बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई गर्न नगरप्रमुखको निर्देशन

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई सफा र सुन्दर सहरका रुपमा परिचित गराउनका लागि नियमित सरसफाईलाई थप व्यवस्थित गर्न निर्देशन दिनुभएको छ ।

बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न सोमबार बुटवलभित्रका टोलविकास संस्थाहरुसँग भएको छलफल कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले टोलविकास संस्था बुटवल उपमहानगरपालिकाकै अंग भएकाले नगरलाई सफा र सुन्दर बनाउने दायित्व रहने बताउनुभयो ।

उहाँले बुटवलको सडक निर्माणका क्रममा भएका समस्या, पार्किङ समस्या, नाली व्यवस्थापनका लागि पनि टोलविकास संस्थाहरुले अगुवाई गर्दै व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले घरभित्रको फोहोरलाई व्यवस्थापन गर्न घरपरिवार र घरबाहिरको फोहोर व्यवस्थापन गर्न टोलविकास संस्थाहरु र समग्र व्यवस्थापनको जिम्मा नगरको रहने भएकाले सोहीअनुसार काम गर्नुपर्ने बताउनुभयो ।

नगरप्रमुख पाण्डेयले बुटवललाई देशकै अगुवा सहर बनाउनका लागि सबै क्षेत्रको साथ सहयोग र भूमिका आवश्यक रहेकाले सोहीअनुसार आ-आफ्नो ठाउँबाट बुटवललाई उत्कृष्ट बनाउनका लागि भूमिका खेल्नुपर्ने बताउनुभयो ।कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले विभिन्न क्षेत्रका व्यक्तिहरुसँगको अनुभवलाई लिएर नगरले सोहीअनुसार नीति र कार्यक्रम बनाउने बताउनुभयो । उहाँले बुटवललाई समृद्ध बनाउनका लागि सबै क्षेत्रको साथ जरुरी रहेको भन्दै टोलविकास संस्थादेखि नै सुधार अभियान थाल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवललाई सेवाप्रवाह र नीति निर्माणमा अग्रणी सहर बनाउनका लागि सबैक्षेत्रबाट लाग्नुपर्ने बताउनुभयो । उहाँले सेवाप्रवाहलाई समयानुकुल परिस्कृत गर्दै जाने र प्रविधिमैत्री बनाउने बताउनुभयो ।

गत सोमबारदेखि आगामी चैत ८ गते बुधबारसम्म नियमित रुपमा सञ्चालन हुने क्षेत्रगत सुझाव संकलन तथा समन्वयसम्बन्धि कार्यक्रममा बुटवलभित्रका विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बताउनुभयो ।

यस्तै, चैत ७ गते खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष, लायन्स, लियो, लायनेस, जेसिजलगायतका गैरसरकारी संस्थाहरुसँग र ८ गते सरकारी तथा निजी क्याम्पसका अध्यक्ष र क्याम्पस प्रमुखहरुसँग छलफल गर्ने कार्यक्रम रहेको सामाजिक विकास महाशाखा प्रमुख तथा सूचना अधिकारी तुलसा अर्यालले बताउनुभयो ।

सार्वजनिक सरोकार राख्ने संघसंस्था तथा सरोकारवालाहरुसँग छलफल गरेपछि जनताका समस्या बुझ्ने गरी जनस्तरसम्म पुग्ने र सुझाव लिने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

सम्बन्धित शिर्षक :