नौ वर्षदेखि थन्कियो राप्ती प्रादेशिक अस्पतालको एम्बुलेन्स

स्वास्थ्यसमाचार/दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल नौ वर्षदेखि एम्बुलेन्सविहीन छ । प्रत्येक सरकारी अस्पतालमा एम्बुलेन्स हुनुपर्ने भए पनि उक्त अस्पतालमा ०७२ देखि एम्बुलेन्स छैन ।

अस्पतालमा एम्बुलेन्स नभएकाले बिरामी ल्याउन तथा रेफर गरिएका बिरामीलाई विभिन्न अस्पतालमा पठाउन निजी एम्बुलेन्स प्रयोग गर्नुपर्ने बाध्यता छ ।

अस्पतालको एम्बुलेन्स नहुँदा बिरामीका परिवार निजी एम्बुलेन्समा महँगो शुल्क तिर्न बाध्य हुँदै आएका छन् । अर्कोतर्फ आवश्यक परेका वेला एम्बुलेन्स पाउन पनि समस्या हुने गरेको छ । अस्पतालको रा १झ ११३ नम्बरको एम्बुलेन्स बिग्रिएपछि अहिले निजी एम्बुलेन्समा सिफारिस गर्ने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ड डा पदमराज अधिकारीले बताए ।

पटक–पटक बिग्रिने र बनाउँदा पाँच–सात लाख खर्च हुने भएकाले पनि उक्त एम्बुलेन्सलाई थन्क्याएर राख्नुपरेको उनको भनाइ छ ।

‘पटक–पटक बिग्रिरहन्छ, एम्बुलेन्सको मूल्यभन्दा बढी मर्मतमै खर्च हुने देखियो,’ डा अधिकारीले भने, ‘त्यसैले थन्क्याएर राख्नुपर्ने अवस्था आएको छ ।’ अस्पतालका स्टोर प्रमुख रेश्मीराज अधिकारीले ०६६ मा सो एम्बुलेन्स खरिद गरिएको र अहिले बिग्रिएकाले थन्क्याएर राख्नुपरेको बताए ।

सम्बन्धित शिर्षक :