नेपाल हृदय रोग निवारण प्रतिष्ठान रुपन्देहीको अध्यक्षमा पिया निर्वाचित

स्वास्थ्य सामान्य नागरिकको पहुँचभन्दा टाढा भयो : नगरप्रमुख पाण्डेय

स्वास्थ्यसमाचार/नेपाल हृदय रोग निवारण प्रतिष्ठान रुपन्देहीको अध्यक्षमा बोनिन पिया निर्वाचित हुनुभएको छ । प्रतिष्ठानको  बुटवलमा सम्पन्न सातौ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्ष पदमा काजिमान श्रेष्ठ र नरेशकुमार श्रेष्ठलाई चयन गरिएको छ । त्यस्तै सचिवमा राजेन्द्र कार्की, कोषाध्यक्षमा उमाशंकर मालपानी निर्वाचित हुनु भएको छ ।

त्यस्तै सदस्यहरुमा जीवकान्त काफ्ले, अभिषेक भारी, झपटबहादुर गुरुङ, चन्द्रप्रसाद पौडेल, ध्रुवकुमार शर्मा र सञ्जय मुडवरी सर्वसम्मत निर्वाचित हुनु भएको निर्वाचित समितिका संयोजक अभिवक्ता लोकप्रसाद खरेलले जानकारी गराउनु भयो ।

स्वास्थ्य सामान्य नागरिकको पहुँचभन्दा टाढा भयो : नगरप्रमुख पाण्डेय

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले शिक्षा र स्वास्थ्य सामान्य नागरिकको पहुचभन्दा धेरै टाढा पुगिसकेको बताउँदै कमभन्दा कम शुल्कमा कसरी उपचार गर्न सकिन्छ, त्यो पद्धतीको खोजी हुन आवश्यक रहेको बताउनु भएको छ ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठान रुपन्देहीको सोमबार बुटवलमा भएको सातौ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनलाई सम्बोधन गर्दै शिक्षा र स्वास्थ्यलाई सामान्य नागरिकको पनि पहुँचमा ल्याउनको लागि बुटवल उपमहानगरपालिका फरक ढंगले काम गर्न तयार रहेको र यहाँका अरु संघसंस्थालाई पनि त्यस विषयमा सोच बिचार र चिन्तन गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो–‘स्थास्थ्य र शिक्षामा सबैको पहुँच आवश्यक छ, त्यसको लागि कस्तो विधि पद्धती अवलम्बन गर्दा वैज्ञानिक हुनसक्छ, तपाईका सुझाव सल्लाह अनुसार अगाडि बढ्न हामी तयार छौं ।’

उहाँले बुटवलको खस्किदो व्यापारलाई उकास्नको लागि पनि नगरपालिका लागि परेको बताउनु भयो । त्यसको लागि नगरपालिकाले तयार गरेको योजना अनुसारको काममा सहयोग तथा सहकार्य गर्न आग्रह गर्नुभयो ।

त्यस्तै प्रतिष्ठानका लुम्बिनी प्रदेश संयोजक, केन्द्रीय सदस्य अखिलेश्वर पाण्डेले मुटु शरीरको महत्वपूर्ण अंग रहेको र मुटु स्वास्थ्य सुरक्षामा जनचेतनामुलक काम गर्नको लागि संस्था स्थापना गरिएको बताउनु भयो । पछिल्लो समय सर्ने भन्दा नसर्ने रोगको व्यापकता रहेको र यसमा शहरीया जीवनशैली प्रमुख कारण रहेको उहाँको भनाई छ ।

लायन्स डिष्ट्रिक गभर्नर अर्जुनमान सैंजूले प्रतिष्ठानले गर्ने हरेक काममा सहकार्यको लागि लायन्स तयार रहेको बताउनु भयो । उहाँले हृदयरोग निवारणका लागि प्रतिष्ठानले गर्ने कामको योजना बनाउन र त्यसमा लायन्सले के गर्नुपर्छ सूचना आदान प्रदान गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रतिष्ठानका सल्लाहकारहरु जीवनप्रसाद वझा, अर्जुन रानाभाट, रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष तेजकुमार पाठक लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

साधारण सभामा प्रतिष्ठानका अध्यक्ष निर्मलप्रसाद लाकौलले प्रस्तुत गर्नुभएको वार्षिक तथा कोषाध्यक्ष उज्ज्वलप्रसाद कसजूले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ । कार्यक्रम सचिव नरेशकुमार श्रेष्ठको सञ्चालनमा भएको थियो ।

सम्बन्धित शिर्षक :