नेहा अक्वाको पानी, पिउदा स्वास्थ्यमा हानी

स्वास्थ्यसमाचार/बर्दघाट ७ मा रहेको नेहा अक्वा ईन्डष्ट्रिजले उत्पादन गरेको पिउने पानीले स्वास्थ्यमा हानी गरेको खालको रहेको पाइएको छ । भदौ ७ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा रुपन्देहीले गरेको पानीको परिक्षणको रिपोर्ट अनुसार पानीमा कोलिफर्म ब्याक्टेरिया पाईएको हो ।

पिउने पानीमा कोलिफर्म ब्याक्टेरिया भेटिनु जनस्वास्थ्य माथिको गम्भिर खेलवाड भएको बर्दघाट नगरपालिकाका जनस्वास्थ्य निरिक्षक गोपाल प्रसाद पाण्डेले बताउनुभयो । उहाँ भन्नुहुन्छ “ कोलिफर्म याक्टेरियाका कारण मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पर्छ यसका कारण हैजा, झाडा पखाला र बान्ता आउने खतरा बढ्छ । ”

पानीमा टोटल कोलिफर्म ब्याक्टेरिया १ सय मिलिलिटरमा अनुपस्थित हुनुपर्नेमा २१ रहेको छ । जसले गर्दा विश्लेषण गरिएका प्यारामिटर आधारमा प्राप्त नमुना अनुसार नेपाल सरकारको मापदण्ड अनुसार नभएको पाईएको रिपोर्टमा उल्लेख छ ।

नेपाल सरकारले तोकेको मापदण्ड अनुसार पानी पिउनयोग्य नभएको देखिएपनि बर्दघाट लगायत आसपासमा रहेका पसलहरुमा छ्याप्छ्याप्ती पाईएको छ । पिउन योग्य नभएको पानी बजारमा पाइएपछि नेहा अक्वाको पानी नपिउन उपभोक्ता हकहित संरक्षण मञ्च बर्दघाटका अध्यक्ष हुमनाथ आचार्यले उपभोक्ताहरुलाई आग्रह गर्नुभएको छ ।

उहाँभन्नुहुन्छ “ पानीमा अखाद्य बस्तु फेला परेको समाचार संचारमाध्यममा आए संगै नगरपालिका र हाम्रो टोली उद्योगको अनुगमन गरी नमुना परिक्षणका लागि पठायौं । रिपोर्टमा पानी पिउनका लागि अयोग्य देखिएपछि पनि कम्पनीका प्रतिनिधि संग बैठक बसी बजारमा पुगेका पानी फिर्ता ल्याई नष्ट गर्ने सहमती भएको हो । ”

नगर, मञ्च र कम्पनीका प्रतिनिधि बसी गरेको सहमती पनि अहिले सम्म कार्यान्वयन गरेको छैन । तर कम्पनीका संचालक सन्तोष कलवारले भने केही पानीहरु संकलन गरी बर्दघाट उद्योग वाणिज्य संघमा राखिएको बताउनुभयो । उहाँ भन्नुहुन्छ “ हाम्रो पानी भैरहवाको ल्याब परिक्षण गर्दाको ल्याब रिपोर्टमा केहि समस्या आएको छ । म अहिले भैरहवा छु आए पछि भेटौला । कलवारले बर्दघाट उद्योग बाणिज्य संघमा छ भने पनि संघमा पानी संकलन नगरिएको संघका अध्यक्ष लेखनाथ न्यौपानेले बताउनु भयो ।

मानव स्वास्थ्यमा गम्भिर असर गर्ने कोलिफर्म जीवाणु सहितको पानी बजारमा पठाएको कम्पनीले फिर्ता ल्याउने सहमति भएको हो सोही सहमति अनुसार अघि बढ्नु पर्ने बर्दघाट नगर उपप्रमुख तथा अनुगमन समितिका संयोजक रुद्र प्रकाश उपाध्ययले बताउनु भयो । उहाँ भन्नुहुन्छ ( नगरसङ्ग भएको सहमति अनुसार नगरको रोहवरमा बजारको पानी उठाउने र नष्ट गर्ने हो । तर कम्पनीले सहमतिको कार्यन्वयन गरेन अब कानुन अनुसार कारवाही गर्छौ ।

सम्बन्धित शिर्षक :