गुल्मीका दुई आयुर्वेद औषधि पसललाई एक-एक लाख जरिवाना

गुल्मी/गुल्मीमा क्षेत्राधिकार भन्दा बाहिर काम गरेको भन्दै दुई वटा आयुर्वेदलाई १–१ लाख जरिवाना तोकिएको छ ।सदरमुकाम तम्घासको पुरानो बजारमा सञ्चालनमा रहेको सफल र सम्पन्न आयुर्वेदलाई छुट्टाछुट्टै १–१ लाख रुपैयाँ जरिवाना तोकिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए ।

क्षेत्राधिकार भन्दा बाहिर काम गरेको आयुर्वेदलाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम प्रशासनले कारबाही गरेको गैरेले बताए । प्रशासनले कारबाही गर्न मिल्ने क्षेत्र अधिकार भित्र रहेर अधिकतम कारबाही गरेको उनले बताए ।

१५ माघ २०८० मा क्षेत्राधिकार भन्दा बाहिर काम गरेको भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले आयुर्वेद पसल सिल गरेको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।

छानबिन समितिले क्षेत्राधिकार भन्दा बाहिर काम गरेको भन्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालाई प्रतिवेदन बुझाएका थिए । उक्त आयुर्वेदले आयुर्वेद औषधि मात्र बेच्न पाउने अनुमति पाएकोमा एलोप्येथिक औषधि बिक्री, बिरामीको एक्सरे सेवा तथा भर्ना गरेर समेत बिरामी हेर्ने गरेको पाइएको थियो ।

गर्न नपाउने कामहरु गरेको उक्त आयुर्वेदलाई बचाउन र कारबाही नगर्न औषधि व्यवसायी संघ गुल्मीले बारम्बार जिल्ला प्रशासन कार्यालय गुल्मीमा पुगेर दबाव दिँदै आएको थियो ।

सफल र सम्पन्न आयुर्वेद श्रीमान् र श्रीमतीको नाममा दुईवटा सञ्चालित थिए । दुवै आयुर्वेद गैरकानुनी ढंगबाट रमेश अधिकारीले सञ्चालन गरेका थिए । कबिराज पढेका अधिकारीले बिशेषज्ञ डाक्टरले दिने भन्दा बढी सेवा आयुर्वेद पसलको नाममा बिरामीलाई गलत रुपमा दिएका थिए । उनले रेसुंगा नगरपालिका वडा नम्बर ८ मा आयुर्वेद पसल र वडा नम्बर ९ मा ल्याब समेत सञ्चालन गरेका थिए ।

आयुर्वेद पसल सञ्चालक अधिकारी विभिन्न ठाउँका आठ वटा कोठामा उक्त पसल सञ्चालन गरेका थिए । उनले एक्सरे तापिलो घाममा हेरेर बिरामीलाई परामर्श दिने र उपचार गर्ने गरेको समेत आरोप लागेको थियो ।

सम्बन्धित शिर्षक :