स्वास्थ्यसमाचार /लायन्स क्लब अफ सिद्धार्थनगर युथले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ स्थित आमामा निःशुल्क स्वास्थ्य शिविर तथा मधुमेह परीक्षण गरेको छ ।
स्वास्थ्य संस्थासम्म पहुँच नभएका ग्रामीण क्षेत्रका नागरिकको समस्यालाई मध्यनजर गर्दै शिविरको आयोजना गरिएको कार्यक्रम संयोजक तथा क्लबका प्रशासक प्रशान्त श्रीवास्तवले बताए ।
कार्यक्रमको उद्घाटन गर्दै रुपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रमोद कुमार यादवले ग्रामीण क्षेत्रमा क्लबले स्वास्थ्यसंग सम्बन्धित कार्यक्रम लैजानु उदाहरणीय रहेको बताए । उनले स्वास्थ्य क्षेत्रको विकासमा सबैको ध्यान जानुपर्नेमा जोड दिए ।
प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य अष्टभुजा पाठकले सरकारले गर्नुपर्ने काम लायन्स क्लब अफ सिद्धार्थनगर युथले गरेको बताए ।युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवाका प्रशासन संयोजक तेज के.सी.ले यस्ता शिविरहरु अन्य क्षेत्रमा पनि आयोजना गर्नुपर्नेमा जोड दिए ।
उनले प्रत्येक हप्ताको मंगलबार दिउँसो १२ बजेदेखि १ बजेसम्म मेडिकल कलेज जान गाडीको व्यवस्था गरिएको बताए । के.सी.ले लायन्स क्लब तथा जनप्रतिनिधिबाट सिफारिस भए २० प्रतिशत छुटको व्यवस्था गर्ने तथा पैसा तिर्न नसक्ने विरामीलाई औषधी उपचार गरिदिने बताए ।
कार्यक्रममा १ हजार बढी स्थानीयवासीको स्वास्थ्य परीक्षण गरिएको क्लबका अध्यक्ष अभिनव मयुर कसौधनले बताए । त्यस्तै कार्यक्रममा १ लाख बराबरको औषधी विरामीहरुलाई निःशुल्क वितरण गरिएको कसौधनले जानकारी दिए ।
शिविरमा मेडिकल कलेजका डा. पुष्पराज ढकाल, डा. जिज्ञासा सुवेदी, डा. सर्वोत्तम कोइराला, डा. दयाराम यादव, डा. सृजा चापागाई, डा. राजा खान, डा. नेहा सिंह, डा. ब्रीसा प्रियोस लगायत १८ जना टोलीको स्वास्थ्य परीक्षण गरेको क्लबका सचिव सुनिल सेञ्चुरीले जानकारी दिए ।