भेरीमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन सुरु

स्वास्थ्यसमाचार/भेरी अस्पताल नेपालगन्जमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन सुरु गरिएको छ । यहाँस्थित भेरी अस्पतालमा १४ वर्ष पुरा भई १५ वर्ष ननाघेका किशोरीलाई मात्र सो खोपको पहिलो मात्रा बुधबारबाट लगाउन सुरु गरिएको भेरी अस्पतालले जनाएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिने अभियानको शुभारम्भ गर्दै पाठेघरको मुखको क्यान्सर अहिले महिलाको सबैभन्दा ठुलो समस्या बनेर देखिन थालेको जनाउँदै यो अभियानबाट धेरै किशोरीहरू सुरक्षित हुने बताउनुभयो ।

भेरी अस्पतालका प्रमुख डा. पवन जंग रायमाझीले पहिलो चरणमा भेरी अस्पतालबाट एक हजार २१५ जना किशोरीलाई खोप लगाइने बताउनुभयो । भेरी अस्पतालमा दुई चरणमा खोप लगाउनका लागि हाल दुई हजार ४३० लाइभ खोप मात्र आएको अस्पतालले जनाएको छ ।

अस्पताल प्रमुख डा. रायमाझीले १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरी एचआईभी खोप दिने योजना भएपनि पर्याप्त खोप नभएका कारण १४ वर्ष पुरा भई १५ वर्ष ननाघेका किशोरीलाई मात्र खोप लगाउन थालिएको बताउनुभयो । उहाँका अनुसार २०६५ भदौ ३० गतेदेखि २०६६ भदौ ३० गतेभित्र १४ वर्ष पुरा भएका किशोरीलाई मात्र सो खोप लगार्दैछ ।

भेरी अस्पतालमा बुधबार लगाउन सुरु गरिएको सो खोप शनिबारसम्म लगाइने र खोप दैनिक बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म लगाइने अस्पतालले जनाएको छ । भेरी अस्पतालका अनुसार एचआईभी खोप ६ महिनाको अन्तरालमा दुई मात्रा लगाउनु पर्दछ । यो खोपको दुई मात्रा पुरा गरेमा यसको प्रभावकारिता ९५ प्रतिशत देखिएको छ ।

नेपालमा सबैभन्दा बढी हुने क्यान्सरमा पाठेघरको मुखको क्यान्सर पर्दछ । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा प्रति एक लाखमा नयाँ बिरामी पत्ता लाग्ने दर १६.४ प्रतिशत छ । पाठेघरको मुखको क्यान्सर मुख्यतः सङ्क्रमित व्यक्तिसँगको यौन सम्पर्कबाट सर्छ । यसको सङ्क्रमण पुरुषमा पनि हुन्छ र पुरुषबाट महिलामा सर्छ ।गोरखापत्र अनलाइनवाट।

सम्बन्धित शिर्षक :