रुकुम पश्चिममा खुकुरी प्रहार वाट १४ वर्षीय वालकको मृत्यु एक घाइते

घाइते सुकलालको जिल्ला अस्पताल सल्लेमा उपचार हुदै

स्वास्थ्य समाचार/रुकुम पश्चिममा एक बालकको खुकुरी प्रहारबाट हत्या भएको छ । मुसीकोट नगरपालिका वडा नम्बर ११ मा रोल्पाको परिवर्तन गाउँपालिका ४ पाछावाङका अन्दाजी १४ वर्षीय निर्मल डाँगीको खुकुरी प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।

अर्का एकजना घाइते भएका छन् । मुसीकोट नगरपालिका ११ काफलबोटका ३२ वर्षीय चन्द्रबहादुर पुनले डांगीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो ।

खुकुरी प्रहारबाट मुसीकोट नगरपालिका ११ कै ४१ वर्षीय सुकलाल पुन घाइते हुनु भएको छ ।डिएसपी भट्टराईका अनुसार डाँगीको घाँटी रेटेर हत्या गरिएको छ । घटना आज दिउँसो १२ बजेतिर भएको हो । खुकुरी प्रहारबाट मृत्यु भएका डाँगी दिदीको घरमा बसेर पढ्दै आउनु भएको थियो ।

उहाँ मुसीकोट नगरपालिका वडा नम्बर ६ मा रहेको बाल कल्याण माध्यमिक विद्यालय झुल्खेतमा कक्षा सातमा अध्ययनरत भएको बताइएको छ । खुकुरी प्रहार गर्ने चन्द्रबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाइते सुकलालको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । उहाँको टाउकोमा खुकुरी प्रहारबाट चोट लागेको छ । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षक :