जलनका विरामीहरुलाई आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग सांसद डा चन्द्र भण्डारीको माग

स्वास्थ्यसमाचार/नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले जलन पीडितलाई पनि सरकारले सहयोग गर्नुपर्ने बताएका छन् । क्यान्सर, मुटु र किड्नीका बिरामीलाई सरकारले उपचार खर्च दिइरहेको र त्यसमा जलन पीडितलाई पनि दिन आग्रह गरेका छन् । खाना पकाउने ग्याँसको जलेर घाइते भई भारत र नेपालमा उपचार गराएका सांसद भण्डारी पहिलोपटक बुधबार प्रतिनिधिसभा बैठकमा बोलेका हुन् । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा भण्डारीले दुर्गम क्षेत्रका र आर्थिक अवस्था कमजोर भएका जलन पीडितको पक्षमा सरकारले निर्णय गर्नुपर्ने माग गरेका छन् ।

गत पुस ३ गते भण्डारी बस्दै आएको बुद्धनगरस्थित घरमा ग्यास सिलिण्डर पड्किँदा घाइते भएका थिए । उनकी आमाको भने निधन भएको थियो । आफू शौभाग्यबस बाँचेर संसद्मा बोल्ने अवसर पाएको उल्लेख गर्दै नेपालका चिकित्सक र स्वास्थ्यकर्मीहरू विश्वका कुनै पनि चिकित्सकहरू भन्दा कम नभएको पनि उनले बताए ।

सांसद भण्डारीले नेपालमा जलन अस्पतालको स्थापना गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए । ‘छिमेकी देशमा मलाई पठाएर मैले त्यहाँ गएर हेरेँ । डाक्टरहरूले भन्नु भयो–विगत ३ वर्षमा ३ जना मानिसमात्रै भेन्टिलेटरमा गएर बाँचेका रहेछन् । त्यसमध्ये म एउटा नेपाली सौभाग्यले बाँचेर यहाँ बोल्न पाएको छु । यसको बारेमा मैले केही बोल्नुनै पर्ने हुन्छ । आज गर्वका साथ म भन्न चाहन्छु–अरु देशमा भन्दा हाम्रा देशका स्वास्थ्यकर्मीहरू, डाक्टरहरू कम छैनन् । कन्फिडेन्ट डाक्टरहरू छन्,’

उनले भने, ‘हाम्रो कीर्तिपुरमा ११-१२ जना डक्टर हुनुहुन्छ । सुष्मा ट्रष्टमा उत्तिकै डाक्टर हुनुहुन्छ । फिजियोथेरापिष्ट र नेपालको डाक्टर त विश्वकै प्रतिस्पर्धी हुनुहुन्छ भन्ने लाग्छ मलाई । यसकारण मैले आउँदाआउँदा पनि प्रधानमन्त्रीजीलाई अनुरोध गरेँ–हामीले एउटा हस्पिटल बनायौं भने एसियाकै सबैभन्दा सबल हस्पिटल नेपाल बन्न सक्छ । क्लाईमेटको हिसाबले पनि, खर्चको हिसाबले पनि ।’ जलन पीडितको उपचार गर्ने अस्पताललाई भवनको आवश्यकता रहेको पनि उनले बताए ।

सम्बन्धित शिर्षक :