लुम्बिनी प्रादेशिक सहित देशभरका अस्पतालहरुमा ओपीडी सेवा बन्द, बिरामीहरु उपचारबाट बञ्चित

स्वास्थ्यसमाचार/रुपन्देही मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालमा कार्यरत २ जना चिकित्सकमाथि आक्रमण भएको घटनाको विरोधमा बुटबल सहित देशभरका चिकित्सकहरु आन्दोलिन भएका छन्।

नेपाल चिकित्सक संघको आह्वानमा डाक्टरहरु आन्दोलित बन्दा बिरामीहरु अत्यावश्यक उपचार सेवा पाउनबाट बञ्चित भएका छन्। नेपाल चिकित्स संघले शनिबार एक विज्ञप्ति जारी गर्दै आइतबारदेखि आइतबारबाट देशभरका अस्पताल र स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भनेको थियो।

संघको आह्वानअनुसार आइतबार देशभरका अधिकांश अस्पतालहरुमा ओपीडी सेवा बन्द गरिएको छ।देशभरका अधिकांश अस्पतालले आइतबार बिहानदेखि बहिरिङ्ग (ओपीडी)को टिकट वितरण गरेका छैनन्। लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा आन्दोलनलाई समर्थन गर्दै नेपाल चिकित्सक संघ रुपन्देही शाखाका चिकित्सकहरु विरोध कार्यक्रमसहित धर्ना दिएका छन् ।

उनीहरुले स्वास्थ्यकर्मी कुट्न बन्द गर, सुरक्षाको ग्यारेन्टी गर लेखेका प्लेकार्ड सहित केहीबेर धर्ना दिए ।बिरोध कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. सुदर्शन थापाले विगतमा पनि यस्ता घटना घटिरहेको भन्दै कानुनी रुपमा ब्यवहारमा लागू नगरिंदा दोहोरिएको वताउनु भयो । यस विषयमा सरकार गम्भीर हुनुपर्ने डा थापाले बताउनु भयो । पटकपटक घटना घट्ने तर सरकारले केवल प्रतिवद्घता मात्र जनाउन नहुने उहाँको तर्क छ।

नेपाल चिकित्सक संघ रुपन्देही शाखाका सहकोषाध्यक्ष वर्षा थापाले चिकित्सकहरु आफ्नो हकहितका लागि एकजुट हुनुपर्ने वताउनु भयो । संघका महासचिव डा. सन्तोष पोखरेलले क्लिनिकमा समेत कुनै काम नगर्न सुझाव दिनु भयो ।

लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ चिकित्सक डा. नेत्र रानाले चिकित्सकहरुबीचमा रहेको विभेद हटाउन जरुरी रहेको वताउनु भयो । सिनियर र जुनियरबीचको विभेद हट्न सके धेरै समस्याहरु समाधान हुने रानाको भनाई छ । सन्चो अस्पतालका २ जना चिकित्सकहरु डा विकास थापा र डा प्रशान्त विडारीमाथि आक्रमण गर्नेलाई कारबाही नगरिएको भन्दै संघले देशभरका अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो।

संघले देशभरका स्वास्थ्य संस्थाहरुमा अनिवार्य रुपमा स्वास्थ्य संस्था सुरक्षाबलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था अबिलम्ब मिलाउनु पर्ने माग पनि राखेको छ।

संघको आह्वानमा अस्पताल बन्द हुँदा बिरामीहरु मर्कामा परेका छन्। देशका विभिन्न ठाउँबाट उपचारका लागि भन्दै संघीय राजधानी काठमाडौं आएका बिरामी अलपत्र परेका छन्। फलोअपमा रहेका र ओपीडीमा जाँच गराउने गरी आएका बिरामी पनि अस्पताल बन्द हुँदा मर्कामा परेका छन्।

डेंगुको लक्षण देखिएर सन्चो अस्पतालमा भर्न भएका बिरामीलाई चितवन लगिएको थियो। सो क्रममा बिरामीको चितवनको एक अस्पतालमा भदौ २५ गते मृत्यु भएको थियो। अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तहरु विरोधमा उत्रिएका थिए। क्षतिपूर्तिको माग गर्दै आन्दोलनमा उत्रिएका उनीहरुले चिकित्सकद्वय थापा र विडारीमाथि हातपात गरेका थिए। संघमा ३० हजार चिकित्सक आबद्ध रहेको छन।

चिकित्सकमाथि कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। प्रहरीले रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ।

सम्बन्धित शिर्षक :