गुल्मी अस्पतालमा नियमित रूपमा डायलासिस सेवा सुरु

स्वास्थ्यसमाचार /गुल्मी अस्पतालमा डायलासिस सेवा सुरु भएको छ । यही पुस ९ गते र १२ गते एक बिरामीलाई डायलासिस सेवा प्रदान गरेसँगै अस्पतालमा अब नियमित रूपमा सेवा सुरु हुने भएको हो ।

जिल्लाको रेसुङ्गा नगरपालिका–८ का देविराम खनालको अस्पतालले सफल डायलासिस गरेको हो । गुल्मीमै डायलासिस सेवा सुरु भएसँगै सेवा लिनका लागि पाल्पा, बुटवललगायत स्थानमा जानुपर्ने गुल्मेलीको बाध्यता अन्त्य हुने भएको छ ।

डायलासिस सेवाका लागि अस्पतालमा पाँच मेसिन छन् । त्यसमध्ये तीन वटासम्म नियमित सञ्चालन गर्न सकिन्छ भने बाँकी दुई वटा वैकल्पिकरुपमा राख्नुपर्ने हुन्छ । डायलासिस सेवाका लागि अस्पतालमा एक विशेषज्ञ डाक्टर र एक नर्सको व्यवस्था गरिएको छ । एक बिरामीले हप्तामा दुईपटक डायलासिस गराउनुपर्छ । एकपटकमा झण्डै पाँच घण्टा लाग्छ ।

अस्पतालमा हप्तामा नौ जनालाई डायलासिसको सेवा प्रदान गर्न सकिने अस्पतालका मेसु डा किशोर बन्जाडेले बताउनु भयो । डायलासिस गर्ने जनशक्ति थप गर्नसकेमा सोही सामग्रीबाट दुई वा तीन सिफ्टमा सेवा दिन सकिने र त्यसबाट अधिकतम बिरामी लाभान्वित हुने बन्जाडेकोे भनाइ छ ।

नेपाल सरकारले एकपटक डायलासिस गराएको रु दुई हजार पाँच सय दिने गरेको छ । गुल्मी अस्पतालले स्वास्थ्य सेवा विभागबाट डायलासिस सेवाको अनुमति नपाएकाले उक्त सुविधा पाएको छैन । खनालको सफल उपचार गरेसँगै अस्पतालका डायलासिस गर्ने सामग्रीलगायत सबै प्राविधिक पक्ष ठीक भएको प्रमाणित भएकाले अब आधिकारिकरुपमै विभागबाट पत्र आउने बन्जाडेको भनाइ छ ।

सो अस्पतालमा डायलासिस गराएका खनालले गत वर्षको माघ १७ गतेदेखि काठमाडौँमा डायलासिस गराउन सुरु गरेका हुन् । तीन महिना अगाडिबाट पाल्पाबाट सेवा लिएका खनाल अब जिल्लाकै अस्पतालबाट सेवा लिने पहिलो बिरामी बनेका छन् । पहिलो बिरामी भएकाले खनालको उपचार गुल्मी अस्पतालले निशुल्करूपमा गरेको छ ।

सम्बन्धित शिर्षक :