देवदह नगरपालिका वडा नं २ पूर्ण संस्थागत प्रसुती युक्त वडा घोषणा

स्वास्थ्यसमाचार/स्वास्थ्य समाचार रुपन्देहीको देवदह नगरपालिका वडा नं २ लाई पूर्ण संस्थागत प्रसुती युक्त वडा घोषणा गरिएको छ ।

देवदह नगरपालिका वडा नम्बर २ पूर्ण संस्थागत प्रसुती युक्त वडा घोषणा हुने देवदहको पहिलो वडा हो ।   देवदह २ मा अवस्थित केरवानी स्वास्थ्य चौकीमा एक कार्यक्रमको आयोजना गरि पूर्ण संस्थागत प्रसुती युक्त वडा घोषणा गरिएको हो।

देवदह नगरपालिकाका उपप्रमुख विद्या लक्ष्मी गुरुङले देवदह नगरपालिका जिरो होम डेलिभरी पालिका बनाउने अभियानमा लागेको र जस अन्तर्गत देवदह वडा नम्बर २ पूर्ण संस्थागत प्रसुती युक्त वडा घोषणा भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

कुनै पनि अभियान घोषणा मात्र गरेर सफल नहुने बताउदै उपप्रमुख गुरुङले निरन्तर रुपमा निगरानी गरि घोषणा भएको कार्यक्रमको अनुगमन गरिने बताउनुभयो । उपप्रमुखको संयोजकत्वमा बनेको नगर प्रजनन समिति र सम्बन्धित वडाको वडा अध्यक्षको संयोजकत्वमा बनेको वडा प्रजनन समितिले पूर्ण संस्थागत प्रसुती युक्त वडामा भएका गतिविधिको अनुगमन गरिने उपप्रमुख गुरुङको भनाई थियो ।

सोहि अवसरमा केरवानी स्वास्थ्य चौकीमा स्थापना भएको सुरक्षित स्तनपान कक्षको उद्घाटन गरिएको थियो । देवदह नगरपालिकालाई स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गरेको बताउँदै नगर उपप्रमुख गुरुङले महिलाको प्रजनन स्वास्थ्य संबेदनसिलताको ख्याल गर्दै देवदह नगरपालिकालाई जिरो होम डेलिभरी पालिका बनाउने गरि लागेको र अभियानमा साथ दिन आग्रह गर्नुभयो ।

उक्त वडामा ‘पूर्ण संस्थागत प्रसुति युक्त वडा’को सबै मापदण्ड पुगेको र सुरक्षित रुपमा सुत्केरी भएको पाइएपछि ‘पूर्ण संस्थागत प्रसुति युक्त वडा’ घोषणा गरिएको देवदह नगरपालिकाका स्वास्थ्य संयोजक काशिनाथ बञ्जाडेले जानकारी दिनुभयो । सोहि अवसरमा केरवानी स्वास्थ्य चौकीले संस्थामा कार्यरत सम्पुर्ण स्वास्थ्यकर्मी, कर्मचारी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको थियो।

साथै स्वास्थ्य चौकीलाई सम्मानजनक मातृ तथा नवजात शिशु स्वास्थ्य प्रवर्द्धन परियोजनाको माध्यमबाट आर्थिक तथा भौतिक सामग्रीहरुको सहयोग तथा कर्मचारीहरुलाई तालिमको व्यवस्था मिलाएर सेवा प्रवाह गुणस्तर बनाउन सहयोग गर्ने ग्रिन तारा नेपाललाई पनि केरवानी स्वास्थ्य चौकीले ससम्मान बिदाइ गरेको छ ।

देवदह नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दल बहादुर राकस्कोटीको अध्यक्षता, केरवानी स्वास्थ्य चौकी प्रमुख काशीराम रेग्मीको स्वागत र देवदह नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी माया पुनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित शिर्षक :