किन दिए स्वास्थ्य बीमा बोर्डका ५ सदस्यले सामूहिक राजीनामा?

स्वास्थ्यसमाचार/स्वास्थ्य बिमा बोर्डका ५ जना सदस्यले सामूहिक राजीनामा दिएका छन् । मंगलबार उनीहरुले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई सामूहिक राजीनामापत्र बुझाएका हुन्।

९ महिनादेखि बोर्ड अध्यक्ष नियुक्त नगरेको, बीमा कार्यक्रम गिजोल्न गलत मनसायले कार्यकारी निर्देशकलाई निलम्वन गरेको, आवश्यक जनशक्ति व्यावस्थापन नगरेको भन्दै उनीहरूले राजिनामा दिएका हुन् । बीमालाई स्वायत्त बन्न नदिएको उनीहरूको आरोप छ ।

राजीनामा दिनेहरुमा बोर्डका मनोनित सदस्यहरु डा सुरेश तिवारी, डा तारा साह, चन्द्र थापा, टीका चापागाई भट्टराई र इन्द्रकला राई रहेका छन् । उनीहरूले स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेत र सरकार बिमालाई सक्न लागी परेको आरोप लगाएका छन् ।

मन्त्री बस्नेतले यसअघि स्वास्थ्य बिमा ऐन विपरित बोर्डका कार्यकारी प्रमुख डा। दामोदर बसौलालाई स्षपष्टिकरण सोधेका थिए । सो स्पष्टीकरण सोधेको १५ दिनपछि मन्त्रिपरिषदले बसौलालाई तीन महिनाका लागि निलम्बन गर्दै एक हप्ताभित्र स्पष्टीकरण पेश गर्न भनेको छ ।

बोर्ड ८ महिनादेखि अध्यक्षबिहिन छ । मन्त्रि बस्नेतले हिजो मात्रै मन्त्रालयका गुणस्तर मापण महाशाखा प्रमुख डा मदन उपाध्यायलाई निमित्त कार्यकारी निर्देशक नियुक्त गरेका थिए ।

५ जना सदस्यले सामूहिक राजीनामा दिएपछि बोर्डमा निमित्त कार्यकारी निर्देशक र अर्थ मन्त्रालयका प्रतिनिधि गरी दुईजना मात्र सदस्य छन् । तर, अर्थ मन्त्रालयका प्रतिनिधि लगातार तीन बैठकमा नआएपछि स्वास्थ्य बीमा ऐन अनुसार उनको पद रिक्त छ ।

 

 

सम्बन्धित शिर्षक :