कपिलवस्तुको चन्द्रौटामा (डिआरटिबी)उपचार केन्द्र सञ्चालनमा

स्वास्थ्यसमाचार/कपिलवस्तुमा पहिलो र लुम्बिनी प्रदेशमा चौथो औषधि प्रतिरोधक क्षयरोग(डिआरटिबी) उपचार केन्द्रको उद्घाटन गरिएको छ । एक कार्यक्रमको आयोजना गरी आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटामा उक्त केन्द्रको उद्घाटन गरिएको हो ।

औषधि प्रतिरोधक क्षयरोग (डिआरटिबी) का बिरामीको सङ्ख्या बढ्न थालेपछि कपिलवस्तुको चन्द्रौटामा उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । जिल्लाका क्षयरोगका बिरामीहरू उपचारका लागि अन्य ठाउँमा जानुपर्ने बाध्यतालाई अन्त्य गर्न केन्द्रको उद्घाटन गरिएको हो ।

राष्ट्रिय क्षयरोग कार्यक्रमका उपसचिव शरदकुमार शर्माका अनुसार लुम्बिनी प्रदेशमा चौथो र कपिलवस्तुमा पहिलो उपचार केन्द्रको रूपमा चन्द्रौटामा सुरु गरिएको बताउनुभयो ।

उहाँले नेपालभर २३ वटा डिआर सेवा ८६ वटा उपकेन्द्रहरू रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘नेपाल सरकारले २०२१ देखि २०२५ सम्म क्षयरोग उपचारका लागि रणनीति तयार पारेको छ ।’’ उपचार केन्द्र र उपकेन्द्रहरू गाउँ स्तरमा स्थापना गर्ने योजना अनुसार प्रदेश र केन्द्र सरकारले योजना बनाइरहेको उहाँको भनाइ छ ।

शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाका अनुसार सेवा सञ्चालनमा आएसँगै क्षयरोग नियन्त्रणमा समेत प्रभावकारी ढङ्गले अघि बढ्ने ताउनुभयो । कपिलवस्तु जिल्ला मात्र नभई छिमेकी जिल्लाका बिरामीहरूलाई समेत सहज हुने उहाँले बताउनुभयो ।

अस्पतालले सेवा प्रवाहलाई प्रभावकारी रूपमा प्रदान गर्ने थापाले विश्वास छ । केही दिनमै २४ औँ घण्टामा सेवा प्रवाह तथा पोस्टमार्टम गर्न व्यवस्था मिलाइने थापाको भनाइ छ ।

सेभ द चिल्ड्रेन बुटवलका बरिष्ठ कार्यक्रम व्यवस्थापक मिम बहादुर सिंहले वोल्दै सबैलाई पाएक पर्ने ठाउमा उपचार केन्द्रराख्दा बिरामी लाई सहज हुने बताउनु भयो ।

उहाले शिवराज नगरपालिका, कपिलवस्तुले औषधि प्रतिरोधी छयरोग विरामीको लागि उपचार सेवा केन्द्र,आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटामा उद्घाटन गरेर एउटा उदाहरणीय काम गरेको वताउनु भयो।

शिवराज नगरपालिका स्वास्थ्य शाखाका प्रमुख चूडामणि भट्टराईका अनुसार डिआर उपचार केन्द्रबाट क्षयरोगको जाँच तथा बिरामीलाई निःशुल्क उपचार हुने बताउनुभयो ।

‘‘क्षयरोगका बिरामीको औषधिले काम गरेरनगरेको विषय परीक्षण प्रयोगशालामा हुन्छ,’’ उहाँले भन्नुभयो, ‘‘नियमित औषधिले निको हुने र औषधिले निको नहुने अवस्थाबारे पनि अब थाहा पाउन सहज हुन्छ ।’’

कपिलवस्तुमा प्रत्येक वर्ष क्षयरोगका बिरामी बढ्दै गएका छन् । जिल्लामा आर्थिक वर्ष २०७५/०७६ मा ७२७, २०७६/०७७ मा ५८५, २०७७/०७८ मा ६३३, २०७८/०७९ मा ९०० र २०७९/८० मा ९१४ जनामा क्षयरोगको सङ्क्रमण थियो ।

सम्बन्धित शिर्षक :