लुम्बिनी प्रदेशमा आँखाको नानी निशुल्क प्रत्यारोपण गरिने

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले नेपालमै पहिलो पटक प्रदेशभर कर्निया अर्थात आँखाको नानी प्रत्यारोपण निशुल्क गर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८०-८१ को बजेटमा व्यवस्था गरेर आँखाको नानी प्रत्यारोपण अर्थात कर्नियाको अप्रेशन निशुल्क गर्ने नयाँ कार्यक्रम मार्फत व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो कार्यक्रम लागु गर्ने सात वटा प्रदेश मध्ये लुम्बिनी प्रदेश पहिलो हो । आँखाको ज्योती गुमाएर अन्धोपन भएकाहरुलाई सोही अबस्थामा बसीरहन नपरोस भनेर यो कार्यक्रम ल्याइएको स्वास्थ्य मन्त्री राजु खनालले बताउनु भयो ।

कार्यविधि तयार गरेर यो कार्यक्रम अब लागु गरिने स्वास्थ्य मन्त्री खनालको भनाई छ । कर्नियाको निशुल्क अप्रेसन गर्ने सहित मन्त्रालयले ल्याएको नयाँ कार्यक्रम कार्यान्वयनका लागी कार्यविधि बनाउने प्रकृया सुरु भैसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आँखाको नानी प्रत्यारोपणका लागी बिरामीलाई रकम उपलब्ध गराउने नभई अस्पतालसँग सहकार्य गरेर अस्पतालकै खातामा रकम सोधभर्ना गर्ने गरि कार्यविधि तयार हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । विभिन्न कारणले आँखाको ज्योती गुमाउन पुग्नेहरुका लागी यो कार्यक्रम निकै महत्वपूर्ण हुने विश्वास मन्त्रालयको रहेको स्वास्थ्य सचिव डा.जनार्दन पन्थीले बताउनु भयो ।

लुम्बिनी प्रदेशमा आँखाको ज्योती गुमाएका धेरै रकम अभावका कारण नानी प्रत्यारोपण गर्न नसकेर अहिले पनि अन्धोपनका साथ घरमा बसिरहेका छन् ।

सम्बन्धित शिर्षक :