बुटवलको एकवर्षे उपलब्धि : दुई अस्पताल निर्माण, र सडक मर्मत

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाले एक वर्षको उपलब्धि सार्वजनिक गरेको छ । २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका खेलराज पाण्डे मेयर र नेकपा एमालेकी सावित्रादेवी अर्याल उपमेयर निर्वाचित भएका थिए ।

उनीहरुले जेठ ९ गते कार्यप्रारम्भ गरेको एक वर्ष पुगेको अवसरमा ४९ बुँदे प्रगति सार्वजनिक गरेका हुन् योजनाहरुको शिलान्यास तथा उद्घाटन, फुटपाथ तथा रिक्सा व्यवस्थापन, सुकुम्बासीहरुको तथ्याङ्क संकलन, बेरोजगारहरुको तथ्याङ्क संकलन लगायतका बुँदाहरुलाई एकवर्षे कार्यकालको उपलब्धिमा समावेश गरिएको छ ।

बुटवल उपमहानगरपालिका–१३ र १७ मा निर्माण भएको १५र१५ बेडको अस्पताल आगामी साउनदेखि सञ्चालनमा ल्याउने मेयर पाण्डेले प्रतिवद्धता जनाएका छन् । त्यस्तै अत्याधुनिक पशु वधशाला सञ्चालनका लागि यसअघि अपनाइएको प्रक्रिया विधिसम्मत नदेखिएको भन्दै पुनः टेन्डर गरिएको कुरालाई पनि पाण्डेले उपलब्धिमा राखेका छन् । चालु आर्थिक वर्षमा ७ किलोमिटर सडक मर्मत भएको विषय पनि उपलब्धिमा राखिएको छ ।

बुटवलमा ठेला व्यवस्थापन, कृषि बजार केन्द्र स्थापनाका लागि ईआईए अन्तिम चरणमा पुगेको, अव्यवस्थित बसोबासीलाई प्रमाणपत्र वितरणको प्रक्रिया अन्तिम अवस्थामा पुगेको, सडक पेटीका व्यवसायीलाई हाटबजारमा व्यवस्थापन गरिएको मेयर पाण्डेले बताएका छन् ।

ज्योतिनगर पहिरो क्षेत्रमा भएका रोकथामका कार्यक्रम, हरियाली बसपार्क निर्माणका लागि प्रक्रिया अघि बढाइएको, विशेष सरसफाइ अभियान सञ्चालन, मोतीपुर औद्योगिक क्षेत्रमा ड्रोनले जग्गा नापेको, ई–रिक्सा व्यवस्थापन गरिएको पनि जनप्रतिनिधिको एक वर्षे उपलब्धिमा उल्लेख छ ।

बुटवल उपमहानगरले आर्थिक वर्ष २०७९र८० का लागि तय गरेका ६७६ योजनामध्ये ४३५ योजना सम्पन्न भई भुक्तानीका लागि जाँचपास फरफारकको काम भइरहेको मेयर पाण्डेले उल्लेख गरे ।

एक वर्षको अवधिमा विभिन्न प्रकृतिका ७५ वटा खाद्यान्न विक्री पसल, ३० वटा दुग्धजन्य व्यवसाय, ११ वटा मासु बिक्री पसल, २६ वटा मिष्ठान्न भण्डार, २४ वटा होटल तथा स्पा सेन्टर, ६ वटा फलफूल तथा तरकारी थोक बिक्री पसल, १२ स्थानमा अनुदानको मल विक्री वितरण तथा ८२ वटा सहकारीको अनुगमन गरिएको उपप्रमुख सावित्रादेवी अर्यालले बताइन् ।

एक वर्षको अवधिमा विभिन्न क्षेत्र र समुदायका १० हजार भन्दा बढी जनासँग प्रत्यक्ष भेटघाट र संवाद गरी क्षेत्रगत सुझाव संकलन गरेको नगर प्रमुख पाण्डेयले बताए ।

वडा नं। ३ र ४ का ज्योतिनगर–लक्ष्मीनगर तथा पाखापानी पहिरोबाट प्रभावित क्षेत्रहरुमा पर्खाल, कल्भर्ट, जाली र वृक्षरोपण गरी सुरक्षित बनाउने कार्य भएको र ज्योतिनगरका पहिरो क्षेत्रका जोखिमयुक्त घरहरुको प्रकोप व्यवस्थापन कोषबाट बीमा गरिएको पाण्डेले बताए ।

आम्दा अस्पतालमा पारा मेडिकल र नर्सिङ विषयको प्रवीणता प्रमाण पत्र तहको कक्षा सञ्चालन, फार्मेसी ल्याब र थेरापी अध्ययन, बुटवल टेक्निकल इन्ष्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ स्नातक तहको अध्ययन, बुटवल–१५ मा कृषिविज्ञान बीएससीएजी कलेज स्थापनाका लागि आवश्यक पूर्वाधार र अनुमति प्राप्तिका लागि प्रक्रिया अगाडि बढेको उपलब्धिका रुपमा उल्लेख गरे ।

बुटवल उपमहानगरपालिका–७ शिवनगर वनको क्षेत्रमा छाडा चौपाया व्यवस्थापनका लागि कार्यविधि तयार गरी व्यवस्थापन गर्ने पक्षसँग सहमति भएको, बुटवलको कालिकापथ, ट्राफिक चोक र अमरपथ क्षेत्रमा रात्रीकालीन बजार सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइएको पनि जनप्रतिनिधिको उपलब्धिमा उल्लेख छ ।

त्यस्तै मिर्गौला प्रत्यारोपण गरेका, डायलायसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका १९० जना बिरामीहरुलाई मासिक ५ हजार, जटिल रोग अनुदान सहयोग कार्यक्रम अन्तर्गत १४५ जनालाई प्रति बिरामी १७ हजार बिरामीकै बैंक खातामा उपलब्ध गराइएको र आठ प्रकारका जटिल रोगीमध्येका १४५ जनालाई संघीय सरकारमा र ४३ जनालाई प्रदेश सरकारमा सिफारिस गरिएको पनि उपलब्धिमा उल्लेख छ ।

नगरवासीलाई निजी अस्पतालमा समेत उपचार गर्दा रगतवापत कुनै पनि शुल्क नलिने व्यवस्था मिलाइएको, रोजगारदाता र बेरोजगारबीच समन्वयको काम गर्ने र श्रमसम्बन्धी सहजीकरणका लागि श्रम शाखा स्थापना गरी सहज रुपमा रोजगार प्राप्तिको लागि समन्वय गरिएको पनि जनप्रतिनिधिहरुले उल्लेख गरेका छन् ।

२५ जना व्यावसायिक कृषकलाई अनुदान दिइएको, २५९ वटा जनावरको पशुबीमाका लागि सिफारिस गरिएको, सामुदायिक भुस्याहा कुकुरको संख्या नियन्त्रण गर्न ८२ वटा कुकुरको बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाइएको उपलब्धिमा उल्लेख छ ।

ज्योतिनगर–लक्ष्मीनगर, पाखापानी क्षेत्रको पहिरो, तिनाउ नदी कटान, अव्यवस्थित बसोबास, भूमिहीन, सुकुम्बासी समस्या, छाडा चौपाया व्यवस्थापन, ट्राफिक व्यवस्थापन जस्ता विषयमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार तथा स्थानीय सरोकारवालासँग पटक पटक छलफल गरी समाधानका लागि अगुवाइ गरिरहेको मेयर पाण्डेले बताए ।

चालु आर्थिक वर्षका लागि २ अर्ब ३५ करोडको अनुमानित बजेट प्रस्तुत गरिएकोमा वैशाख मसान्तसम्ममा वार्षिक बजेटको ५० दशमलव ०४ प्रतिशत बजेट खर्च भएको उपमहानगरले जनाएको छ ।

आन्तरिक स्रोतबाट चालु आर्थिक वर्षमा ६० करोड रुपैयाँ आय अनुमान गरिएकोमा यही जेठ ७ गतेसम्ममा ३९ करोड ८ लाख रुपैयाँ आम्दानी भएको प्रगतिमा उल्लेख छ ।

सम्बन्धित शिर्षक :