पाँच महिनादेखि तलब पाएनन् तिलोत्तमाका स्वास्थ्यकर्मीले

स्वास्थ्यसमाचार  तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब नपाएपछि हातमा कालोपट्टि बाँधेर आन्दोलन गरेका छन्। तिलोत्तमा नगरपालिकाअन्तर्गतका १७ वटा स्वास्थ्य संस्थामा कार्यरत ७८ जना स्वास्थ्यकर्मीले पुस महिनादेखिको तलब नपाएपछि बाध्य भएर आन्दोलित गर्नुपरेको बताएका छन्।

नगरपालिका कार्यालयमै आज पत्रकार सम्मेलन गरी कर्मचारीले तलब नपाएपछि जेठ १ गते सबै स्वास्थ्यकर्मीको तर्फबाट ज्ञापनपत्र विभिन्न निकायमा बुझाए पनि सुनुवाइ नभएपछि चरणबद्धरूपमा शान्तिपूर्ण आन्दोलनमा आएको बताएका छन्।

स्वास्थ्यकर्मी सङ्घर्ष समितिका संयोजक ज्ञानप्रसाद पौडेलले आफूहरूले तलब प्राप्तिका लागि नगरप्रमुख रामकृष्ण खाँण, उपप्रमुख जगेश्वरदेवी चौधरी र प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालसँग पटकपटक मौखिक र लिखित माग गर्दा पनि सुनुवाइ नभएको गुनासो गरे। उनले प्रमुख जिल्ला अधिकारीमार्फत माथिल्लो निकायमा ज्ञापनपत्र बुझाए पनि सुनुवाइ नभएको बताए।

पाँच महिनासम्म तलब नपाउँदा घरखर्च चलाउन समस्या भएको भन्दै स्वास्थ्यकर्मीले छिटो तलब पाउने व्यवस्थाका लागि नगरपालिकासँग आग्रह गरिएको छ। यहाँ ४५ जना दरबन्दी तथा समायोजन संशोधन, कामकाज र कोभिड काज गरी ३२ जना दरबन्दीबाहेकका कर्मचारी छन्।

तलब नपाएको विरोधमा अहिले कालोपट्टी बाँधेर काम गरिरहेका स्वास्थ्यकर्मीले जेठ १२ गतेदेखि नगरपालिका कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको सङ्घर्ष समितिका सदस्य जनस्वास्थ्य निरीक्षक ठानेश्वर बस्यालले जानकारी दिए।

तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत हुँदा तलब दिन नसकिएको बताए। उनले स्वास्थ्यले पठाएको बजेट पुगेको र त्यसपछि बजेट नपुगेपछि सबैको रोकिएको बताए। तर सङ्घर्ष समितिले स्वास्थ्यकर्मीको पाँच महिनाको करिब रु चार करोड तलब दिन बाँकी रहेको जनाएको छ।

सम्बन्धित शिर्षक :