अर्घाखाँचीमा गृहिणीहरूका लागि भान्सा सुधार कार्यक्रम सञ्चालन

स्वास्थ्यसमाचार/अर्घाखाँचीमा स्वस्थकर जीवनशैली प्रवर्द्धनमा गृहिणीहरूका लागि भान्सा सुधार कार्यक्रम सञ्चालन गरिएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र अर्घाखाँचीको आयोजनामा जिल्लाका बिभिन्न स्थानमा भान्सा मार्फत स्वस्थकर जीवन जिउन सहयोग गर्ने उद्धेश्य अनुरुप गृहिणीहरूलाई लक्षित गरी भान्सा सुधार कार्यक्रम सञ्चालन गरिएको हो ।

खाना पकाउनु पूर्वदेखि उपभोगसम्म आयुर्वेदमा लिपिबद्ध पोषण प्रबर्द्धन कार्यहरूलाई पोषण संवेदनशील भई भान्सा सुधार मार्फत स्वस्थकर जीवन जिउनका लागि समुदायको पोषण सुधार हुने गरी परिणाम प्राप्त गर्नु यस कार्यक्रमको मुख्य उदेश्य रहेको केन्द्रले जनाएको छ ।

आयुर्वेद चिकित्सा विज्ञानमा स्वस्थ हुनका लागि असल खानापान, असल ब्यवहार र विचारलाई प्रमुख मानिएको छ ।स्वस्थ खानपानका लागि दिनचर्या र ऋतुचर्याको पालना गर्नुपर्छ ।

कार्यक्रममा खानपानकै कारणले नसर्ने रोग लगायत कुपोषण जन्य रोगलाई लाग्न नदिन वाह्य उत्पादित खानालाई निरुत्साहित गर्दै घरमै पाकेको अर्गानिक खानपानको जनचेतना अभिबृद्धि गरि स्वस्थकर खानपान गर्ने बानीको विकास गर्न अभिप्रेरित गरिएको थियो ।

कार्यक्रममा बालपोषणको बारेमा जानकारी गराउने,स्वरस, कल्क, हिम, फान्ट,पेय,मण्ड तथा विलेपि बनाउने तरिका सिकाउने,गर्भिणिको प्रथम मासदेखि नवौ माससम्म सेवन गराइने आहार बिहारको बारेमा जानकारी गराउने तथा दैनिक भान्सामा प्रयोग हुने जडिबुटिहरुको बारेमा तथा बिरुद्ध आहारको बारेमा जानकारी गराइएको थियो ।

साथै आदर्श भान्साघर हुनका लागि आवश्यक नियम, आचरण तथा स्थानिय स्तरमा खाना बनाइने तरिका आदि बारेमा समेत जानकारी गराइएको थियो ।कार्यक्रम मालारानी गाउँपालिका वार्ड नं ६, ७ र ८ का महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई वडा नं ६ स्थित स्वास्थ्य चौकी भवनमा तथा भूमिकास्थान नगरपालिका वार्ड नं ३ र ४ का महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई वडा नं ४ को वडा कार्यालयमा सहभागी गराई कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रममा करिव ६५ जना गृहणिहरुलाई सहभागि गराइएको थियो । कार्यक्रम आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख कमल प्रसाद आचार्यको अध्यक्षता, मालारानी गाउँपालिका वार्ड नं ६ का वडा अध्यक्ष नारायण अर्याल तथा भूमिकास्थान नगरपालिका वार्ड नं ४ का वडा अध्यक्ष बावुराम सुनारको प्रमुख आतिथ्यता तथा डा अर्जुनराज शर्माको प्रमुख प्रशिक्षणमा सञ्चालन गरीएको कार्यक्रममा सहजिकरण बरिष्ठ कविराज निरीक्षक कमल प्रसाद आचार्य तथा स्वास्थ्य केन्द्रका बैद्य निरीक्षक पशुपति पन्थीले गरेका थिए ।

कार्यक्रम जिल्लामा रहेका अन्य स्थानिय तहहरुमा समेत सञ्चालन हुने आयोजकले जनाएका थिए ।

सम्बन्धित शिर्षक :