एक वर्षमा २८ हजार प्रहरीले उपचार गराए लुम्बिनी प्रहरी अस्पतालमा

स्वास्थ्यसमाचार/नेपालगन्जमा रहेको लुम्बिनी प्रदेश प्रहरी अस्पतालले गएको एक वर्षमा २८ हजार ६८१ जना प्रहरी, प्रहरीका परिवार र पूर्व प्रहरीको उपचार गरेको छ ।

लुम्बिनी मात्र नभई कर्णाली र सुदूरपश्चिमका समेत प्रहरी र उनका परिवारका बिरामीलाई उपचार सेवा दिँदै आएको सो अस्पतालमा बिरामीको चाप बर्सेनि बढ्दै गएको सो अस्पतालले जनाएको छ ।

लुम्बिनी प्रदेश प्रहरी अस्पतालका निर्देशक तथा प्रहरी वरिष्ठ उपरीक्षक डाअमिनकुमार श्रेष्ठका अनुसार यो अस्पतालले पश्चिम नेपालका कर्णाली र लुम्बिनी प्रदेशका बिरामी प्रहरी कर्मचारीसँगै उनीहरूका परिवार र पूर्व प्रहरीलाई लामो समयदेखि उपचार सेवा प्रदान गर्दै आएको छ ।

उहाँले गत आर्थिक वर्ष २०७९/०८० मा उक्त अस्पतालमा २८ हजार ६८१ जनाको उपचार गरिएको बताउनुभयो । ती मध्ये १५ हजार ७७४ जना लुम्बिनी प्रदेशका र १० हजार ३८ जना कर्णाली प्रदेशका प्रहरी बिरामी रहेका थिए । यसैगरी, अन्य प्रदेशका दुई हजार ८६९ जनाको पनि सो अस्पतालमा उपचार गरिएको थियो ।

यसअघि आर्थिक वर्ष २०७८/०७९ मा २१ हजार ६६० जनाले सो अस्पतालबाट उपचार सेवा पाएको र आर्थिक वर्ष २०७७/०७८ मा १७ हजार २४२ जनाले उपचार सेवा पाएको लुम्बिनी प्रदेश अस्पतालले जनाएको छ ।

सो अस्पतालमा आकस्मिक सेवा, जनरल ओपिडी, अर्थोपेडिक, मेडिसिन, इएनटी र डेन्टल सेवाको ओपिडीसँगै ल्याब सेवा र एक्स-रे सेवा सञ्चालनमा रहेको छ ।छाला तथा यौनरोग, स्त्री तथा प्रसूति सेवा, सर्जन र मानसिक सेवाका लागि बाहिरबाट विशेषज्ञ चिकित्सकलाई निरन्तर बोलाएर उपचार सेवा प्रदान गर्ने गरिएको अस्पतालका निर्देशक एसएसपी श्रेष्ठले बताउनुभयो ।

त्यसका साथसाथै प्रहरी अस्पतालले रिफर गरेका बिरामीको उपचार विशेष छुटका साथ गर्ने गरी नेपालगन्ज मेडिकल कलेजद्धारा नेपालगन्जमा सञ्चालित नेपालगन्ज शिक्षण अस्पतालसँग सम्झौता गरिएको उहाँले बताउनुभयो ।

अस्पतालमा बिरामीको चाप बढ्दै गएपनि जनशक्ति र भौतिक पूर्वाधारको सबैभन्दा ठुलो समस्या रहेकोले सोतर्फ सम्बन्धित निकायको तत्काल ध्यान जानुपर्ने अस्पतालले जनाएको छ ।

सम्बन्धित शिर्षक :