गुल्मी अस्पतालको सेवा प्रवाह चुस्तदुरुस्त बनाउने बिषयमा छलफल

अस्पतालमा प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टरका व्यवस्था गर्न प्रयास भैरहेको छ :नगरप्रमुख पन्थी

स्वास्थ्यसमाचार/गुल्मी अस्पतालको सेवा प्रवाह चुस्तदुरुस्त बनाउने बिषयमा शनिबार छलफल गरिएको छ । गुल्मी अस्पतालमा रेसुङ्गा नगरपालिकाका प्रमुख खिल ध्वज पन्थी, प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी, गुल्मी अस्पताल विकास समिति अध्यक्ष गोपालप्रसाद पाण्डे, अस्पतालका चिकित्सक र पत्रकार महासंघ गुल्मीका पूर्वअध्यक्ष जनार्दन घिमिरे सहितका सरोकारवालाबाट छलफल गरिएको हो ।

छलफलका क्रममा चिकित्सकहरुले आफ्ना गुनासाहरु राखेका थिए । अस्पतालकी निमित्त प्रमुख डा. सोफिया भलादमी थापाले स्वास्थ्यकर्मी र गुल्मी अस्पतालका नराम्रा कुराहरू मात्र बाहिर लैजाने परिपाटीले सर्वसाधारणमा नकारात्मक सन्देश प्रवाह भएको गुनासो गरिन् । उनले केही पत्रकारबाट गुल्मी अस्पतालमा असहयोग भइरहेकोले पत्रकारले सही सुचना मात्र प्रवाह गर्न आग्रह गरेकी छिन् । निमित्त प्रमुख थापाले आर्थिक अवस्था कमजोर भएकाको जटिल उपचार पनि उहाँकै आग्रहमा आफूहरूले गरिरहेकाले कहिलेकाहीँ उपचार सफल हुन नसक्ने प्रतिक्रिया दिइन् ।

गुल्मी अस्पतालका चिकित्सकहरुले केही समय अगाडि बालिका मृत्यु घटनामा अस्पताल प्रमुख माथि जनप्रतिनिधिले कुटपिट गरेकाे बिषयमा असन्तुष्टि जनाएका छन् । उनीहरूले त्यस्ता क्रियाकलापमा संलग्नलाई कारबाही हुनुपर्ने वा गल्तीको महशुस हुनुपर्ने बताएका थिए ।

गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेले अस्पतालका हालको अवस्थाबारे जानकारी गराएका थिए । छलफलका क्रममा गुल्मीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सुरक्षाको प्रत्याभूति आफूले दिलाउने भन्दै ढुक्क भएर सेवा प्रवाह गर्न आग्रह गरे ।

रेसुङ्गा नगरपालिकाका प्रमुख खिल ध्वज पन्थीले चिकित्सकलाई निर्धक्क भएर सेवा उपलब्ध गराउन आग्रह गरेका छन् । बालिका मृत्यु घटना परिस्थितिजन्य घटना भएकोले त्यही घटनालाई लिएर अन्य सेवा प्रवाहमा ठेस पुग्न नहुने बताएका थिए ।

बिरामीको मृत्यु कुनै चिकित्सकका नियतका कारणले नभएको भन्दै नगरप्रमुख पन्थीले सबै चिकित्सकलाई उच्च मनोबलका साथ बिरामीको उपचार गर्न आग्रह गरेका छन् । उनले अस्पतालमा रिक्त भएका दरबन्दीमा पदपूर्ति गर्नका लागि र अस्पतालमा प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टरका व्यवस्था गर्न प्रयास गरिरहेका बताए ।

सम्बन्धित शिर्षक :