सेनेटरी प्याड गुणस्तरीय नभएको भन्दै अखिल क्रान्तिकारीद्वारा बर्दघाट नगरपालिका घेराउ

स्वास्थ्यसमाचार/मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) नवलपरासीले  बर्दघाट नगरपालिका घेराउ गरेको छ ।

बर्दघाट नगरपालिकाले खरिद गरि सामुदायिक विद्यालयमा पठाएको सेनेटरी प्याड गुणस्तर युक्त नभएको भन्दै आवज उठिरहँदा नगर गुणस्तर युक्त छन् भन्दै तर्क पेस गरिरहेको थियो । नगरले नै गुणस्तर युक्त छ भनेको सेनेटरी प्याडमा गुणस्तर नभएको आवाज उठेपछि नगरले केहि विद्यालयमा पठाएको सेनेटरी प्याड फिर्ता गरेको छ ।

प्याड फिर्ता भएपछि प्याडको खरिदमा भ्रष्टाचार भएको भन्दै अखिल क्रान्तिकारीले तत्काल छानबिन गरि सत्यतथ्य पत्ता लगाउनु पर्ने माग गरेको छ । ’सेनेटरी प्याड खरिदमा संलग्न भ्रष्टाचारीलाई कारवाही गर’ ’शैक्षिक माफियाहरु होसियार’  जस्ता नाराबाजी गर्दै क्रान्तिकारी बिद्यार्थीहरुले नगरपालिका परिसर घेराउ गरेका हुन्।

घेराउ पछि आयोजित कोण सभामा अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य एवं लुम्बिनी प्रदेश संयोजक नविन खड्काले गुणस्तरहिन सेनेटरी प्याड खरिद गरेर नगरले छात्राहरु माथि अपराध गरेको बताउनु भयो । उहाँले शैक्षिक माफियाको इशारामा नगरपालिका चलेको भन्दै अब क्रान्तिकारी विद्यार्थीहरु चुप लागेर नबस्ने बताउनु भयो । अखिल (क्रान्तिकारी) ले हाल ‘विद्यार्थी जागरण अभियान’ सञ्चालन गरिरहेको छ ।

अभियानको क्रममा बर्दघाट नगरपालिकाको पर्खालमा ‘दलाल संसदिय व्यवस्था मुुर्दावाद’ ‘ सेनेटरी प्याडमा गरिएको भष्ट्राचार मुर्दावाद’ जस्ता नाराहरु लेख्ने क्रममा सोमबार खडका सहित केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश सह–संयोजक इन्दु वली र केन्द्रीय सदस्य तथा प्रदेश सह संयोजक मनोज थापालाई प्रहरीले गिरफ्तार गरेको थियो । गिरफ्तार भएका नेताहरुको रिहाई लगतै अखिल क्रान्तिकारीले प्रतिरोधस्वरुप बिरोध कार्यक्रम गरेको हो ।

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवं नवलपरासीका संयोजक सन्देश सापकोटाले नगरपालिकालाई गुणस्तरहिन सेनेटरी प्याडको विषयमा पटक पटक जानकारी गराएको र संगठनले विभिन्न माग राखेर ध्यानाकर्षण गराउँदै आएको बताउँदै मागहरु सुनुवाइ नभएकोले नगर घेराउ गरिएको जानकारी दिनुभयो ।

सम्बन्धित शिर्षक :