्याका कारण सर्वसाधारणले सहायता सामग्री वा परीक्षण समेत गराउन नसकेको अवस्था छ’ उनले भने, ‘यो शिविरले नगरवासी लाभान्वित हुने विश्वास लिएका छौं ।’

१८ वर्षसम्मका बालबालिकालाई लक्षित गरेर शिविर सञ्चालन हुने भए पनि उक्त उमेर समूह भन्दा माथिका कोही सर्वसाधारण आएको अवस्थामा समेत सेवा प्रवाह गरिने नगरपालिकाको कार्यालयले जनाएको छ ।नगर उपप्रमुख उमा अधिकारीले शिविरको क्रममा शारीरिक रुपमा अशक्त भएका व्यक्तिको स्वास्थ्य परीक्षणका साथै आवश्यकता अनुसार सहायता सामग्री समेत उपलब्ध गराउने बताइन् ।

उनका अनुसार उक्त शिविरमा कृत्रिम अंगको आवश्यक भएका व्यक्तिको नापजाँच गरिने र सो नाप अनुसार उनीहरुलाई शिविर पश्चात कृत्रिम अंग समेत उपलब्ध गराइनेछ ।साथै, आवश्यकता अनुसार अपांग बाल अस्पताल तथा पुनस्थापना केन्द्रमा निकै न्यून शुल्कमा थप उपचारका लागि आवश्यक समन्वय समेत गरिने उपप्रमुख अधिकारीले जानकारी दिइन् ।

शारीरिक अपांगता व्यक्तिका साथै हाडजोर्नी सम्बन्धी समस्याका व्यक्तिहरुले पनि शिविरमा सेवा लिन सकिने उनले बताइन ।‘चिसोयाममा वर्षौ अघिको हाडजोर्नी समस्याले पनि सर्वसाधारणहरु ग्रस्त हुन्छन्’ उनले भनिन्, ‘उक्त समस्यालाई पनि मध्यनजर गर्दै शिविरमा हाडजोर्नी संबन्धीका सेवा प्रवाह गरिनेछ ।’

पैतला भित्र फर्केको, अंगहरु एकआपसमा टाँसिएको, भाँचिएर बांगो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बांगो, वा कुप्रो भएको, जोर्नीहरु र घुँडाको पांग्रो खुस्किएको लगायत समस्या भएको व्यक्तिले शिविरमा सेवा लिन सकिने सिद्धार्थनगर नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख कौशिल्या चौधरीले बताइन् ।

सम्बन्धित शिर्षक :